सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्ष पदका लागि आवेदन माग गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर इच्छुकहरूबाट आवेदन माग गरेको हो।
सेवा आयोगको अध्यक्ष सिफारिस समितिको साउन २३ गतेको बैठकले आवेदन माग गर्ने निर्णय गरेको थियो। सहप्राध्यापक पदमा रहेर काम गरेकाहरूले अध्यक्ष पदका लागि आवेदन दिन सक्नेछन्।
साउन २६ गते अपराह्न ३ बजेसम्म आफ्नो बायोडाटा hed@moest.gov.np मा इमेल गर्नुपर्ने सूचनामा उल्लेख छ।
सेवा आयोग अध्यक्ष पद एक वर्षदेखि रिक्त छ। तत्कालीन अध्यक्ष लालुप्रसाद पौडेलको कार्यकाल २०७९ साउन १८ मै सकिएको थियो।
आयोग अध्यक्ष पदका लागि गत वर्ष पनि आवेदन माग गरिएको थियो। त्यसबेला ३८ जनाले आवेदन दिएका थिए। तर कसैलाई पनि नियुक्ति दिइएको थिएन।
मन्त्रालयले सेवा आयोग अध्यक्षका लागि फेरि आवेदन माग गरेको हो।
आयोगका अध्यक्ष रिक्त हुँदा त्रिविमा आवश्यक जनशक्ति छनौट तथा नियुक्ति हुन सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता त्रिवि सेवा आयोग अध्यक्ष छिट्टै नियुक्ति गरिने बताएका थिए।
त्रिवि स्ववियुले पनि सरकारले सेवा आयोग अध्यक्ष नियुक्ति नगरेको भन्दै कीर्तिपुरस्थित आयोग कार्यालयसमेत खाली गराएको थियो।
यस्तो छ सूचना:
