अभियन्ता सरस्वती नेपालीले अमेरिकी विदेश मन्त्रालयले दिने ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड पाएकी छन्।
अमेरिकी विदेश मन्त्रालयले बुधबार अवार्ड पाउने पाँच जनाको नाम सार्वजनिक गरेको हो।
नेपालीसँगै ब्राजिलकी कारी गुइजाजरा, पेरूकी ओस्वाल्डो बिल्बाओ लोबातोन, मोल्दोभाकी भिक्टोरिना लुसा, ट्युनिसियाकी सादिया मोस्बा र बंगलादेशकी रानी यान यानले अवार्ड पाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा सरस्वतीले नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालतमा २० वर्षभन्दा बढी काम गरेकी छन्।
उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन्।
‘उहाँले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजन सहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जित्नु भएको हो। सम्मान र समानताको खोजीमा उहाँको योगदान साहस र समर्पणको उदाहरण हो,’ काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ।