'गरिखान देऊ' का संयोजक मिराज ढुंगानाको जेनजी समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको थियो।
नौ बुँदे माग राखेर सिंहदरबार पुगेका उनीहरूलाई गेटबाटै भित्र प्रवेश गर्न दिइएन। कार्कीलाई भेटेर आफ्नो मागपत्र हातैमा बुझाउने उद्देश्यले गएका उनीहरू सिंहदरबार छिर्न नपाएपछि दक्षिण गेटमा पत्र टाँसेर फर्किएका थिए।
सोमबार भेट्न नपाएपछि मंगलबार १२ बजेतिर जेनजीहरू फेरि सिंहदरबार प्रवेश गर्न खोजे। तर प्रहरीले रोकेपछि भनाभन सुरू भयो।
'आधा घन्टासम्म आग्रह गर्दा हामीलाई भित्र छिर्न दिइएन,' मिराजले सेतोपाटीसँग भने, 'त्यसपछि प्रहरीसँग भनाभन सुरू भयो।'
सिंहदरबारको गेटमा भिडभाड र धकेलाधकेल हुन थालेपछि प्रहरीले जेनजीहरूलाई धकेल्दै अनामनगरको पुलसम्म ल्यायो। आफूहरूलाई भने पुलपारिको बार्दली रेस्टुरेन्टसम्म पुर्याएको मिराज बताउँछन्।
'हामीले विनम्रतापूर्वक गरेको अनुरोध प्रहरीले अस्वीकार गरेपछि १ बजेतिर हाम्रो टिम निधारमा कालो कपडा बाँधेर फेरि गयौं,' मिराजले भने, 'हामी सुरूमै कालोपट्टी बाँधेर गएका होइनौं।'
सुरूमा शान्तिपूर्ण रूपमा मागपत्र बुझाउनकै लागि गएको उनको भनाइ छ।
'सोमबार पनि प्रधानमन्त्रीसँग भेट्न पाएनौं। मंगलबार पनि छिर्न दिइएन। प्रधानमन्त्रीसँग भेट्ने समय निरन्तर पछाडि धकेलिँदै गइरहेको छ। सरकारले हाम्रो माग बेवास्ता गर्दै आएको छ। त्यही भएर आजको स्थिति उत्पन्न भयो,' उनले भने।
उनका अनुसार कालोपट्टी बाँधेर जाँदा पनि प्रहरीले गेटमै रोक्यो। त्यहाँ प्रहरी र जेनजी समूहबीच फेरि धकेलाधकेल भयो।
'हामीले झगडा गर्न चाहेका थिएनौं। प्रहरीको व्यवहारलाई जिम्मेवारी सम्झेर आफ्नो कुरा राख्ने प्रयास गर्यौं,' मिराजले भने, 'सिंहदरबारअगाडि जेनजीको भीड बढ्दै गएपछि हामीलाई फेरि धकेल्दै अनामनगरको भाटभटेनीसम्म पुर्याइयो।'
उनले अगाडि भने, 'त्यति बेलासम्म हामी डेढ-दुई सय जेनजी भेला भइसकेका थियौं। सवारी साधनको जामले जनतालाई असर पर्न थालिसकेकाले हामी पुलमै एकछिन छलफल गरेर छुट्टियौं।'
सोमबार र मंगलबारको घटनापछि सरकारको रवैयाविरूद्ध कसरी अगाडि बढ्ने भनेर छलफल गरिरहेको उनले बताए।
प्रहरीले आफूप्रति गरेको व्यवहारमा कुनै चित्तदुखाइ नभएको उनको भनाइ छ।
'उनीहरूले माथिको आदेश मानेका हुन्। त्यही भएर शान्तिपूर्ण माहोल हामीले साथीहरूसँग आग्रह गरेका छौं,' उनले भने।
मिराज ढुंगाना र उनको समूहले प्रधानमन्त्रीलाई भेटेर राख्न खोजेका माग यस्ता छन् —
१. हालसम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर
२. स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर
३. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर
४. जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर
५. सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर
६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर
२४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर
७. जेनजी आन्दोलन लगायतका राजनीतिक प्रतिशोधका आधारमा चलाइएका मुद्दा फिर्ता गर र विधिको शासन कायम गर
८. प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुर्याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकार पुनर्संरचना गर
९. यी कुरा संविधान पुनरवलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरेर मात्र अर्थपूर्ण चुनावतर्फ लाग