मौसम पूर्वानुमान महाशाखाले असोज १९ गते त्रयोदशीका दिन मधेस प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने भन्दै 'रेड एलर्ट' जारी गरेको छ।
महाशाखाले असोज १७ देखि १९ गते (एकादशीदेखि त्रयोदशी) सम्मको विवरण सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो।
त्रयोदशीका दिन मधेस प्रदेशका धेरै स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने भनिएको छ। ती स्थान पनि रेड एलर्टमा परेका छन्। (हेर्नुहोस् माथिको तस्बिर)
रेड एलर्टमा परेका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस दिन यी पाँचै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशमा पनि हल्का पानी पर्न सक्ने महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ।
बुलेटिनअनुसार एकादशीको दिनबाट नेपालमा पानी पार्ने मनसुनी वायुको प्रवेश हुनेछ। यसले खासगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ।

असोज १७ गते एकादशीको दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
असोज १८ गते द्वादशीको दिन कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
साथै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
