शनिबारदेखि परेको निरन्तर वर्षाका कारण सुर्खेत-कोहलपुर सडक (रत्न राजमार्ग) अवरूद्ध भएको छ। राजमार्गअन्तर्ग हर्रेनजिकै बबईतर्फको सडक र देउरालीमा सडक अवरूद्ध भएको छ। दुबै ठाउँमा सानो पहिरोसँगै रूख ढलेपछि सडक अवरूद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सडक अवरूद्ध भएपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो गाडी छोडेर नेपालगञ्ज गएका छन्। उनी आज काठमाडौं जान लागेका छन्। नेपालगञ्ज विमास्थलसम्म मुख्यमन्त्रीकै गाडीमा जान खोजेका शर्मा सडक अवरूद्ध भएपछि देउरालीबाट सार्वजनिक गाडीमा नेपालगञ्ज पुगेका हुन्।
‘सानो पहिरो पनि छ, रूखहरू धेरै ढलेकाले सडक अवरूद्ध भएको छ,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईले भने, ‘मुख्यमन्त्री अवरूद्ध सडक पैदल पार गरेर अर्को गाडीमा जानुभएको छ।’
मुख्यमन्त्री शर्मासहित सचिवालयको चार जनाको टोली आज काठमाडौं जाँदैछन्।
देउरालीमा आफैं सडकमा खसेका रूखहरू हटाएर गए पनि देउरालीमा गाडी परिवर्तन गर्नु परेको मुख्यमन्त्रीको सचिवालयका प्रतीक जीएमले बताए।
‘हर्रेमा स्थानीयसँग सामान मागेर सबै मिलेर बाटो खोल्यौं, देउराली पुगेपछि सडक खुल्न नसकेपछि गाडी छोडेर सार्वजनिक गाडीमा नेपालगञ्ज आयौं,’ उनले भने।
सुरक्षाकर्मीले अवरूद्ध सडक खोल्नका लागि काम गरिरहेको उनले जानकारी दिए।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईका अनुसार सुर्खेत-दैलेख सडक खण्ड पनि वर्षाका कारण अवरूद्ध भएको छ। दैलेखको डुंगेश्वर नजिक पहिरा खसेपछि दैलेख-सुर्खेत र कर्णाली राजमार्ग अवरूद्ध भएको उनले जानकारी दिए।
सुर्खेत र आसपासका जिल्लाहरूमा शनिबार रातिदेखि निरन्तर वर्षा भईरहेको छ।