रातो मच्छिन्द्रनाथको रथमा राखिएको ऐतिहासिक पाता हराएपछि प्रहरीमा उजुरी परेको छ।
रथको अघिल्लो धमामा दायाँ र बायाँ दुवैतर्फ रहने पातामध्ये दायाँतर्फको हराएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार उक्त पाता हराएको भन्ने खबर प्रहरीलाई वैशाख २४ गते प्राप्त भएको हो।
'बाहिर तामा, भित्र फलामको हुने रहेछ। यसपालि रथ बनाउने बेला फेला नपरेको भन्ने कुरा गर्नुभएको छ,' उनले भने, 'वैशाख ८ देखि रथयात्रा सुरू भयो। तर त्योभन्दा अगाडि नै हरायो वा कतै मिसप्लेस भयो वा चोरी भयो भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौं।'
रथयात्रा सुरू हुँदा यो विषय उठेको थिएन। तर रथयात्रा सुरू भएको केही समयपछि अभियानीहरूले रथको उक्त भाग नरहेको भन्दै प्रश्न गरेका थिए।
त्यसपछि गुठी संस्थानले जिल्ला प्रशासन कार्यालय ललितपुरमार्फत खोजी गरिदिन भनेर प्रहरीमा निवेदन दिएको हो।
उक्त पातामा कर्कट नागको जस्तो आकृति देखिन्छ। यसलाई कसैले हिति पनि भन्ने गरेका छन्। त्यो पाता विक्रम सम्बत् १९९६ सालमा जुद्धशमशेर राणाले राखेको बताइन्छ।
