नेपालमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको विस्तार हुँदै गर्दा नयाँ संस्था स्थापना गर्नु मात्र होइन, तिनलाई सबल र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्नु हाम्रो प्रमुख प्राथमिकता हुनुपर्छ।
नेपालले विगत केही दशकमा चिकित्सा शिक्षाको विस्तारमा उल्लेखनीय प्रगति गरेको छ। मेडिकल कलेज, शिक्षण अस्पताल, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको स्थापनाले देशभित्रै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने नयाँ अवसरहरू सिर्जना गरेको छ।
गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र दक्ष स्वास्थ्य जनशक्तिको उपलब्धता अझै चुनौतीपूर्ण रहेको हाम्रो जस्तो देशका लागि यो विस्तार विशेष महत्त्वपूर्ण छ।
पछिल्ला वर्षहरूमा नेपाल सरकारले विभिन्न प्रदेशमा स्वायत्त शैक्षिक स्वास्थ्य संस्थाहरू स्थापना गर्न विशेष प्राथमिकता दिएको छ।
२०४९ सालमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनासँगै नेपालमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको विस्तार सुरू भएको हो। त्यसपछि २०५९ सालमा अध्यादेशमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना प्रक्रिया अघि बढ्यो र २०६३ सालमा यस सम्बन्धी ऐन जारी भयो।
२०६४ सालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन जारी भई २०६५ सालमा प्रतिष्ठान स्थापना भयो। त्यसपछि २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, २०७२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र २०७४ सालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भए।
प्रादेशिक स्तरमा २०७५ सालमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र २०७७ सालमा स्थापित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरले पनि शैक्षिक अवसर विस्तार गर्ने प्रयासलाई अघि बढाएका छन्।
यसैगरी, सुदूरपश्चिमको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी ऐन २०८२ सालमा जारी हुनु चिकित्सा शिक्षाको विस्तारतर्फको अर्को महत्त्वपूर्ण कदम हो।
यी विकासक्रमले राष्ट्रको सकारात्मक प्रतिबद्धता झल्काउँछन्।
तथापि, एउटा महत्त्वपूर्ण प्रश्नमा गम्भीर विचार गर्न आवश्यक छ— के हामी यी संस्थाहरूलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न पर्याप्त रूपमा तयार छौं, वा दीर्घकालीन शैक्षिक दिगोपनभन्दा संस्था स्थापनालाई बढी प्राथमिकता दिइरहेका छौं?
प्रतिष्ठान स्थापना गर्नु सुरूआत मात्र हो
कुनै संस्थालाई प्रतिष्ठान घोषणा गर्दैमा वा संसदबाट ऐन पारित गरी स्थापना गर्दैमा त्यो स्वतः उत्कृष्ट शैक्षिक केन्द्र बन्न सक्दैन। संस्थागत विकासका लागि वर्षौंको प्रतिबद्धता, पर्याप्त लगानी, योग्य जनशक्ति, भौतिक पूर्वाधार र प्रभावकारी नेतृत्व आवश्यक हुन्छ।
प्रत्येक नयाँ प्रतिष्ठानसँग स्पष्ट शैक्षिक तथा भौतिक पूर्वाधार विकास रणनीति हुनुपर्छ। पर्याप्त आर्थिक स्रोत, शिक्षक/प्राध्यापक, शिक्षण अस्पताल, आधुनिक लेक्चर हल, सेमिनार हल, प्रयोगशाला, आधुनिक उपकरण, पुस्तकालय, सभाकक्ष, छात्रावास, खेलमैदान, कर्मचारी आवासगृह र अन्य आवश्यक सुविधाहरू सुनिश्चित भएपछि मात्र शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ।
यी आवश्यकताहरू पूरा नगरी कार्यक्रम सञ्चालन गर्दा विद्यार्थी भर्ना सम्भव हुन सक्ला, तर शिक्षाको गुणस्तर सुनिश्चित हुन सक्दैन।
