२०५८ सालतिरको कुरा हो।
ज्ञानु काठमाडौं, बौद्धस्थित एक कारखानामा गलैंचा बुन्थे। खाने र बस्ने त्यहीँ हुन्थ्यो। काम सुरू गरेको पाँच वर्षसम्म पनि उनी बाहिर खासै निस्केका थिएनन्।
काम गर्ने ठाउँमा दुई–तीन जना साथी बनाएका थिए। उनीहरू बाहिर हिँडडुल गरिरहन्थे।
एक दिन त्यहीँका साथीले उनलाई 'वीर अस्पताल अगाडि मान्छेहरू पछ्यौरी ओढेर बसिरहेका हुन्छन्' भनेर सुनाए र हेर्न जान आग्रह गरे।
शनिबार बिदाको दिन पारेर ज्ञानु साथीहरूसँग गए।
'त्यहाँ पुगेपछि साथीहरूले टिसर्ट र पाइन्ट लगाएका व्यक्तिहरूलाई देखाउँदै देखिस्, यिनीहरू छक्का हुन्, पैसा दियो भने तसँग आउँछन् भने,' ज्ञानुले त्यो बेलाको घटना सम्झिँदै सुनाइन्।
ज्ञानु पारलैंगिक महिला हुन् र आफूलाई 'तेस्रो लिंगी' भनेर चिनाउँछिन्। त्यो बेला भने उनलाई आफ्नो पहिचानबारे केही भेउ थिएन। अलमल मात्र थियो। आफूलाई पुरूष नै मान्थे।
त्यस दिन ज्ञानुले त्यहाँ उभिएका व्यक्तिहरूलाई नियालेर हेरे।
'उनीहरूलाई छक्का भनेपछि मेरो मनमा चिसो पस्यो,' उनले भनिन्, 'म केटा भए पनि सानैदेखि केटीका लुगा लगाउन, नाच्न, केटी जसरी हिँडडुल गर्न मनपराउँथेँ। त्यसैले उनीहरूलाई देखेपछि कताकता आफू उनीहरूजस्तै भएको महसुस गरेँ।'
उनले थपिन्, 'तर साथीहरूले जे जे भने पनि म उनीहरूलाई देखेर खुसी भएँ। मजस्तै मानिस अरू पनि रहेछन् भन्ने भयो। मनमा एक किसिमको शान्ति भयो।'
ज्ञानुले त्यस दिन पुलमाथिबाट निकैबेर उनीहरूलाई हेरे। साँझ साथीहरूसँगै कोठा फर्किए।
त्यसपछि हरेक शनिबार उनी त्यहाँ गएर ती व्यक्तिहरूलाई हेर्न थाले। बिस्तारै अलिअलि कुराकानी पनि गरे।
यही क्रममा एक दिन खुलामञ्चमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरै व्यक्तिहरू देखे। उनी पनि त्यहीँ मिसिए।
'त्यहाँ ब्लु डाइमन्ड सोसाइटीका संस्थापक सुनिलबाबु पन्त, पिंकी गुरूङ लगायतसँग चिनजान भयो। त्यो बेला सोसाइटी भर्खर सुरू भएको थियो,' ज्ञानुले सुनाइन्।
उनीहरूले आफ्ना समुदायका लागि बोल्ने, संस्थामा आवद्ध गराउने र अल्पसंख्यकलाई खुलेर आउन आग्रह गरिरहेका थिए। ज्ञानुलाई पनि आफ्नो मनको कुरा सुनाउने मौका मिल्यो।
सबै कुरा गरेपछि उनले आफ्नो शारीरिक बनावट पुरूषको भए पनि भावनात्मक रूपमा महिला भएको बुझिन्।
त्यो बेला उनको उमेर २५ वर्ष थियो।
'मैले म महिला भएको त्यही बेला बुझेँ। त्यसपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूसँग निकट भएँ। काममा भन्दा बढी ध्यान समुदायतिरै भयो। जहाँ बोलायो त्यहीँ जान थालेपछि मलाई कामबाट निकालिदिए,' उनले भनिन्।
त्यसपछि उनी केही दिन साथीहरूसँग बसिन्। गलैंचा कारखानाहरूमा काम खोजिन्, तर कहीँ पाइनन्। काठमाडौंमा आफन्त पनि कोही थिएन।
झन्डै एक महिनासम्म काम नपाएपछि खान र बस्न नै धौधौ भयो। अरू काम जानेकी पनि थिइनन्। उनले आफ्नो समुदायका साथीहरूसँग कुरा गरिन्। उनीहरूले यौन श्रमिक बन्न सकिने बताए।
'मसँग दुइटा विकल्प थियो। पहिचान लुकाएर काम खोज्ने वा खुलेर आफ्नो खुसीले बाँच्ने,' उनले भनिन्, 'मेरोबारे परिवारलाई केही थाहा थिएन। त्यसैले मैले बरू खुलेर बाँच्ने निधो गरेँ।'
त्यसपछि ज्ञानु पनि पछ्यौरी ओढेर रत्नपार्क पुगिन्।
'त्यति बेला शृँगार गर्ने, महिलाका लुगा लगाएर बस्ने चलन थिएन। पछ्यौरी ओढेपछि पुरूषहरूले बोलाएर लैजान्थे,' उनले सुनाइन्।
एक–दुई दिन अप्ठ्यारो लागेर उनी कुनातिर बसिन्। तेस्रो दिन एक ट्याक्सी चालकले बोलाए। तीन सय रूपैयाँ दिने भने। उनी गइन्। त्यति बेला तीन सय रूपैयाँ उनका लागि ठूलो रकम थियो।
