पहिरोले एक सातादेखि अवरूद्ध रहेको महाकाली राजमार्ग एकतर्फी सुचारू भएको छ। गत सोमबार राति पहिरो खस्दा बुढीतोला क्षेत्रमा राजमार्ग अवरूद्ध भएको थियो।
महाकाली राजमार्गको भावर क्षेत्रमा गएको पहिरो सफा गरी नयाँ ट्र्याक निर्माण गरेर एकतर्फी रूपमा सवारी साधन चलाइएको हो।
आइतबारदेखि यात्रु बोकेका गाडी पनि एकतर्फी चल्न सक्ने भएको सडक डिभिजन कार्यालय महेनद्रनगरले जनाएको छ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर पियुस चटौतका अनुसार बाटोको चौडाइ एक लेन बराबर हुने गरी गाडी चलाइएको छ। वर्षाको पानीले गलेर कमजोर भएको जमिन भासिएर एक सातादेखि सडक अवरूद्ध भएको थियो। अहिले पनि पानी परिरहेकाले फेरि पहिरो जानसक्ने जोखिम छ।
अहिले लामो समयदेखि रोकिएर सवारी साधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइँदै छ।
सडक डिभिजन कार्यालयले अत्यावश्यक नपरी उक्त बाटोमा यात्रा नगर्न अनुरोध गरेको छ।