हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपाल नजिक अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आगामी केही दिनसम्म यो रेखा अझै नेपाल नजिक सर्ने सम्भावना औंल्याएकाे छ। जसका कारण केही ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेकाे महाशाखाको भनाइ छ।
आकस्मिक बुलेटिन निकाल्दै महाशाखाले नेपालको मौसममा भारतको विहारको उत्तर पश्चिम भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको बताएको छ।
शनिबार राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ।
साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार देशभर पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
सोमबार देशभर सामान्यदेखि पूर्णतया बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
शनिबारदेखि सोमबारसम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले बताएको छ। त्यस्तै, सहरी क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने महाशाखाले बुलेटिनमार्फत् बताएको छ।
केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन तथा सडक-हवाई यातायातसमेत प्रभावित हुन सक्नेतर्फ सचेत रहन र पूर्वसतर्कता अपनाउन भनेको छ।