अविरल वर्षासँगै आएको पहिरोले अवरूद्ध भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।
कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर सडक भासिएपछि अवरूद्ध भएको थियो।
मंगलबार पनि पहिरो आउने क्रम नरोकिएपछि थप तीन सय मिटर गरी जम्मा ५ सय मिटर सडक पहिरोले अवरूद्ध भएको छ।
सडक डिभिजन कार्यालयले पहिरो पन्छाउने काम जारी राखेको छ। हाल चार वटा डोजरले काम गरिरहेका छन्। राजमार्ग सञ्चालनमा नआउँदा यात्रुहरूलाई समस्या भएको छ।
राजमार्ग जति सक्दो चाँडो सञ्चालनका लागि प्रयास भइरहेको सुदूरपश्चिमका प्रहरी नायब महानिरीक्षक भरत बोहराले जानकारी दिए।
उनका अनुसार नागरिकको समस्यालाई मध्यनजर गर्दै भए जति स्रोत जुटाएर अवरूद्ध सडक सञ्चालनमा ल्याउन काम भइरहेको छ।
पहिरोले राजमार्ग आसपासका बस्तीका स्थानीयका घर र जमिनमा क्षति पुगेको भन्दै ३० वटा निवेदन आएको प्रहरीले जनाएको छ।