त्यसैले शैक्षिक कार्यक्रम विस्तार गर्नुअघि संस्थागत तयारीलाई प्राथमिकता दिनुपर्छ।
शैक्षिक उत्कृष्टताको आधार – दक्ष शिक्षक
चिकित्सा शिक्षाका लागि योग्य र अनुभवी शिक्षकहरूको उपलब्धता सबभन्दा महत्त्वपूर्ण आवश्यकतामध्ये एक हो। भवन, प्रयोगशाला र आधुनिक उपकरण आवश्यक छन्, तर तिनले दक्ष शिक्षकको स्थान लिन सक्दैनन्।
विशेषगरी आधारभूत चिकित्सा विज्ञानका केही विभागहरूमा देखिएको शिक्षक अभाव चिकित्सा शिक्षाको दिगोपनाका लागि गम्भीर चिन्ताको विषय हो। मानव शरीर, रोग प्रक्रिया तथा उपचारका सिद्धान्तहरू बुझ्न आधारभूत चिकित्सा विज्ञानले जगको काम गर्छ। यी विषयहरूमा हुने कमजोरीले विद्यार्थीको सम्पूर्ण व्यावसायिक जीवनको शैक्षिक विकासमा असर पार्न सक्छ।
नयाँ स्थापित प्रतिष्ठानहरूलाई आवश्यक संख्यामा अनुभवी शिक्षक नियुक्त गर्न र उनीहरूलाई संस्थामा टिकाइराख्न अझ बढी कठिनाइ हुन सक्छ। विशेषगरी निजी संस्थाहरूमा आधारभूत चिकित्सा विज्ञानका शिक्षकहरूले सार्वजनिक संस्थाको तुलनामा पाउने आकर्षक पारिश्रमिक तथा सेवा सुविधा, सीमित व्यावसायिक अवसर, कार्यभार र अपर्याप्त शैक्षिक सुविधाले यो चुनौती थप जटिल बनाउँछन्।
त्यसैले सरकारले तथा संस्थागत नेतृत्वले शिक्षक नियुक्ति, टिकाइराख्ने व्यवस्था र व्यावसायिक विकासलाई प्राथमिकता दिनुपर्छ। उपयुक्त पारिश्रमिक तथा सेवा सुविधा, अनुसन्धान र उच्च शिक्षाका अवसर, निष्पक्ष तथा संस्थागत नियम अनुसार समयमै पदोन्नति, शैक्षिक सहकार्य, न्यायोचित कार्यविभाजन तथा व्यावसायिक सम्मान आवश्यक छन्।
शिक्षकमा गरिने लगानी केवल प्रशासनिक आवश्यकता होइन। यो भविष्यका दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने गुणस्तरीय शिक्षामा गरिएको लगानी हो।
चिकित्सा शिक्षा कक्षाकोठामा मात्र सीमित हुनु हुँदैन
चिकित्सा शिक्षा अन्य धेरै शैक्षिक विषयभन्दा फरक छ, किनभने यसमा सैद्धान्तिक ज्ञानलाई व्यावहारिक दक्षतामा रूपान्तरण गर्नुपर्छ।
एक चिकित्सक स्नातकमा वैज्ञानिक ज्ञान, चिकित्सकीय सीप, सञ्चार क्षमता, नैतिक मूल्य र मानवीय संवेदना हुनुपर्छ। यी गुणहरू केवल कक्षाकोठाको व्याख्यान र परीक्षाबाट मात्र विकास गर्न सकिँदैन।
शिक्षण अस्पतालहरू शैक्षिक स्वास्थ्य संस्थाका अभिन्न अंगका रूपमा सञ्चालन हुनुपर्छ। विद्यार्थीहरूले पर्याप्त रोग सम्बन्धी छलफल, क्लिनिकल अभ्यास, सीप प्रशिक्षण तथा विकासको अवसर पाउनुपर्छ।
त्यसैगरी, नर्सिङ शिक्षाका लागि पनि पर्याप्त क्लिनिकल अभ्यास, सिमुलेसनमा आधारित सिकाइ तथा व्यावसायिक दक्षता विकास गर्ने अवसर आवश्यक हुन्छ।
आधारभूत चिकित्सा विज्ञानका विभागहरू, क्लिनिकल विभागहरू, नर्सिङ संकाय तथा अस्पताल सेवाबीच बलियो समन्वय हुनुपर्छ। यस्तो एकीकरणले विद्यार्थीहरूलाई वैज्ञानिक ज्ञान र बिरामीको उपचारबीचको सम्बन्ध बुझ्न सहयोग पुर्याउँछ।
चिकित्सा संस्थाको गुणस्तर अन्ततः परीक्षाको नतिजाबाट मात्र होइन, त्यस संस्थाबाट उत्पादित जनशक्तिको दक्षताबाट मापन हुनुपर्छ।
अनुसन्धान संस्थागत प्राथमिकता बन्नुपर्छ
अनुसन्धान शैक्षिक स्वास्थ्य संस्थाहरूको अर्को महत्त्वपूर्ण जिम्मेवारी हो। विश्वविद्यालय तथा प्रतिष्ठानहरूले विद्यार्थीलाई विद्यमान ज्ञान हस्तान्तरण गर्ने मात्र होइन, नयाँ ज्ञान सिर्जना गर्न पनि योगदान पुर्याउनुपर्छ।
अनुसन्धानमार्फत आधारभूत चिकित्सा विज्ञानका स्थापित ज्ञानलाई थप प्रमाणित गर्नुका साथै नयाँ ज्ञानको खोजी गरी क्लिनिकल अनुसन्धानलाई मार्गदर्शन र सहयोग पुर्याउनुपर्छ।
