इथियोपियाको अफार क्षेत्रमा आइतबार बिहान विस्फोट भएको ज्वालामुखीको खरानी र धुवाँ भारत हुँदै नेपालसम्म आइपुगेको छ।
करिब १२ हजार वर्षपछि पहिलो पटक विस्फोट भएको हायली गुब्बी ज्वालामुखीबाट खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठूलो बादल बनेको थियो।
त्यो बादल यमन, ओमान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हो।
नेपालको वायुमण्डलमा प्रवेश गरे पनि समुद्री सतहबाट धेरै माथि रहेकाले प्रदूषण बढाएर जनजीवनमा असर पार्ने सम्भावना भने नभएको मौसम विशेषज्ञ विनोद पोखरेलले बताएका छन्।
उनका अनुसार ज्वालामुखीबाट निस्केको खरानी र धुवाँको बादल समुद्री सतहभन्दा १०-१५ किलोमिटर माथि छ।
'इथियोपियामा निक्लेको ज्वालामुखीको खरानी र धुवाँ भारत र नेपालसम्म आए पनि यो समुद्री सतहभन्दा १०-१५ किलोमिटर माथि रहने हुँदा वायु प्रदूषण बढ्ने सम्भावना देखिँदैन,' पोखरेलले सामाजिक सञ्जाल 'एक्स' मा लेखेका छन्।
यो धुवाँ र खरानीयुक्त बादलको असर बुधबारसम्म रहने उनले उल्लेख गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम 'बिबिसी' का जलवायु विशेषज्ञ नवीनसिंह खड्काले पनि यो बादल समुद्री सतहभन्दा धेरै माथि उडिरहेको बताएका छन्।
बिबिसीलाई दिएको अन्तर्वार्तामा उनले हिमालमा ठोक्किएपछि बादलमा रहेका धुलो, खरानी र विभिन्न खनिज पदार्थ हिमाली भेगमा जम्मा हुन सक्ने औंल्याएका छन्। यसले हिमाली क्षेत्रको हिमताल पग्लने क्रममा तीव्रता ल्याउन सक्ने भए पनि यो सम्भावना एकदमै कम भएको उनको भनाइ छ।
'यही ज्वालामुखी दोस्रो पटक पनि विस्फोट भयो भने त्यसबाट आउने खरानी र धुवाँको बादलले फेरि कुन बाटो समात्छ भन्ने हामीले हेर्नुपर्छ,' उनले भनेका छन्।
इथियोपिया ज्वालामुखी विस्फोटपछि बनेको बादलको प्रभावले सोमबार र मंगलबार भारतका हवाई उडानहरू ठूलो संख्यामा प्रभावित भएका थिए।
सोमबार एयर इन्डियाका ७ अन्तर्राष्ट्रिय उडान रद्द भए। न्यूयोर्कबाट दिल्ली, दुबईबाट हैदराबाद, दोहाबाट मुम्बई उडान रद्द भएका थिए।
त्यस्तै, मंगलबार कम्तिमा ४ उडान रद्द गरिएका थिए। चेन्नईबाट मुम्बई, हैदराबादबाट दिल्ली, हैदराबादबाट मुम्बई, मुम्बई–कोलकाता–मुम्बई उडान रद्द भएको एयर इन्डियाले जनाएको छ।
एयरलाइन्सहरूले ज्वालामुखीबाट उठेको बादल हुँदै उडका जहाजहरूको सुरक्षा जाँच गरिरहेको छ।
बिबिसीका अनुसार इथियोपियाको उत्तर–पूर्वी भागमा रहेको यो ज्वालामुखीबाट उठेको धुवाँ १४ किलोमिटर उचाइसम्म पुगेको छ। यसको गति १००–१२० किमी प्रतिघन्टा छ।
यसमा मुख्य रूपले खरानी, सल्फर डाइ–अक्साइड तथा साना सिसा र ढुंगाका कण मिसिएका छन्। यसले आकाश सामान्यभन्दा गाढा र धुम्म देखिन सक्छ। सुरक्षाका लागि उडान ढिलो हुन सक्ने र मार्ग परिवर्तन गर्नुपर्ने अवस्था पनि आउन सक्छ।
भारतमा यो बादल गुजरातको पश्चिमी भाग हुँदै राजस्थान, महाराष्ट्रको उत्तर–पश्चिम, दिल्ली, हरियाणा र पंजाबतिर फैलिएको थियो।