यसपालिको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि नेपालको मौसम प्रणालीमा पश्चिमी वायुका प्रभाव रहने देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने आकलन छ।
पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भूभागमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशााखाले बताएको छ।
कात्तिक ३ गते लक्ष्मीपूजाका दिन देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।
कात्तिक ४ गते औंसीका दिन देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
कात्तिक ५ गते गोबर्द्धन पूजाका दिन देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना छ।
कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
सबै प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

मनसुन सकिएपछिको पहिलोपटक पश्चिमी वायुको प्रभावले नेपालका केही ठाउँमा तिहारमा वर्षाको सम्भावना रहेको मौसमविद विनोद पोखरेलले पनि बताएका छन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक पोखरेलले पनि पश्चिमी वायु कमजोर नै रहेको बताएका छन्।
'तर केही ठाउँमा वर्षा र काठमाडौंमा चिसो बढाउने सम्भावना चाहिँ बढी छ,' उनले भनेका छन्।