प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाबाट बरामद दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण गर्नुअघि दुई दिनसम्म आफ्नो घरमा राखेको उच्च प्रहरी स्रोतले सेतोपाटीलाई बताएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका सापकोटाबाट बरामद मोबाइल फोन बेनले दुई दिनसम्म आफ्नो नियन्त्रणमा राखेर त्यसपछि मात्र प्रहरीलाई हस्तान्तरण गरेको स्रोतको दाबी छ।
'इनम सापकोटाबाट बरामद दुईवटा मोबाइल फरेन्सिक परीक्षण गर्नुअघि कुमार बेनले दुई दिनसम्म आफैसँग राखेका थिए,' उच्च प्रहरी स्रोतले सेतोपाटीसँग भन्यो, 'त्यस अवधिमा हामीले मोबाइलको लोकेसन ट्र्याक गर्दा बेनको ज्वागलस्थित घरमा रहेको पाइएको थियो।'
स्रोतका अनुसार मोबाइल फिर्ता भएपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणमा उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुक लगायत सामाजिक सञ्जाल प्रयोग गरिएको र विभिन्न सामग्रीका स्क्रिनसट लिइएको देखिएको छ।
मोबाइलमा रहेका केही मेसेज मेटिएको समेत स्रोतको दाबी छ। तीमध्ये सापकोटा र बेनबीच आदानप्रदान भएका केही मेसेज पनि मेटिएको स्रोतले बतायो।
'फरेन्सिक परीक्षणमा केही मेसेज डिलिट भएको र विभिन्न सामग्रीका स्क्रिनसट लिइएको देखिएको छ,' स्रोतले भन्यो।
प्रहरी स्रोतका अनुसार सापकोटाको मोबाइलमा उनी र बेनबीच विभिन्न विषयमा केही महिना अघिदेखि नै पटक पटक कुराकानी भएको विवरण समेत भेटिएको छ। ती कुराकानीमध्ये एउटा गएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार छनोटसम्बन्धी विषय पनि रहेको स्रोतको भनाइ छ।
'दाङ क्षेत्र नम्बर २ बाट अनन्तराज घिमिरेलाई टिकट दिनुपर्छ भनेर इनमले बेनसँग सिफारिस गरेको मेसेज पनि भेटिएको छ,' स्रोतले भन्यो।
अहिले कतिपय सञ्चारमाध्यममा आएका स्क्रिनसट बेनले त्यो मोबाइल आफूसँग राखेकै बेला लिएको पनि स्रोतले दाबी गरेको छ।
प्रहरी उच्च स्रोतले यसअघि अनुसन्धानबारे राजनीतिक नेतृत्वले चासो राख्ने गरेको भए पनि अनुसन्धानमा रहेका सामग्री आफ्नो नियन्त्रणमा लिने र तिनलाई चलाउने काम कहिल्यै नभएको बतायो।
अनुसन्धान क्रममा बरामद गरिएका मोबाइल प्रहरीको आधिकारिक प्रणालीभन्दा बाहिर प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नियन्त्रणमा पुगेको भन्ने दाबीले अनुसन्धानको निष्पक्षता र डिजिटल प्रमाणको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रहरीले बरामद गरेका मोबाइल फरेन्सिक परीक्षणअघि बेनसम्म कसरी पुगे, उनलाई कसले उपलब्ध गरायो र उनले कुन प्रयोजनका लागि त्यो फोन लगे भन्ने विषय स्पष्ट भइसकेको छैन।
अनुसन्धान क्रममा बरामद मोबाइलमा अनधिकृत पहुँच भएको पुष्टि भए त्यसबाट प्राप्त डिजिटल प्रमाणको विश्वसनीयतामाथि समेत प्रश्न उठ्न सक्छ।
सेतोपाटीले यस विषयमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनसँग प्रतिक्रिया मागेको थियो।
हामीले उनलाई सापकोटाबाट बरामद मोबाइल दुई दिनसम्म घरमा राखेको, मोबाइलमा रहेका केही मेसेज मेटिएको, दाङ क्षेत्र नम्बर २ को उम्मेदवार सिफारिससम्बन्धी कुराकानी भएको र मोबाइलबाट स्क्रिनसट लिएर सञ्चारमाध्यमलाई उपलब्ध गराएको भन्ने प्रहरी स्रोतका दाबीबारे चारवटा प्रश्न पठाएका थियौं।
बेनले ती प्रश्नको जबाफ दिन चाहेनन्।
'मिलाएर लेख्नु न। अब तपाईंले जे भने पनि आफ्नै हिसाबले समाचार लेखिहाल्नुहुन्छ। त्यसैले मलाई समस्या छैन, तपाईंले जे लेखे पनि,' बेनले सेतोपाटीलाई उत्तर पठाए।
उनले प्रहरी स्रोतका दाबी स्वीकार वा अस्वीकार गरेनन्।
यसअघि सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको सम्पर्क र कुराकानीका विवरण सार्वजनिक भएपछि फुयाँलले पनि पत्रकारहरूसँग त्यसबारे स्पष्टीकरण दिएका थिए।
