लगातारको वर्षाले नारायणी, कर्णाली र बबई नदीमा जलसतह सतर्कता तह नाघेको छ।
बाढी पूर्वानुमान् महाशाखाका अनुसार कर्णाली नदीले सुर्खेतमा, बबईले नदी बर्दियामा र नारायणी नदीले देवघाट र नारायणघाट पुलमा सतर्कता तह नाघेको हो।
कर्णाली नदीको जलसतह ७.५६ मिटर पुगेको छ। त्यस्तै बबईमा ७.३४ मिटर, नारायणी नदी देवघाटमा ७.५६ र नारायणघाट पुलमा ११.४ मिटर पुगेको छ ।
कर्णालीको जलसतह बढ्दो क्रममा र बाँकीको घट्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ।
बर्दियामा गत २४ घन्टामा धेरै भारी वर्षा मापन भएको छ।
महाशाखाको रम्भापुर स्टेशनमा चौबिस घन्टामा १६० मिलिमिटर वर्षा भएको हो। धेरै भारी वर्षाका कारण बबई नदीमा आएको बाढीमा तीन जना बेपत्ता भएका छन् भने ८४ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
आजदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको पूर्वानुमान् छ।