धितोपत्र बोर्डले पछिल्ला दुई दिनमा दुईवटा कम्पनीको प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति दिएको छ।
आवेदन दिएको करिब २० महिनापछि कान्तिपुर फार्मास्युटिकल्स ल्याब लिमिटेड र आशुतोष इनर्जी लिमिटेडले आइपिओ निष्कासनको अनुमति पाएका हुन्।
बिहीबार अनुमति पाएको कान्तिपुर फार्मास्युटिकल्सले २०८१ फागुन १९ गते बोर्डमा आवेदन दिएको थियो। यो कम्पनीलाई १७ करोड रूपैयाँ बराबरको आइपिओ निष्कासन गर्न अनुमति दिइएको बोर्डले जनाएको छ।
यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १७ लाख कित्ता सेयर निष्कासन गर्न पाउने छ। यो कम्पनीको जारी पुँजीको २१.२५ प्रतिशत हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, २०८१ जेठ २१ गते आवेदन दिएको आशुतोष इनर्जी लिमिटेडलाई १२ करोड रूपैयाँ बराबरको आइपिओ निष्कासन गर्न शुक्रबार अनुमति दिइएको छ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले १२ लाख कित्ता सेयर निष्कासन गर्ने छ। यो कम्पनीको जारी पुँजीको २० प्रतिशत हो। यसको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
दुई दिनको अन्तरमा दुई कम्पनीले अनुमति पाए पनि आइपिओ निष्कासन गर्न बोर्डको स्वीकृति पर्खिरहेका कम्पनीहरूको सूची लामो छ।
बोर्डले सोमबार सार्वजनिक गरेको अभिलेख अनुसार कान्तिपुर फार्मास्युटिकल्स र आशुतोष इनर्जीसहित ११९ कम्पनीले आइपिओ निष्कासनका लागि अनुमति मागेका थिए। ती कम्पनीले कुल ५१ करोड २२ लाख १६ हजार ५४६ कित्ता सेयर निष्कासन गरेर ७१ अर्ब ५० करोड रूपैयाँभन्दा बढी जुटाउने प्रस्ताव गरेका छन्।
दुई कम्पनीले अनुमति पाएपछि अब पालो पर्खिरहेका कम्पनीहरू ११७ वटा छन्।
आवेदन दिएकामध्ये ७८ कम्पनीका प्रस्ताव अझै पहिलो चरणमै छन्। अर्थात्, झन्डै दुईतिहाइ कम्पनीका आवेदन प्राप्त भएको चरणबाट अघि बढेका छैनन्। यसमध्ये केहीले तीन वर्षअघि नै आवेदन दिएका थिए।
पछिल्लो समय आइपिओका लागि आवेदन दिएका कम्पनीको प्रक्रिया कहाँ पुगेको छ भन्ने जिज्ञासा र गुनासो बढेको थियो। यही बेला आइपिओ निष्कासनका लागि आवेदन दिएका कम्पनीको प्रक्रियागत अवस्था सार्वजनिक गरिएको हो। बोर्डले यसअघि यस्तो अभिलेख सार्वजनिक गरेको थिएन।
यस्तो अभिलेखले आवेदक कम्पनीदेखि सरोकारवाला सबैलाई कुन कम्पनी कुन चरणमा छ भन्ने जानकारी दिने भएकाले वास्तविक अवस्था बुझ्न सहज हुने बोर्डका उपकार्यकारी निर्देशक तथा प्रवक्ता निरञ्जय घिमिरेले बताए।
'कुनै पनि कम्पनीको आवेदन आउँदैमा वा कागजात प्राप्त हुँदैमा तत्काल स्वीकृति दिने भन्ने हुँदैन। प्राप्त कागजातको अध्ययन तथा समीक्षा गर्नुपर्ने हुन्छ। त्यसका लागि सम्बन्धित शाखा, महाशाखा र विभागबाट कागजातको अध्ययन गरिन्छ। नियमित अध्ययन तथा समीक्षा हुन्छ। सबै प्रक्रिया पूरा भएपछि स्वीकृतिका लागि बोर्डमा पेस हुन्छ। बोर्डले पास गरेपछि मात्रै स्वीकृति पाउने हो,' उनले भने, 'यो सबै काममा आवश्यक समय लागिहाल्छ।'
बोर्डले कम्पनीहरूबाट आएका आवेदनलाई प्रक्रियागत अवस्थाका आधारमा ६ चरणमा वर्गीकरण गरेको छ।