कात्तिक १२ गते सर्वोच्च अदालतमा पत्रकारहरूसँग कुराकानी गर्दै फुयाँलले सापकोटाले आफूलाई प्रधानमन्त्री बालेन शाहको मानिस भनेर चिनाएको र त्यही आधारमा सम्पर्क भएको बताएका थिए।
फुयाँलका अनुसार आफू र केही अन्य न्यायाधीशमाथि महाअभियोग लाग्न सक्ने चर्चा चलिरहेका बेला सापकोटाले प्रधानमन्त्रीसँग आफ्नो पहुँच रहेको दाबी गर्दै उनीहरूलाई महाअभियोग नलाग्ने आश्वासन दिएका थिए।
उनले सापकोटासँग काठमाडौंको हिमालय होटलमा भेटेको समेत स्वीकार गरेका थिए। उक्त भेटमा आफू एक्लै नरहेको उनको भनाइ थियो।
सापकोटाले पछि सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूमा चासो राख्दै दबाब दिन थालेपछि उनीप्रति शंका लागेको फुयाँलले बताएका थिए।
विशेषगरी रोहित गुप्ताको मुद्दामा सापकोटाले प्रधानमन्त्रीको नाम लिएर सन्देश पठाएको उनको भनाइ थियो।
फुयाँलका अनुसार सापकोटाका गतिविधिप्रति शंका बढेपछि उनको फोटो, सम्पर्क नम्बर र कुराकानीका विवरण प्रधानमन्त्रीको सचिवालयमा पठाइएको थियो।
प्रहरीलाई समेत सापकोटाबारे जानकारी गराएको तर प्रहरीले उच्चपदस्थ व्यक्तिहरूसँग उनको सम्पर्क रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएको फुयाँलको भनाइ थियो।
प्रधानमन्त्रीको सचिवालयमा सूचना र प्रमाण उपलब्ध गराएको केही दिनमै सापकोटा पक्राउ परेको पनि उनले बताएका थिए।
फुयाँलले सापकोटासँग भएका आफ्ना कुराकानीका केही विवरण सार्वजनिक भएपछि ती सूचना कसरी बाहिर आए भन्ने प्रश्न उठाएका थिए। सार्वजनिक भएका विवरण अनुसन्धानको फाइलमा नरहेको दाबी गर्दै ती कसले र कसरी सार्वजनिक गर्यो भन्नेमा आफू आश्चर्यमा परेको उनले बताएका थिए।
सापकोटासँग न्यायाधीशहरूको सम्पर्क र आर्थिक लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा समेत यो विषय उठेको थियो।
कात्तिक १३ गते बसेको बैठकमा सार्वजनिक विवरणको वास्तविकता स्पष्ट पार्नुपर्ने र न्यायालयप्रति उठेका प्रश्न सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको थियो। उक्त बैठकमा फुयाँलले पनि सापकोटासँगको आफ्नो सम्पर्कबारे धारणा राखेका थिए।
यो प्रकरणले न्यायपालिकाको निष्पक्षता र न्यायाधीशहरूको आचरणमाथि समेत प्रश्न उठाएपछि थप छानबिनको आवश्यकता औंल्याइएको थियो।
झापाका इनम सापकोटा असोज १४ गते पक्राउ परेका थिए।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगको सम्पर्क र उच्चपदस्थ व्यक्तिहरूसँगको सम्बन्धका विषयमा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
राणा पक्राउ परेपछि प्रहरीले उनको मोबाइल परीक्षण गरेको थियो। त्यहाँबाट प्राप्त विवरणका आधारमा अनुसन्धान सापकोटासम्म पुगेको प्रहरी स्रोतले बतायो।
प्रहरीको विशेष ब्युरोको टोलीले सापकोटालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यस क्रममा सापकोटा र राणाबीचको सम्बन्ध तथा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालसँग उनको सम्पर्कबारे पनि अनुसन्धान भएको थियो।
सापकोटालाई सुरूमा अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखियो। पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइयो।
सापकोटाकी श्रीमती कविता पाण्डेले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको इजलासले उक्त रिट खारेज गरेको थियो।
पछिल्लो समय सापकोटाको मोबाइलबाट प्राप्त भएको भनिएका विभिन्न उच्चपदस्थ व्यक्ति र न्यायाधीशहरूसँगका संवादका विवरण सार्वजनिक भइरहेका छन्।
अझै प्रहरी हिरासतमा रहेका सापकोटाबारे जे जस्ता विवरण सञ्चारमाध्यममा सार्वजनिक भएका छन् र सेतोपाटीलाई पनि यो विवरण जसरी प्राप्त भएको छ, त्यसले नेपाल प्रहरीभित्र उनको गिरफ्तारी र त्यसपछिका घटनालाई लिएर तीव्र मतभेद र हानथाप रहेको संकेत गर्छ।
उनी सम्बन्धी विवरणहरू आफ्नो चासो अनुसार प्रहरी र सत्तारूढ दलकै प्रभावशाली मानिसहरूले सञ्चारमाध्यममा लिक गरिरहेका छन्।
***