कविता
आउनू तिमी कुनै दिन
रहरका इन्द्रेणी लिएर आउनू
म सपनाका जुनतारा लिएर आउँला
अनि मिलेर हामी
अनुभूतिका बेग्लै आकाश बनाउँला
त्यसमा
आशा र उमङ्गका सितारा जडौंला
दुःखका काला बादलहरू पन्छाउला
तर प्रिय! कुनै दिन
कुनै क्षितिजमा पुगेर
हाम्रो त्यो आकाश खुम्चिन पनि सक्छ
हामी उभिने धरातल फेरिन पनि सक्छ
तथापि प्रिय!
सफरमा बाटो त काट्नै पर्छ
यात्राका जँघारहरू तरेर जानै पर्छ
त्यति बेला हामीले
मायाका चोटहरू बिर्सिनै पर्छ
मोहका घाउहरू कुल्चिनै पर्छ
त्यसैले
त्यो अलग यात्रामा तिमी
कहिल्यै पछाडि नफर्किनू
नअल्झिनू, नकल्पिनू, न तड्पिनू
आशक्तिका दहहरू नाघ्दै नाघ्दै जानू
बग्दै बग्दै जीवन धारामा
तिमी चुपचाप अनन्तसम्म पुग्नू
जहाँ पुगेर हाम्रा
अस्तित्वका सबै भेदहरू मेटिने छन्
अनुभूतिका सबै सकसहरू हराउने छन्
केवल
शाश्वत, शुद्ध र निर्विकार शान्ति भेटिने छ।