आफ्नै छोरीलाई जबरजस्ती विषादी खुवाएको आरोपमा प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ।
सुनसरीको बर्जु गाउँपालिका-२ का अर्जुन कामतलाई प्रहरीले छोरीलाई विष खुवाएको आरोपमा बुधबार पक्राउ गरेको हो।
सुनसरी प्रहरीका अनुसार मंगलबार राति मदिराले लठ्ठ बनेर आएका कामतले २० वर्षीया छोरी राधिकालाई तरकारीमा हाल्ने विषादी जबरजस्ती खुवाएका थिए।
बुवाले जबरजस्ती विष खुवाएपछि बिरामी बनेकी राधिकालाई कोशी अस्पताल विराटनगरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए।
छोरी राधिकाको उक्त अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार घरमा कुटपिट हुने डरले राधिका साथीको घरमा जाने गरेकी थिइन्।
‘बिहे गर्ने उमेरकी छोरी अर्काको घरमा गएर बसेर मेरो बेइज्जत गर्ने’ भन्दै उनले छोरीलाई विष खुवाएको प्रहरी भनाइ छ।
*यसअघि समाचारमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक