सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएलमा) मंगलबार काठमान्डु गोर्खाजले महत्वपूर्ण जित निकालेको छ।
लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेसँगै काठमान्डुको शीर्ष चारमा परेर प्लेअफ पुग्ने सम्भावना बलियो बन्यो।
पहिले ब्याटिङ गरेको काठमान्डु कुनै बेला संकटमा थियो। टोलीको सात विकेट गइसकेको थियो भने स्कोरबोर्डमा ११७ रन मात्र थियो। यस्तोमा काठमान्डुका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरेर टोलीको स्टोर १५७ सम्म पुर्याए।
केसीले ११ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे। उनले १९औं ओभरमा गरेको आक्रामक ब्याटिङले नै काठमान्डुको स्कोरले गति लियो थियो। यो ओभरमा उनले लुम्बिनीका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानलाई चार छक्का र एक चौका प्रहार गरे। जसका कारण काठमान्डुले एकै ओभरमा ३१ रन जोडेको थियो।
करणकै प्रदर्शन महत्वपूर्ण सावित हुँदा जवाफी ब्याटिङ गरेको लुम्बिनी दबाबमा आयो। जसका कारण लुम्बिनी १३५ रनमै अलआउट हुन पुग्यो। ब्याटिङमा नटआउट ३४ रन जोडेका करणले बलिङतर्फ १ विकेट लिए। जसका कारण उनी खेलको प्लेयर अफ दि म्याच भए।
करणले उत्कृष्ट प्रदर्शन गरेको खेल हेर्न उनकी आमा पनि कीर्तिपुर मैदानमा आएकी थिइन्। आफ्नै आमाको अगाडि उत्कृष्ट प्रदर्शन गरेर प्लेयर अफ दि म्याचको ट्रफी पाएपछि करणको खुसीको सीमा नै रहेन। उनले मैदानमा आफ्नी आमालाई बोलाएर आफूले पाएको ट्रफी दिए। अनि फोटो पोस्ट गरेर सामाजिक सञ्जालमा लेखे- हर सपोर्ट, माइ विन (उहाँको समर्थन, मेरो जित)

खेलपछि काठमाडौंका ओपनिङ ब्याटर आकाश त्रिपाठीले पनि करणको प्रशंसा गर्दै खेल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। करणले यसरी खेल धेरै नै जिताएको उनले बताए।
धेरैपटक बलिङमार्फत् नेपाललाई खेल जिताएका करणले ब्याटमार्फत् आफ्नो टोलीलाई खेल जिताएको यो पहिलो पटक होइन्।
सन् २०१८ मा नेपाललाई एकदिवसीय छनोटमा पुर्याउन क्यानडाविरूद्ध उनले गरेको प्रदर्शन अझै पनि लाखौं नेपाली समर्थकलाई याद छ। क्यानडाविरूद्धको महत्वपूर्ण जितले विश्वकप छनोटमा पुगेको नेपालले पछि एकदिवसीय मान्यता समेत पाएको थियो। यो बाहेक उनले थ्रुपै खेलमा टोली संकटमा परेको बेला ब्याटबाट योगदान दिएका छन्।
करणको ब्याटिङले काठमाडौंलाई राहत
मंगलबार लुम्बिनीलाई २२ रनले पराजित गरेको काठमान्डुलाई राहत भएको छ। उसले चार खेलमा दोस्रो जित निकाल्दै प्लेअफमा पुग्नका लागि राहत पाएको हो।
मंगलबार काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीको मध्यक्रमलाई भने काठमाडौंका बलरले दबाबमा राख्दै खुलेर ब्याटिङ दिएन। जसका कारण मध्यक्रम ब्याटर सस्तैमा आउट भए भने लुम्बिनी १९.१ ओभरमा १३५ रनमा अलआउट भयो।
लुम्बिनीका ओपनरद्वय सन्दीप जोरा ७ रन र डार्शी सट २२ रनमा आउट भए। कप्तान रोहितकुमार पौडेल र गुल्बादिन नइबले ११-११ रन मात्र जोड्न सके।
जोरा दोस्रो ओभरमा र शर्ट चौथो ओभरमा काठमान्डुका मिलिन्द कुमारको बलमा क्याच भएका थिए। अर्को ओभरमा नइबलाई शाहब अलामले इरासमबाट क्याच गराउँदा रोहित आठौं ओभरमा इरासमकै एलबिडब्लूको धरापमा परे।
