पहिरोले पृथ्वी राजमार्ग दुई ठाउँमा एकतर्फी सञ्चालनमा छ।
सडकमाथिबाट खसेको ढुंगा पन्छाइ नसकिएकोले राजमार्गको दुई ठाउँ शनिबारदेखि एकतर्फी सञ्चालनमा छ।
शनिबार बिहान धादिङको थाक्रे गाउँपालिका-३ सिम्लेमा सडकमाथिबाट ठूलो ढुंगा खसेको थियो। पहिरोका कारण शनिबार बिहान आधा घन्टा सडक पूर्ण अवरूद्ध थियो।
पहिरो पन्छाएर सडक एकतर्फी बनाइए पनि पानी परिरहेका कारण ढुंगा पन्छाउँदा माथिबाट थप पहिरो खस्ने जोखिम रहेकाले पानी रोकिएपछि पन्छाउने काम सुरू गरिने नागढुंगा-मलेखु सडकका इन्जिनियर जयराम अधिकारीले जानकारी दिए।
यता तनहुँको आबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शनिबार साँझ खसेको भीमकाय ढुंगा अझै हटाइनसक्दा त्यहाँ पनि सडक एकतर्फी सञ्चालनमा छ।
अहिले उक्त ढुंगालाई सडक किनारामा राखेर फुटाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय तनहुँका सूचना अधिकारी इन्जिनियर विकेश लागेले सेतोपाटीलाई जानकारी दिए।
अहिले डोजर र लोडर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको र ढुंगा फुटाउन डुम्रेबाट ब्रेकर आइरहेको उनले बताए।
थप पहिरो खस्ने सम्भावना नरहेकाले दिउँसोसम्म सडक दुइतर्फी सञ्चालनमा आउने उनले बताए।