नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले जाहेरी दिएको प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार १८ जना पीडितहरूबाट करिब एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी गरेको भन्दै जाहेरीमा उल्लेख गरेका छन्।
१८ जना पीडितले तीन वटा किटानी जाहेरी दिएका हुन्।
यसको थप अनुसन्धान गर्न तथा कारबाहीको लागि कार्यालयले जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनामध्ये ३ जनालाई पुर्पक्षका लागि धरौटीमा छोडेको थियो। बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व सभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।
टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख र केशव तुलाधरसँग १५ लाख धरौटी माग गरेको थियो। केशव तुलाधरले धरौटी रकम बुझाए पनि ललिता निवास प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरूद्ध २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधको कसुरको मुद्दा दर्ता गराएको थियो। असार १ गते अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने र धरौटीमा छाड्ने विषयमा आदेश दिएको थियो।