संखुवासभाको कारागारभित्र दुई कैदीबन्दीको मृत्यु भएको घटनामा जेलर र प्रहरी सहायक निरीक्षक(असई)विरूद्ध जाहेरी परेको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।
गत बुधबार बिहान खाँदबारी नगरपालिका-१ मा रहेको कारागार कार्यालय संखुवासभामा रहेका मादी नगरपालिका-५ फेलेदै बस्ने २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामी अचेत अवस्थामा फेला परेका थिए। उनीहरूको उपचारको लागि जिल्ला अस्पताल खाँदवारी लगिएको थियो।
त्यहाँ उपचारको क्रममा दुबै जनाको मृत्यु भएको थियो।
उनीहरू दुबै जनाले राति सवा १ बजे कारागारबाट भाग्ने प्रयास गरेका थिए।
आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको रड काटेर भाग्दै गर्दा ड्युटीमा खटिएका प्रहरीले देखेपछि कराएर सबैलाई जानकारी गराएका थिए।
प्रहरी कर्मचारीहरूले नियन्त्रणमा लिनेक्रममा उनीहरू दुबै जनामाथि कुटपिट समेत भएको प्रहरी निरीक्षक खनालले बताए।
प्रहरीले उनीहरू बस्ने ब्लकमा बुझाइएको थियो। तर त्यहाँ पनि अन्य कैदीबन्दीहरूले उनीहरूमाथि कुटपिट गरेका थिए।
त्यसपछि बिहान अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।
त्यस राति ड्युटीमा खटिएका असई लक्ष्मी चौधरी र कारागार प्रमुख घिमिरेको पनि संलग्नता भएको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएका हुन्।
उनीहरूविरूद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ।
मृतकहरू दुबै जनाको पोष्टमर्टम सकिसकेको छ। तर मृतक परिवारले शव बुझ्न मानेका छैनन्।