आफू बोलिरहँदा भिडिओ खिचेको निहुँमा भनाभन भएपछि दुई सेवाग्राहीलाई ११ दिन थुनेर अभद्र व्यवहारमा झुटो मुद्दा चलाएका प्रहरी कर्मचारीलाई कारबाही हुन सक्ने प्रहरी प्रवक्ता कुवेर कडायतले बताएका छन्।
बिहीबार सेतोपाटीसँग कुरा गर्दै उनले झुटो मुद्दा लगाइएको भन्दै पीडितले उजुरी दिएमा सम्बन्धित कर्मचारीलाई कारबाही हुने बताएका हुन्।
‘प्रहरीले झुटा विवरणका दिएर प्रतिवेदन बनाउन पाइँदैन। झुटा मुद्दा चलाइयो भन्ने सम्बन्धित मान्छेबाट उजुरी आए घटना कतिसम्मको गम्भीर हो हेरिकन त्यही अनुसार कारबाही हुन्छ,’ उनले भने।
महाराजगन्जस्थित प्रहरी कार्यालयको प्रतिवेदनका आधारमा सिस्ने हिमाल (नाम परिवर्तन) र उनकी छोरीविरूद्ध असार ११ गते जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको थियो।
उक्त मुद्दामा बाटोमा हिँडिरहेका बेला शंकास्पद गतिविधि गरेको देखेर नियन्त्रणमा लिई सोधपुछ गर्दा प्रहरीलाई अश्लिल शब्द बोलेको भनिएको छ।
तर उक्त कार्यालयका प्रमुख अंगुर जिसीले नै मुद्दा दर्ता गर्दा भने झुटा विवरण परेको स्वीकार गरेका छन्। आफू बोलिरहँदा भिडिओ खिचेपछि भनाभन भएको र त्यसपछि आमा छोरीलाई थुनेको सेतोपाटीसँग बताएका छन्।
बुधबार सेतोपाटीले किन अर्कै विवरण हालेर मुद्दा चलाउनुभएको थियो भन्ने प्रश्न गरेपछि उनले भनेका छन् – 'त्यो त हामीबाट गल्ती भयो। मैले पछि यहाँ स्टाफहरूलाई पनि गाली गरेँ,' उनले भने।
आफ्नी छोरीलाई काम गरेको ठाउँबाट पैसा नदिएको उल्टै चोरीको आरोप लगाएको भन्ने निवेदन लिएर आएकी 'सिस्ने हिमाल' प्रहरीले आफ्ना कुरा भन्दा आरोप लगाउनेकै कुरा सुनेको भन्दै हेडक्वाटरमा गुनासो गरेकी थिइन्।
असार १ गते हेडक्वाटरले ‘उक्त कार्यालयका प्रमुख प्रहरी जिसीसँग कुरा गर्नु र आफ्नो कुरा उहाँलाई सुनाउनु भन्दै पठाएको थियो।‘
जिसीसँग कुरा गर्न जाँदा उनले किन हेडक्वाटर गएको भन्दै हप्काएको र तथानाम गाली गरेकोले आफूले भिडिओ खिच्न खोज्दा प्रहरीले पक्राउ गरेको सिस्ने हिमाल बताउँछिन्।
जिसीले भने आफूले कुरा गर्दा सुरूदेखि नै भिडिओ खिच्न थालेपछि आफूले बन्द गर्न भन्दा हंगामा गरेको बताउँछन्।
त्यसपछि आमाछोरीलाई हिरासतमा राखेको प्रहरीले उनीहरूविरूद्ध दुई दिनपछि मात्र जरूरी पक्राउ पुर्जी काटेको छ।
सडकमा शंकास्पद गतिविधि गर्दै हिँडेकोले प्रहरीलाई शंका लागेर समातेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा असार ११ गते सिस्ने हिमालका आमा छोरी विरूद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको छ।
सरकारी वकिलको अभियोगपत्रमा उनलाई मुलुकी अपराध संहिताको दफा ११८ अनुसारको कसुर गरेकाले एक वर्षसम्म कैद, दस हजार रूपैयाँ जरिवाना वा दुवै सजाय गर्न माग गरिएको छ। उक्त दफामा अभद्र व्यवहार गर्न नहुने भनिएको छ। उनीहरूले प्रहरीलाई अभद्र व्यवहार गरेकोमा क्षतिपूर्ति समेत भराउन माग गरिएको छ।
उक्त मुद्दा दर्ता भएपछि जिल्ला प्रशासन कार्यालयले सिस्ने हिमाल र उनकी छोरीलाई ८ हजार धरौटीमा छोड्न आदेश गरेको थियो। उनीहरू धरौटी बुझाएर थुनामुक्त भएका थिए।