त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शुको सुन निकाल्न थालिएको छ।
सोमबार टक्सार महाशाखाले सुन जोख्नको लागि ब्रेक शु भित्रको सुन निकालेर देखाएको हो।
महाशाखाले पत्रकारहरूको अगाडि प्रत्यक्षरूपमा बट्टाबाट निकालेर सुन देखाएको हो।
एउटा कार्टुन बट्टामा २० वटा ब्रेक शु रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
सुरूमा बरामद भएका ब्रेक शुका सबै बट्टाबाट सुन निकालिने उनले बताए। त्यसपछि गाल्ने प्रक्रिया अघि बढाउने उनले बताए। गालिसकेपछि यसको गुणस्तर थाहा पाइने उनले बताए।
‘यसको गुणस्तर के हो भन्ने कुरा थाहा पाउन प्रोब्याब्ली हामीले आज या भोलिसम्म गाल्ने प्रयास गर्छौं। यसको तीनदिन पछि आरसी परीक्षण पनि आउँछ,’ उनले भने।
सुन जोख्ने प्रक्रिया पनि पारदर्शी हुने उनले बताए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), राजश्व अनुसन्धान विभाग, राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र टक्सार महाशाखाका प्रतिनिधिको रोहबरमा सुन जोखिने भएर पारदर्शी नै हुने उनले बताए।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजश्व अनुसन्धान विभागले सुन बरामद गरेको थियो। साउन ४ गते विभागले उक्त सुन जोख्न महाशाखामा पठाएको थियो। तर पत्र नपाएपछि महाशाखाले जोखेको थिएन।
सिआइबीले पत्र पठाएपछि भने महाशाखाले उक्त सुन जोख्ने तयारी गरिरहेको हो।