केवल एक पटकको उपचारले स्थायी रूपमा कोलेस्ट्रोलको स्तरमा भारी गिरावट ल्याएको वैज्ञानिकहरूले दाबी गरेका छन्।
एउटा सानो र प्रारम्भिक अध्ययनमा जीन-एडिटिङ उपचार अन्तर्गत नशाबाट केवल एक पटक औषधि दिए पछि नै सम्भवतः स्थायी रूपमा कोलेस्ट्रोलको स्तरमा ठूलो गिरावट आएको भनेर द न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनले लेखेको छ।
सो जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार ८५ जना व्यक्तिमा गरिएको सो अध्ययनमा जीन संशोधन गर्न ३५ जना बिरामीमा नशाबाट एक पटक औषधि दिंदा एलडिएल (खराब) कोलेस्ट्रोलको स्तर ६२ प्रतिशतसम्म कम भयो।
विश्व स्वास्थ्य संगठनका अनुसार हृदयघात लगायत मुटु सम्बन्धी रोगका कारण हरेक वर्ष संसारमा झण्डै दुई करोडको मृत्यु हुन्छ।
यदि ठूलो स्तरमा गरिने अध्ययनमा पनि यो पुष्टि भएमा सो संख्यालाई ठूलो मात्रामा गठाउन सकिनेछ।
द न्यूयोर्क टाइम्सका अनुसार सो अध्ययनमा सामेल मध्ये ३५ जना बिरामीमा वंशाणुगत रूपमा उच्च स्तरको एलडिएल कोलेस्ट्रोल थियो। यस उपचारको सबैभन्दा उच्च मात्रा दिइएको ती ३५ जना मध्ये सानो समूहमा १८ महिनासम्म कोलेस्ट्रोलको स्तर नियन्त्रणमा रहेको थियो।
अमेरिकामा जीन थेरापी प्रयोग गरिएको अध्ययनका सबै बिरामीहरूलाई संभावित हानिका लागि १५ वर्षसम्म निगरानीमा राख्नु पर्ने नियम छ।
तर यो उपचारको सफलताका कारण प्रारम्भिक अध्ययनकै प्रतिवेदन सार्वजनिक गरिएको हो। द न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिनले सामान्यतया यस्तो प्रारम्भिक नतिजा प्रकाशन गर्दैन तर यसले निकै राम्रोसँग काम गरिरहेकाले प्रकाशित गरिएको जर्नलका प्रधान सम्पादक डा एरिक रुबिनले भने।
अबको अध्ययनमा २०० बिरामीमा यो उपचार विधि प्रयोग गरिने टाइम्सले जनाएको छ।
कसरी गर्छ यो विधिले काम?
रगतमा रहेको एलडिएल कोलेस्ट्रोललाई कलेजोमा रहेका कोशिकाले तानेर कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्छ। कलेजोका कोशिकामा रहेको ‘एलडिएल रिसेप्टरले’ रगतमा रहेको एलडिएल कोलेस्ट्रोललाई निकाल्ने काम गर्छ। तर उच्च कोलेस्ट्रोलको समस्या हुने व्यक्तिको कलेजोले ‘पिसिएसके ९’ भन्ने प्रोटिन बनाउँछ। यो प्रोटिन एलडिएल रिसेप्टरमा टाँसिन्छ। यस कारणले रगतबाट एलडिएल कोलेस्ट्रोल तान्ने प्रक्रियामा समस्या आउँछ।
यहाँ चर्चा गरिएको जीन एडिटिङ उपचार विधिमा सो प्रोटिनको नियमन गर्ने पिसिएसके ९ जीनमा सम्पादन गरेर प्रोटिन बनाउने प्रक्रियालाई रोकिन्छ।
परीक्षणमा सहभागी बिरामीहरूको जीन एडिटिङ गर्नका लागि बोसोको आवरणले बेरिएको एउटा सानो ‘मोलिक्युल’ नशाबाट दिइएको थियो। रगतको माध्यमबाट कलेजोमा पुगेपछि त्यहाँका कोषिकाहरूले बोसोको आवरण हटाइदिन्छन्। त्यसपछि त्यो एडिटिङ गर्ने वस्तु कलेजोको कोषिकाको डीएनएमा रहेको ‘पिसिएसके ९’ जीनमा पुग्छ। त्यहाँ पुगेपछि त्यसले सो जीनमा रहेको एउटा डीएनए अक्षरलाई मेटेर त्यसको ठाउँमा अर्को अक्षर राखिदिन्छ।
त्यो सामान्य परिवर्तनले सो जीनलाई निष्क्रिय बनाउँछ र कोषिकाहरूलाई ‘पिसिएसके ९’ प्रोटिन बनाउनबाट रोक्छ। यो प्रोटिन नभएपछि, एलडिएल रिसेप्टरले रगतमा रहेको बढी एलडिएल कोलेस्ट्रोल रगतबाट बाहिर तान्छ। जसले गर्दा यसको स्तर कम रहन्छ र मुटु सम्बन्धी रोगहरू लाग्नबाट बचाउँछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)