जेजे स्मित र सुमित महर्जन दुवै जना ११औं ओभरमा आउट हुन पुगेका थिए। स्मितलाई ८ रन बनाएर खेलिरहदा सन्तोष यादवको बलमा शाहबले उत्कृष्ट क्याच गराउदा सुमितलाई शून्यमा पनि शाहबले नै डाइरेक्स हिटमार्फत रनआउट गरे। रुबेल ट्रम्पलम्यान ५ रनमा इरासमसको बलमा रशिद खानबाट क्याच भए।
१६औं ओभरमा दिलीप नाथ आउट भएपछि लुम्बिनी हारतर्फ अघि बढेको थियो। चौथो बलमा करण केसीको बलमा उनी क्याच भए। अघिल्लो बलमा छक्का प्रहार गरेका उनले निकै सुस्त ब्याटिङ गरे। उनले ३३ बलमा १ चौका र १ छक्का प्रहार गर्न सके भने २५ रन बनाए।
लुम्बिनीका लागि अन्तिममा आशा देखाएका शेर मल्लले १८ बलमा २७ रन जोडे। १८औं ओभरमा रनआउट भएका उनले अघिल्लो ओभरमा शाहबलाई लगातार तीन छक्का प्रहार गरेका थिए। अन्तिम विकेटको रुपमा अभिसेष गौतम ४ रनमा आउट भए भने तिलक भण्डारीले नटआउट ६ रन बनाए।
बलिङमा काठमान्डुका मिलिन्द कुमार र इरासमसले २-२ विकेट लिए। करण केसी, शाहब आलम, सन्तोष यादव र रशिद खानले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले कप्तान करण केसीले ११ बलमा १ चौका र ४ छक्काको मद्दतमा नटआउट ३४ रन जोडेपछि ८ विकेटको क्षतिमा १५७ रन जोड्यो।
करण केसीले अन्त्यमा उत्कृष्ट ब्याटिङ गरे पनि काठमान्डुको ओपनिङ खराब रह्यो।
काठमान्डु ओपनिङ ब्याटर बेन चार्ल्सवर्थ डक आउट भए। दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल बलिङ गर्न आएका लुम्बिनीका शेर मल्लले उनलाई गोल्डन डक गरे।
त्यसपछि काठमान्डुले रशिद खानलाई पठायो। रशिद पाँचौं ओभरमा रुबेल ट्रम्पलम्यानको बलमा १४ रनमा क्याच भए। उनले १० बलमा २ चौका प्रहार गरे।
त्यसपछि ओपनर आकाश त्रिपाठी र मिलिन्द कुमारले चौथो विकेटका लागि ३१ रनको साझेदारी गरे। आकाशले शेर मल्लको बलमा डार्शी सटबाट क्याच हुनुअघि ३६ बलमा ३ चौका प्रहार गर्दा ३२ रन बनाए।
१२औं ओभरमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले दुई विकेट लिएपछि काठमान्डु संकटमा पर्यो। रोहितले यो ओभरको दोस्रो बलमा जोन सिमसनलाई ७ रनमा कट एन्ड बाउल्ड गर्दा अन्तिम बलमा मिलिन्द कुमारलाई १७ रनमा विकेट पछाडि शेर मल्लबाट क्याच गराए। मिलिन्दले २० बल खेल्दा १ चौका प्रहार गर्न सके।
लगातार विकेट गुमाएको काठमान्डुका सन्तोष यादवले १६ बलमा २ छक्काको मद्दतमा २६ रन र इरासमसले १५ बलमा २ चौकाको मद्दतमा १७ रन बनाए। सन्तोष १७औं ओभरमा ट्रम्पलम्यान र इरासमस १८औं औभरमा गुल्बादिन नइबको बलमा क्याच भएका थिए।
तर १९औं ओभरमा ट्रम्पलम्यान खर्चिलो सावित भए। उनले यो ओभरमा ३१ रन खर्चिदा काठमान्डुले १५० रन कटाएको थियो।
यो ओभरमा काठमान्डुका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरेर आफ्नो टोलीलाई राहत दिए। करणले पहिलो बलमा छक्का प्रहार गरे। नो बल भएको दोस्रो बलमा चौका, फ्रि हिटमा छक्का, तेस्रो बलमा छक्का, चौथो बलमा एक रन, पाँचौ बलमा आदिल अन्सारीले एक रन र अन्तिम छक्का प्रहार गरे। जसका कारण काठमान्डुलाई राहत मिल्यो।
अन्तिम ओभरको पहिलो बलमा गुल्बादिनको बलमा क्याच भएका आदिल अन्सारीले ४ रन मात्र जोड्न सके। करणले नटआउट ३४ रन जोड्दा १ चौका र ४ छक्का प्रहार गरे।
बलिङमा लुम्बिनीका ट्रम्पलम्यान, शेर मल्ल, गुल्बादिन नइब र रोहित पौडेलले २-२ विकेट लिए।