पहिलो चरणमा ७८ वटा कम्पनी छन् भने दोस्रोमा ६, तेस्रोमा ४, चौथोमा २० र पाँचौंमा ९ वटा कम्पनी छन्।
कान्तिपुर फार्मास्युटिकल्स र आशुतोष इनर्जीले अनुमति पाइसकेकाले अब छैटौं चरणमा कुनै पनि कम्पनी छैन।
बोर्डका अनुसार आवेदनलाई यसरी विभिन्न चरणमा छुट्ट्याउनुको उद्देश्य कुन कम्पनीको फाइल कहाँ पुगेको छ भन्ने जानकारी दिनु हो।
यी चरण स्वीकृतिका तह वा अनुमति पाउने निश्चित क्रम मात्रै होइनन्। कम्पनीले कागजात बुझाउने, बोर्डले अध्ययन गर्ने, कैफियत पठाउने र जबाफ परीक्षण गर्ने क्रममा फाइल कुन अवस्थामा छ भन्ने आधारमा यसको वर्गीकरण गरिएको हो।
पहिलो चरण – आवेदन प्राप्त
पहिलो चरणमा हाल ७८ कम्पनीका आवेदन छन्।
यस चरणमा कम्पनीले आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन पेस गरेका हुन्छन्। तर आवेदनसँगै आवश्यक पर्ने सबै विवरण, कागजात वा अद्यावधिक प्रतिवेदन प्राप्त भइसकेका नहुन सक्छन्। त्यसैले आवेदन दर्ता भएकै आधारमा बोर्डले त्यसको पूर्ण अध्ययन सुरू गरिसकेको मानिँदैन।
यो चरणमा रहेका ७८ कम्पनीले मात्रै ४० अर्ब ५६ करोड रूपैयाँभन्दा बढीको आइपिओ निष्कासन प्रस्ताव गरेका छन्। यो कुल प्रस्तावित रकमको करिब ५७ प्रतिशत हो।
दोस्रो चरण – प्रारम्भिक अध्ययन
दोस्रो चरणमा ६ कम्पनीका आवेदन छन्। यस चरणमा बोर्डले प्राप्त आवेदन र कागजातको प्रारम्भिक अध्ययन सुरू गरेको हुन्छ।
यसमा कम्पनीको वित्तीय अवस्था, पुँजी, आम्दानी, खुद सम्पत्ति, निष्कासनको प्रस्ताव र आवश्यक कानुनी मापदण्ड पूरा भए–नभएको हेरिन्छ।
तेस्रो चरण – कैफियत पठाइएको
प्रारम्भिक अध्ययन क्रममा कुनै विवरण अपुग देखिए, थप स्पष्ट पार्नुपर्ने भए वा कागजात सच्याउनुपर्ने अवस्था आए बोर्डले सम्बन्धित कम्पनी वा निष्कासन तथा बिक्री प्रबन्धकलाई टिप्पणी पठाउँछ।
यसलाई तेस्रो चरण भनिएको छ। यो चरणमा चार कम्पनी छन्।
चौथो चरण – जबाफ प्राप्त
बोर्डले पठाएको टिप्पणीको जबाफ कम्पनीबाट प्राप्त भएपछि आवेदन चौथो चरणमा पुग्छ। यस चरणमा २० कम्पनी छन्।
कम्पनीले बोर्डले उठाएका प्रश्नको जबाफ, संशोधित विवरणपत्र तथा आवश्यक अद्यावधिक कागजात निष्कासन तथा बिक्री प्रबन्धकमार्फत बुझाएको हुन्छ।
तर जबाफ प्राप्त हुँदैमा बोर्डको अध्ययन सकिएको हुँदैन।
कम्पनीले दिएको जबाफ पर्याप्त छ कि छैन र माग गरिएका सबै विवरण पूरा भएका छन् कि छैनन् भन्ने परीक्षण बाँकी नै रहन्छ।
पाँचौं चरण – जबाफमाथि समीक्षा
पाँचौं चरणमा ९ कम्पनीका आवेदन छन्। यस चरणमा बोर्डले कम्पनीले पठाएको जबाफ, संशोधित विवरणपत्र र थप कागजातको अध्ययन गरिरहेको हुन्छ।
बोर्डले पहिले उठाएका प्रश्न सम्बोधन भए कि भएनन् र वित्तीय तथा कानुनी मापदण्ड पूरा भए कि भएनन् भन्ने जाँच यही चरणमा हुन्छ।
बोर्डका अधिकारीका अनुसार आवेदनको अध्ययन गर्दा प्राप्त भएको क्रमलाई पनि ध्यान दिइन्छ। पहिले आएको आवेदनलाई पहिले हेर्ने अभ्यास भए पनि कम्पनीले आवश्यक मापदण्ड पूरा गरेको हुनुपर्छ।
आवेदन पुरानो छ भन्दैमा त्यसलाई स्वतः स्वीकृतिका लागि योग्य मानिँदैन।
छैटौं चरण – अन्तिम समीक्षा
यस अवस्थामा आवेदनसँग सम्बन्धित कागजात र विवरणको मुख्य अध्ययन तथा परीक्षण भइसकेको हुन्छ। अन्तिम टिप्पणी तयार गरी निर्णयका लागि कम्पनी बोर्डमा पेस गर्ने प्रक्रिया अघि बढ्छ।
अन्तिम समीक्षामा पुगेको फाइलमा पनि थप विवरण वा स्पष्टीकरण आवश्यक देखिए बोर्डले पुनः माग गर्न सक्छ। त्यसैले अन्तिम चरणमा पुग्नु भनेको अनुमति पाइसक्नु होइन। निर्णय हुनुअघिको अन्तिम परीक्षणमा हुनु हो।
बोर्डका अनुसार आइपिओ स्वीकृतिको प्रक्रिया कम्पनीले आवेदन दिएको मिति र कागजात प्राप्त भएको आधारमा मात्रै टुंगिँदैन। कम्पनीले बुझाएका कागजातमा उल्लेख भएका विवरण पनि रूजु गर्नुपर्छ।
कम्पनीको खुद सम्पत्ति, वित्तीय अवस्था, आम्दानी, दायित्व र अन्य नियामकीय मापदण्ड पूरा भए–नभएको परीक्षण गर्नुपर्ने हुन्छ। कुनै कम्पनीको वित्तीय सूचकमा परिवर्तन आएको हुन सक्छ।
आवेदन दिएपछि अद्यावधिक वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदन आवश्यक पर्न सक्छ। पहिले बुझाएको विवरणको अवस्था परिवर्तन भएको भए त्यसलाई फेरि परीक्षण गर्नुपर्ने हुन्छ।
निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पनि यसमा जोडिन्छ।
उनीहरूले कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्थाको परीक्षण गरी अनुपालना प्रतिवेदन तयार गर्नुपर्छ। बोर्डले मागेका कागजात पूरा गराउनु र कम्पनीले मापदण्ड पूरा गरेको सुनिश्चित गर्नु उनीहरूको पनि दायित्व हो।
कम्पनीले बोर्डको टिप्पणीको जबाफ दिन ढिलाइ गर्दा पनि प्रक्रिया लम्बिन्छ। कतिपय अवस्थामा कम्पनीको वित्तीय अवस्था वा व्यवस्थापनमा आएको परिवर्तनका कारण थप विवरण माग्नुपर्ने हुन्छ।
त्यसैले सबै आवेदन लामो समयसम्म एउटै चरणमा रहनुको कारण बोर्डको आन्तरिक ढिलाइ मात्रै हो भन्न नमिल्ने बोर्डका एक अधिकारीले बताए।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले केही समयअघि प्रतिनिधिसभाको अर्थ समितिमा आइपिओ स्वीकृति प्रक्रिया व्यवस्थित बनाउन कार्यसञ्चालन कार्यविधि (एसओपी) बनाउने र प्रत्येक तहको जिम्मेवारी स्पष्ट पार्ने बताएका थिए।
कुन तहले के काम गर्ने, फाइल कति समयभित्र अघि बढाउने र जिम्मेवारी कसको हुने भन्ने व्यवस्था कार्यविधिमा राख्ने उनको भनाइ थियो।
बोर्डका ती अधिकारीका अनुसार एसओपी स्वीकृत भइसकेको छ र अनौपचारिक रूपमा कार्यान्वयनमा पनि आएको छ।
यसले फाइल अध्ययन गर्ने प्रत्येक तहका कर्मचारी तथा अधिकारीको जिम्मेवारी स्पष्ट पार्ने उद्देश्य राखेको छ। यसबाट फाइल एउटै तहमा अनावश्यक रूपमा लामो समयसम्म रोकिन नदिन सहयोग पुग्ने बोर्डको अपेक्षा छ।
पहिलो चरणमा भएका कम्पनी
मारूती सिमेन्ट्स, नेपाल ब्रोडकास्टिङ च्यानल, कैलाश हेलिकप्टर सर्भिसेज, शिवम् होल्डिङ्स, छाया देवी कम्प्लेक्स, ऋद्धिसिद्धि सिमेन्ट, अम्बे स्टिल्स, स्टार माइक्रो इन्स्योरेन्स, सेन्चुरी इनर्जी, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स।
