नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सक्कली शैक्षिक प्रमाणपत्र रहेका डा. रंजितकुमार यादवलाई पक्राउ गरेकोबारे प्रष्ट पारेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आधारमा चिकित्सक बनेको भन्दै सिआइबीले यादवलाई गत बिहीबार भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको थियो।
सिआइबीले फक्सट्रट चार्ली अपरेशन चलाएर विभिन्न ठाउँबाट ८ जना डाक्टरलाई पक्राउ गरेको थियो। जसमध्ये नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई काठमाडौं जिल्ला अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो।
७ जनालाई भने अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दियो।
तर पक्राउ परेका रंजितकुमार यादवका शैक्षिक प्रमाणपत्रहरू सबै सक्कली नै भएको आइतबार खुलेको थियो।
यसरी आइतबार उनको शैक्षिक प्रमाणपत्र सबै सक्कली भएपछि सिआइबीले कसरी गलत व्यक्ति पक्राउ परे भन्नेबारे सोधीखोजी गरेको थियो।
मेडिकल काउन्सिलले आइतबार सिआइबीलाई अर्कै व्यक्तिको विवरण पठाउनुपर्नेमा भूलवश अहिले हिरासतमा रहेका व्यक्तिको पठाइएको भन्दै पत्र पठाएको हो।
देवेन्द्र यादवका छोरा रंजितकुमार यादवको प्रमाण पत्रहरूको प्रतिलिपि माग गर्दा विश्वनाथ यादवका छोरा रंजितकुमार यादवको प्रमाणपत्रहरूको प्रतिलिपि भुलवश पठाइएको भन्दै मेडिकल काउन्सिलले सिआइबीलाई पत्र लेखेको हो।
‘यस काउन्सिलबाट मिति २०७८/०८/२८ गते थप कागज पत्र च नं ४०२/०७८/०७९ (प्र) मार्फत देवेन्द्र यादवका छोरा रंजितकुमार यादवको प्रमाण पत्रहरूको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रंजितकुमार यादव, विश्वनाथ यादवको छोराको दर्ता प्रमाण पत्र र आवेदन फारम भुलवश संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु,’ सिआइबीलाई आइतबार काउन्सिलले पठाएको पत्रमा भनिएको छ।
यसरी पत्र पठाएपछि पक्राउ गरिएका व्यक्ति वास्तविक प्रतिवादी नभएको यकिन हुँदा अनुसन्धानको लागि हिरासतमा राख्न आवश्यक नदेखिएको भन्दै जिम्मा जमानीमा छाडिएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
उनी छुटेसँगै अहिले सिआइबीको हिरासतमा छ जना छन्।