सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा दिइने भएको छ।
सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने भएको हो।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा राखिएको सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उक्त कुरा बताएका हुन्।
साथै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई बधाई दिए।
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा शिखर सगरमाथाको आरोहण गरेकी थिइन्। सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिइन्।
सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पा र सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल नेपालमा पहिलो महिला आरोही हुन्।