एक जना भारतीय नागरिकको मोरङ सुन्दरहरैँचा नगरपालिका-१२ मा रहस्यमय मृत्यु भएको छ।
भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव भेटिएको हो।
खानको शव पानीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको हो। शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ।
खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमर्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
खान इटहरीमा एक उद्योगमा भाँडावर्तन बनाउने काम गर्थे। घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए।
‘घटना शंकास्पद देखिएको छ,’ उनले भने, ‘अहिले अनुसन्धान सुरू भएको छ।’
घटनाको विस्तृत विवरण भने अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए।
प्रहरीको अनुसार खान चार जना साथीसँग शनिबार सुन्दरहरैचा आएको बुझिएको छ। उनको साथी पनि उनीजस्तै भाँडावर्तन बनाउने काम गर्दै आएका थिए।
प्रहरीले मृतक खानको साथीलाई नियन्त्रणमा लिएको छ। उनको साथीलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान सुरू गरेको एसपी पोखरेलले बताए।
‘खानसँग आएका दुई जना साथी सम्पर्कविहीन छन्,’ उनले भने, ‘अन्य दुई जना साथीको पनि खोजी भइरहेको छ।’