काठमाडौंमा धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
तारकेश्वर नगरपालिका-८ शेषमतिमा किशोरलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार वैशाख ४ गते शेषमतिमा खोटाङका १९ वर्षीय नवराज गिरीलाई अपरिचित ४/५ जनाको समूहले चक्कु प्रहार गरी घाइते बनाएको थियो।
घाइते बनाई फरार हुनेमध्ये गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ घर भई शेषमति बस्ने १८ वर्षीय उज्वल मगरलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो।
उनीमाथि ज्यानमार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।