नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ।
यो प्रकरणमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यालयमा हिजो पत्रकार सम्मेलन गरेर सबै विषयवस्तु विस्तारमा राखिसक्नुभएको छ।
त्यसको सार दुईवटा छ।
पहिलो, यो बदनियतका साथ चलाइएको हल्ला हो। यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौं।
दोस्रो, नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्व सबै खालको अनुसन्धानका लागि तयार छ।
यति कुरा पार्टीका उपसभापतिले बोलिसकेपछि मैले नबोले पनि हुने हो। तर केही विषयमा मलाई आफैले सीधै संवाद गर्नुपर्छ भन्ने लाग्छ। त्यसैले यो सन्दर्भमा पनि मैले एउटा सानो भिडिओ बनाएको छु।
फिक्सर (बिचौलिया) इनम सापकोटा, जो अहिले प्रहरी अनुसन्धानका लागि हिरासतमा छन्, उनको भनेर एउटा अडिओ बाहिर आएको छ। त्यो अडिओमा मेरो बारेमा केही कुरा सुनिएको छ भनेर। तर त्यो अडिओ कहाँ बोलेको, कसले बोलेको, किन बोलेको, कहिले बोलेको, थाहा छैन।
बोलिएको हो कि बोलाइएको हो, त्यो पनि थाहा छैन।
मलाई यतातिर अलि चासो पनि छैन। किनकि यो समग्र कुरामा एकपछि अर्को पोलहरू पक्कै पनि खुल्दै जालान्। जानु पनि पर्छ।
तर एउटा कुरा स्पष्ट बनाउँछु।
नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन भनेको विद्रोह हो। भदौ २३ र २४ गते नवयुवाले विद्रोह गरे। त्यो विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तन चाहिन्छ भनेर हामीले कोसिस गर्यौं। त्यसको प्रतिरोध भयो।
त्यसैले पार्टीका भुइँ तहका कार्यकर्ताहरूले गरेको विद्रोहमा हामी मिसिएका हौं।
विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ? के होला भनेर सोच्छ? सोच्दैन।
करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिकताको राजनीतिक र कानुनी लडाइँमा रूपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन।
फिक्सर इनम सापकोटाको अडिओ भनेर बजारमा आएको कुरामा हाम्रो बारेमा यस्तो सुनिएको रे भन्ने विषयमा हामीले सार्वजनिक रूपमा उत्तर दिनु नै नपर्ने हो। तर यति कुरा भन्यौं, अब सकियो।
अब प्रश्न हामीलाई सोध्ने होइन। प्रश्न जहाँ सोध्नुपर्ने हो, त्यहाँ सोध्ने।
फिक्सर इनम सापकोटा अहिले प्रहरी अनुसन्धानका लागि हिरासतमा छन्। त्यहाँ सोध्ने प्रश्न हो। अनुसन्धान निष्पक्ष भयो कि भएन भनेर हेर्ने। यसमा को–को जोडिन्छन्, ती सबै कुरा खोतल्ने।
प्रेसको पनि यही जिम्मेवारी हो र अरू चासो राख्नेहरूको पनि यही जिम्मेवारी हो।
जब राम्रोसँग अनुसन्धान हुन्छ, निष्पक्ष अनुसन्धान हुन्छ, दूधको दूध, पानीको पानी मज्जाले छुटिन्छ।
हामी त्यसकै प्रतीक्षामा छौं।
अर्को एउटा प्रसंग पनि छ।
अडिओमा हाम्रो बारेमा केही कुराहरू आए। त्यस कारण हामी हतार हतार डराएर पार्टीका नेताहरू भेट्न थाल्यौं। राति बसेर अनेकौं कुराहरू गर्न थाल्यौं भन्ने कुरा पनि आएको छ। अरे बाबा! मैले त भन्दै आएको छु, म तर्सिने जिनिसै होइन। तर्सिने बानी नै परेको छैन।
म नेपाली कांग्रेस पार्टीको सभापति छु। मेरो पार्टी सभापतिका रूपमा केही जिम्मेवारी छन्। मधेस प्रदेशको सरकार नेपाली कांग्रेसको छ। अबको पाँच–सात दिनभित्र विश्वासको मत लिनुपर्ने छ। अरू राजनीतिक दलसँग संवाद गर्नुपर्ने छ।
प्रचण्डलाई केही दिनअगाडि भेटेँ। त्योभन्दा पहिला उपेन्द्र यादवजीलाई भेटेँ। त्यही सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीलाई भेटेँ।
सकियो।
कुनै कुरा सरकारका बारेमा लुकेर गर्नुपर्ने नै छैन। जे गर्ने हो, खुला गर्ने हो।
हामीले अस्ति पार्टी केन्द्रीय कार्यालयमा प्रेसलाई बोलाएर खुला भनिसक्यौं। यो सरकार पाँच वर्षका लागि आएको हो। पाँच वर्षको जनादेश छ। त्यसलाई हामी सम्मान गर्छौं। तर सरकारले सही कुरामा ध्यान केन्द्रित गरोस्।
आज यत्रो विपत्ति भएको छ। यति धेरै मानिसहरू घरबारविहीन भएका छन्। तिनको पुनर्स्थापना कसरी गर्ने?
सुकुम्बासीहरू घरटहरा छाडेर खुलामा बसेको कति समय भयो। उनीहरूको पुनर्स्थापना कसरी गर्ने?
सबभन्दा ठूलो कुरा अर्थतन्त्र छ। खोइ रोजगारी? खोइ लगानी? जताततै बर्बाद हुँदै गएको छ। सबै डरले थुरथुर भएको अवस्था छ।
यसलाई सम्हाल्ने कसरी हो?
सम्हाल्ने कुरामा हामीले सरकारको ध्यानाकर्षण पनि गराएका छौं। हाम्रो साथ र सहयोग रहन्छ। जहाँ गल्ती गर्छ, त्यहाँ हाम्रो प्रश्न रहन्छ भनेर भनेका छौं। तर लोकतान्त्रिक अधिकारलाई खुम्च्याउने कुरा, हाम्रा संस्थाहरूलाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौं।
बोल्छौं। प्रश्न गर्छौं।
पर्यो भने प्रतिवाद गर्छौं।
किनकि त्यो हाम्रो जिम्मेवारी हो।
खुला भनिरहेका छौं। लुकेर भन्नुपर्ने कुरा केही पनि छैन।
हामीले जतिखेर सरकारमाथि प्रश्न उठायौं, ठ्याक्कै त्यही बेलाबाट एउटा नियोजित भाष्य निर्माण गर्न थालिएको छ। के यसले हामीले प्रश्न गर्ने कुरा बन्द हुन्छ?
हुँदैन।
ठिक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन। गलत कुरालाई प्रश्न गर्ने र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन।
अन्तिममा एउटा कुरा भन्छु।
म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
मैले सधैं भन्दै आएको छु। मेरो हातमा दाग छैन। मनमा कुनै कालो छैन। मेरो हात सफा छ। माई ह्यान्ड्स आर क्लिन।
यति नभए लड्ने आँट आउँथ्यो?
म त आज मात्र होइन, योभन्दा पहिला पनि अझै बलियो सत्ता भएको बेला, सत्ताले गलत गरेको बेला त्योसँग लड्दै आएको छु। प्रश्न गर्दै आएको छु। आफ्नै पार्टीको सरकार हुँदा पनि गलत भएको बेला बोल्न छाडिनँ।
बोल्ने आँट कहाँबाट आउँछ?
म कतै कमजोर भएको भए, मेरो स्वच्छता, इमानदारिता, मेरो नैतिकतामा कहीँकतै सम्झौता भएको भए त्यो बोल्ने आँट आउँछ?
आउँदैन।
जब–जब मैले बलियो सत्तासँग प्रश्न गरेको छु, लडेको छु, यस्ता कुनै न कुनै प्रायोजित भाष्य मेरो वरिपरि निर्माण गरिएका छन्।
कहिले यो भयो, कहिले त्यो भयो। व्यापक रूपमा मेरो चरित्रमाथि प्रश्न गरिएको छ।
तर म प्रत्येकबाट लडेर आएँ नि! म प्रत्येकबाट बाँचेर आएँ नि! म डराइनँ नि!
किन थाहा छ?
तपाईंको शुभेच्छा, आशीर्वाद आफ्नो ठाउँमा छ।
तर सबैभन्दा ठूलो कुरा मेरो नैतिक बल हो। यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु। म स्वच्छ छु। म ठिक ठाउँमा उभिएको छु।
त्यसैले ढुक्क रहनुस्।
मलाई माया गर्ने सबै साथीहरू ढुक्क रहनुस्।
तपाईंको भाइ, तपाईंको दाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको पार्टी सभापति गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
त्यसैले तपाईं मेरो बारेमा जिम्मा लिएर बोल्न सक्नुहुन्छ। मेरो बारेमा जिम्मा लिएर भन्न सक्नुहुन्छ, गगन थापाबाट कुनै गलत, अनैतिक काम भएको छैन।
हुन सक्दैन।
कति साथीहरू भन्नुहुन्छ, यो होला, त्यो होला। ती कुनै कुराको चिन्ता लिएर आफ्नो जिम्मेवारी पूरा गर्ने होइन। आफ्नो जिम्मेवारी पूरा गर्दै जाने हो। जे पर्छ, त्यो बेहोर्ने हो।
खाली एउटा कुरा अन्तिममा अनुरोध गर्छु। यत्रो प्रायोजित हल्लाहरूका बीचमा सही प्रश्न मर्नु हुँदैन। प्रश्न मर्यो भने लोकतन्त्र सकिन्छ।
लोकतन्त्र मात्र होइन, हाम्रो प्रगति पनि सकिन्छ।
आजको सबभन्दा मूल प्रश्न भनेकै के हामी प्रश्नहरूलाई बचाउन सक्छौं भन्ने हो।
आजको प्रश्न नै यही हो।
सबैको ध्यान यसमा जाओस्।
धन्यवाद।
जय नेपाल।
(नेपाली कांग्रेसका सभापति गगन थापाले बिहीबार जारी गरेको भिडिओ सन्देशको पूर्ण पाठ)