निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित भएको छ।
शुक्रबार सरकार र आन्दोलनरत पक्षबीच वार्ता भएको थियो। वार्ताको क्रममा आन्दोलनरत पक्षले प्रस्तुत गरेका विषयमा तत्काल सम्बोधन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेसँगै आन्दोलन स्थगित गरिएको उनीहरूले बताएका छन्।
वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, शिक्षासचिव सुरेश अधिकारी, कानुनसचिव उदयराज सापकोटा, रक्षासचिव किरणराज शर्मा, शिक्षा मन्त्रालयका प्रवक्ता दीपकशर्मा उपस्थित थिए भने सरोकारवाला पक्षका तर्फबाट प्याब्सन अध्यक्ष डीके ढुङ्गाना, हिसान अध्यक्ष रमेश सिलवाल, नेसनल प्याब्सन अध्यक्ष पाण्डव हमाल, प्याब्सन प्रमुख सल्लाहकार टिकाराम पूरी तथा प्याब्सन महासचिव श्री आरबी कट्वाल सहभागी थिए।
‘सरकारको तर्फबाट भएको प्रतिवद्धता र सकारात्मक पहलका निम्ति धन्यवाद दिँदै हाम्रा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्न सरकार पक्षबाट अनुरोध गरिएकाले सरोकारवालाहरूकै सहमतिमा हाललाई पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ', उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।