पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सिम्लेमा पहिरो गएको छ।
आज बिहान ८:१५ बजे थाक्रे गाउँपालिका-३ स्थित सडकमाथिबाट पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन अवरूद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार पहिरोका कारण बिहान आधा घन्टाजति सवारी आवागमन पूर्ण अवरूद्ध भएको थियो।
पहिरोसँगै खसेको भीमकाय ढुंगा पन्छाउन समय लागेकाले केहीबेर सवारी आवागमन अवरूद्ध भएको उनले बताए।
अहिले पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भइरहेको एसपी मिश्रले जानकारी दिए।
अहिले सडकमा झरेको ढुंगा फुटाउने काम भइरहेको र आधा एक घन्टाभित्र सवारी दुइतर्फी सञ्चालन हुने उनले बताए।