रोल्पामा मंगलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु भएका चार जनाको सनाखत भएको छ।
जिल्लाको माडी गाउँपालिकाका २२ वर्षीय प्रकाश बाँठा, माडी–४ का ५१ बर्षीय गोर्खे डाँगी, उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त विकको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले चारै जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
दुर्घटनामा परी थप १९ जना घाइते भएको भुसालले बताए।
घाइतेमध्ये रोल्पा नगरपालिका–६ दार्बोटका २५ वर्षीय कमानसिंह घर्ती, माडी गाउँपालिका–२ का २० वर्षीय जितेश बाँठा र त्रिवेणी गाउँपालिका–२ की १७ वर्षीया पूर्णिमा बुढाको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता भुसालले जानकारी दिए।
अन्य घाइतेमध्ये दुई जनाबाहेक अन्य सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ को तिलाभन्दा झन्डै ३ किलो मिटरयता दिउँसो सवा १ बजेरतिर बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
चालक एक घन्टापछि प्रहरी सम्पर्कमा पुगेका थिए।
सहिद मार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको थियो। नियमित वर्षाले सडक चिप्लो भएका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ।