धादिङमा गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
बिहीबार बिहान चितवनबाट काठमाडौं आउँदै गरेको बा २१ चा ६०४३ नम्बरको स्कारपिओ धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मालिंगास्थित पृथ्वी लोकमार्गमा सडकको भित्तामा ठोक्किएको हो।
गाडीमा सवार कोल्बी नगरपालिका-४ का २८ वर्षीय प्रकाश थापा, ५५ वर्षीय भरतबहादुर भण्डारी, ३० वर्षीय दामोदर तिमिल्सिना, ३२ वर्षीय कपिल प्रसाईँ बागलुङ नगरपालिका- १४ का ३१ वर्षीय रामचन्द्र क्षेत्री घाइते छन्।
उनीहरूको हातखुट्टा, छाती र अनुहारमा चोट लागेको छ। उनीहरूको राजमार्ग अस्पताल मलेखुमा उपचार भएरहेको र अहिले स्वास्थ्य अवस्था मध्यम रहेको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
गाडी तीव्र गतिका कारण अनियन्त्रित भएर भित्तामा ठोक्किएको उनले बताए ।