चुरे क्षेत्रमा भएको अविरल वर्षापछि आएको बाढीले धनुषामा तीन जनालाई बगाएको छ।
तीमध्ये एक जनाको मृत्यु भएको र दुई जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मिथिला नगरपालिका–२ स्थित अनन्तपुरमा खोलाले बगाउँदा सोही ठाउँका १६ वर्षीय अजय यादवको मृत्यु भएको हो।
खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।
उनका अनुसार प्रहरीले गम्भीर घाइते भएको अवस्थामा उद्धार गरी अस्पताल पुर्याएको थियो।
महेन्द्रननगर हेल्थ केयरमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक साहले बताए।
त्यसैगरी कमला नदीमा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
गणेशमान चारनाथ नगरपालिका-७ का ३५ वर्षीय साजन परियार र ३० वर्षीय माया परियार बेपत्ता भएको प्रहरी निरीक्षक साहले बताए।
उनीहरू श्रीमान-श्रीमती हुन्। प्रहरीका अनुसार नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा बाढीले उनीहरूलाई बगाएको थियो।
उनीहरूको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक साहले बताए।