नुम्बुर हिमालय हाइड्रोपावर, युनाइटेड मेवा खोला हाइड्रोपावर, मेडिकेयर हस्पिटल, मेवा डेभलपर्स, प्रभु हेलिकप्टर, माउन्टेन ग्लोरी, म्याग्दी हाइड्रोपावर, एलसी इनर्जी, सोलार फार्म, झ्यामोलोङ्मा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी।
अर्बिट इनर्जी, शिवशंकर हाइड्रो इन्भेस्टमेन्ट, हुलास इन्फ्रा, भिजन इनर्जी एन्ड पावर, ह्वाइट लोटस पावर, मौलाकाली केबलकार, केबी एग्रो एन्ड रिसर्च, निविक्स फार्मास्युटिकल्स, इलेक्ट्रो पावर, सारथी केबल इन्डस्ट्रिज, काबेली हाइड्रोपावर, नगरकोट रिसोर्ट, होटल साब्रिना, स्वर्णिम होटल, हुलास फिनसर्भ हायर पर्चेज।
श्री एयरलाइन्स, सुप्रिम हेल्थकेयर, एसियन ब्याट्रीज, हुलास आइरन इन्डस्ट्रिज, दूधपोखरी चेपे हाइड्रोपावर, होटल इच्छा, अतिथि रिसोर्ट एन्ड स्पा, एसियन होटल, होटल पार्क ल्यान्ड, संयुक्त ऊर्जा, ग्लोबल हाइड्रोपावर एसोसिएट, भेन्चर हायर पर्चेज, पशुपति रिन्युबल्स, इस्टर्न सहारा कम्पनी र बुढानीलकण्ठ हेरिटेज।
सभापोखरी हाइड्रोपावर, नेसनल बायोटेक, शान्ता प्लाइउड, भगवती स्टिल इन्डस्ट्रिज, एसियन कन्क्रिटो, डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस, केटिएम हस्पिटालिटी, राजेश मेटल क्राफ्ट्स, अन्नपूर्ण माछा दाना उद्योग, युवरानी एग्रो इन्डस्ट्रिज, सुपर हेवा पावर, रघुगंगा हाइड्रोपावर, प्रिमियर डिस्टिलरी, इन्द्रेणी मसरूम फार्म, मकरीगाड हाइड्रोपावर।
टिम भेन्चर्स, मध्यपुर अस्पताल, टाइम फार्मास्युटिकल्स, कालिन्चोक इन्भेस्टमेन्ट, नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स, वैदिक इन्भेस्टमेन्ट, सौर्य कृषि, साशा इन्जिनियरिङ हाइड्रोपावर, पिस इनर्जी कम्पनी, युनिटेक हाइड्रोपावर कम्पनी, होटल सिराइचुली, मुनलाइट हाइड्रोपावर कम्पनी र टेनएक्स हाइड्रो होल्डिङ।
दोस्रो चरणमा भएका कम्पनी
एपेक्स मकालु हाइड्रोपावर, गौरीशंकर पावर डेभलपमेन्ट, श्री डिस्टिलरी, अकामा होटल, जिआई सोलार र वर्णवास म्युजियम होटल लिमिटेड।
तेस्रो चरणमा भएका कम्पनी
सानिमा हाइड्रोपावर, महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट र जास्मिन पेन्ट्स लिमिटेड।
चौथो चरणमा भएका कम्पनी
डिस मिडिया नेटवर्क, एपेक्स हस्पिटालिटी, जगदम्बा स्टिल्स, एचएएमएस अस्पताल, शौर्य सिमेन्ट इन्डस्ट्रिज, बरूण इन्भेस्टमेन्ट, लोअर इर्खुवा हाइड्रोपावर, सिड इनर्जी, लक्ष्मी टेक्नोप्लास्ट, बिग एग्रो ग्रूप, पुवा खोला–वान हाइड्रोपावर, निलगिरि खोला हाइड्रोपावर, पिपुल्स इनर्जी, भूगर्भ सिमेन्ट, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, चम्पावती हाइड्रोपावर, थामेल प्लाजा होटल एन्ड स्विट्स, आरती पावर कम्पनी, दाउन्ने एग्रो फार्म र गोदावरी स्टिल लिमिटेड।
पाँचौं चरणमा भएका कम्पनी
आइएमई, रिचेत जलविद्युत, अन्नपूर्ण केबलकार, हिम रिभर पावर, सिउरी न्यादी पावर, हिल्टन हाइड्रो इनर्जी, म्याडम खोला हाइड्रोपावर, ह्याबिट्याट पावर र एनसी एग्रो टेक इन्डस्ट्रिज लिमिटेड।
छैटौं चरणमा भएका कम्पनी
कान्तिपुर फार्मास्युटिकल्स र आशुतोष इनर्जीले आइपिओ निष्कासनको अनुमति पाएपछि अहिले यो चरणमा कुनै पनि कम्पनी छैन।
***