एक दिन वा रातभर रत्नपार्कमा बस्दा दुई–तीन दिनलाई खान पुग्ने पैसा हुन्थ्यो। त्यसपछि ज्ञानुलाई त्यहाँ बस्न अप्ठ्यारो लाग्न छोड्यो।
'पैसा कमाउन थालेपछि कोठा खोजेर बसेँ। त्यही कामले भोक मेटायो। बास दिलायो। अरू काम नभेटेपछि त्यसमै लागेँ,' उनले भनिन्।
यहीबीच उनी आफ्नो समुदायसँग जोडिएर विभिन्न अभियानमा पनि संलग्न भइन्।
ज्ञानुले ६–७ वर्ष रत्नपार्कमा उभिएरै यौन श्रमिकका रूपमा काम गरिन्। त्यसपछि त्यहाँ उनीजस्तै अरू व्यक्तिको संख्या बढ्दै गयो। प्रहरीले पनि लखेट्ने र पिट्ने गर्न थाल्यो। त्यसपछि यौन श्रमिकहरू विभिन्न ठाउँमा छरिए।
ज्ञानु र उनका साथी चाबहिलमा बस्न थाले। त्यहाँ पनि सजिलो थिएन। प्रहरी र सेनाको नजरबाट लुकेर काम गरे।
एक रात ज्ञानु र उनका साथी एक जना व्यक्तिसँग कुराकानी गरिरहेका थिए। त्यही बेला चार–पाँच जना मान्छे आए र उनीहरूमाथि कुटपिट गरे।
'हामीले ओढिरहेको पछ्यौरीले आँखा बाँधेर भ्यानमा हाले र लगे,' ५४ वर्षीया ज्ञानुले सम्झिँदै भनिन्, 'भ्यानमा हालेदेखि कुनै एक ठाउँमा लगेर झारेर बिहानसम्म कुटपिट गरे। धेरै पिटेपछि बेहोस नै भएका थियौं।'
होस आउँदा उनीहरू सिफलस्थित खुला चौरमा थिए। कुटपिट कसले गर्यो भन्ने उनलाई अहिलेसम्म थाहा छैन।
यसबारे उनीहरूले ब्लु डाइमन्ड सोसाइटीमा भने। त्यसपछि उनले सुन्धारा, भद्रकाली, माइतीघर, नयाँबानेश्वरसम्म पीडा सुनाउँदै हिँडिन्। उनीमाथि अन्याय भएको चर्चा भयो। आवाज उठाइयो। तर कारबाही कसैलाई भएन।
आर्थिक रूपमा कठिनाइ भएपछि उनीहरू फेरि यौन श्रमिककै रूपमा सडकमा आए।
'भोक टार्ने अरू काम नै पाइएन,' उनले भनिन्, 'कसैले सहयोग पनि गरेन।'
बिस्तारै शारीरिक बनावट परिवर्तन गर्ने चलन आयो। धेरै समयपछि ज्ञानुले पनि शरीर महिलाको जस्तो बनाउने हर्मोन खान थालिन्। शरीर फेरिँदै गयो। उनले पहिरन पनि महिलाकै लगाइन्। महिला स्वरूपमा चिटिक्क परेर हिँड्न पाउँदा खुसी भइन्।
तर घर जाँदा उनी पुरूष नै भएर जान्थिन्, फर्किएपछि महिला बन्थिन्। यसरी परिवारलाई केही नभनी दुई जीवन बाँचिरहिन्।
ज्ञानुको घरको आर्थिक अवस्था कमजोर थियो। स्कुल जाने अवसर पनि मिलेन। बुबाआमाले पनि आफ्नो कुरा बुझ्लान् भन्ने उनलाई लागेन।
करिब पन्ध्र वर्षअघि भने उनले आँट गरेर आमाबुबालाई काठमाडौं बोलाइन् र आफ्नोबारे बताइन्।
'मेरो पहिचानबारे थाहा भएपछि उहाँहरू रूनुभयो,' ज्ञानुले सुनाइन्, 'बाँच्नका लागि शरीर बेचेको कुरा चाहिँ भन्न सकिनँ। आफ्ना समुदायको संस्थाका लागि काम गर्छु भनेँ।'
आमाबुबाले फर्किने बेला अनुरोध गरे — सहरमा जे गर्, घर आउँदा छोरा नै भएर आइज!
त्यसपछि उनी काठमाडौंमा ज्ञानु, गाउँ जाँदा मनोहर (नाम परिवर्तन) भइन्।
अहिले पनि उनी यौन श्रमिकका रूपमा काम गरिरहेकी छन्।
'मेरो स्वर केटाको छ, हुलिया केटीको। त्यसैले कतै काम दिँदैनन्। अरू कामको सीप पनि छैन,' ज्ञानुले भनिन्, 'नत्र बुढेसकालमा सडकमा उभिन रहर छैन।'
तर उनलाई यौन श्रमिकका रूपमा भोग्ने व्यवहारले भन्दा बढी पीडा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई लिएर मानिसहरूले गर्ने व्यवहारले हुन्छ।
'शरीर किन्नेहरूले त आफूले भएजस्तो भएन भने मात्र गाली गर्छन्, रिसाउँछन्। अरू मानिस त हामी छेउ पर्दा पनि हिचकिचाउँछन्। हाम्रो समुदायका मान्छेलाई पनि मानवीय व्यवहार गरिदिए हुन्थ्यो,' उनले भनिन्।