नेपालले मातृ तथा शिशु स्वास्थ्य समस्या, सरूवा रोग, नसर्ने रोग, कुपोषण तथा स्वास्थ्य सेवामा पहुँचको असमानताजस्ता विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ। यी विषयमा गरिने अनुसन्धानले स्वास्थ्य सेवा सुधार तथा राष्ट्रिय स्वास्थ्य नीति निर्माणका लागि महत्त्वपूर्ण प्रमाण उपलब्ध गराउन सक्छ।
तर संस्थागत सहयोगबिना अनुसन्धानको विकास सम्भव हुँदैन। शिक्षक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई अनुसन्धान तालिम, नैतिक समीक्षा तथा स्वीकृति, आर्थिक सहयोग, तथ्यांक विश्लेषण सम्बन्धी तालिम तथा अनुसन्धान प्रकाशनमा आवश्यक सहयोग गर्नुपर्छ।
संस्थागत अनुसन्धान अनुदान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यलाई प्रोत्साहन गर्नुपर्छ। अनुसन्धानबाट प्राप्त निष्कर्षलाई चिकित्सकीय अभ्यास, चिकित्सा शिक्षा तथा सामुदायिक स्वास्थ्य सेवामा सुधारका लागि उपयोग गर्नुपर्छ।
संस्थागत जर्नलहरूले वैज्ञानिक गुणस्तर, प्रकाशन नैतिकता तथा विज्ञद्वारा समीक्षाको उच्च मापदण्ड कायम गर्नुपर्छ। तिनलाई मान्यताप्राप्त अन्तर्राष्ट्रिय इन्डेक्सिङमा समावेश गराउने लक्ष्य दीर्घकालीन शैक्षिक उद्देश्य हुनुपर्छ।
अनुसन्धान व्यक्तिगत पदोन्नतिका लागि मात्र गरिने गतिविधि नभई संस्थागत संस्कृतिको अभिन्न अंग बन्नुपर्छ।
डिजिटल भविष्यका लागि तयारी
प्रविधिको तीव्र विकाससँगै चिकित्सा शिक्षामा पनि द्रुत परिवर्तन भइरहेको छ। डिजिटल सिकाइ प्रणाली, सिमुलेसन सुविधा तथा कृत्रिम बुद्धिमत्ता (एआई) ले शिक्षण, सिकाइ र अनुसन्धानमा नयाँ अवसरहरू सिर्जना गरिरहेका छन्।
कृत्रिम बुद्धिमत्ताले विद्यार्थीहरूलाई जटिल विषय बुझ्न, सूचनाको विश्लेषण गर्न तथा तर्कशक्ति विकास गर्न सहयोग पुर्याउन सक्छ। तथापि, यसको प्रयोग जिम्मेवार ढंगले हुनुपर्छ। प्रविधिले आधारभूत चिकित्सा ज्ञान, व्यावहारिक सीप, व्यावसायिक निर्णय क्षमता वा मानवीय संवेदनाको स्थान लिन सक्दैन।
नयाँ तथा पुराना विश्वविद्यालय तथा प्रतिष्ठानहरूले उपयुक्त डिजिटल स्रोतहरूलाई क्रमशः आफ्नो शैक्षिक प्रणालीमा समावेश गर्नुपर्छ। विद्यार्थी तथा शिक्षकहरूले कृत्रिम बुद्धिमत्ताबाट प्राप्त सूचनाको आलोचनात्मक मूल्यांकन गर्ने क्षमता विकास गर्नुका साथै बिरामीको गोपनीयता र तथ्यांक सुरक्षा सम्बन्धी विषयहरू पनि बुझ्नुपर्छ।
हरेक नयाँ प्रविधि अपनाउनु हाम्रो उद्देश्य हुनु हुँदैन। बरू शिक्षण र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न उपयुक्त प्रविधिको प्रयोग गर्नु हाम्रो उद्देश्य हुनुपर्छ।
सुशासनले संस्थागत सफलता निर्धारण गर्छ
प्रभावकारी सुशासनको अभावमा राम्ररी योजना बनाइएका शैक्षिक कार्यक्रमहरू पनि असफल हुन सक्छन्।
शैक्षिक संस्थाहरूमा पारदर्शी प्रशासनिक प्रणाली, समयमै निर्णय, समयसापेक्ष पाठ्यक्रम, वार्षिक शैक्षिक पात्रो, व्यवस्थित परीक्षा प्रणाली, वित्तीय अनुशासन तथा स्पष्ट जवाफदेहिता आवश्यक हुन्छ।
संस्थागत नेतृत्वले अनावश्यक ढिलाइ नगरी निर्णय कार्यान्वयन गर्ने व्यवस्था मिलाउँदै सौहार्दपूर्ण छलफल, परामर्श, सामूहिक कार्य तथा साझा जिम्मेवारीको संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ।
विशेषगरी परीक्षा प्रणालीमा ध्यान दिन आवश्यक छ। विद्यार्थीहरूमा शैक्षिक मूल्यांकन निष्पक्ष, विश्वसनीय र पारदर्शी छ भन्ने विश्वास हुनुपर्छ। पाठ्यक्रममा निर्धारित मापदण्ड अनुसारको प्रश्नपत्र निर्माण, परिमार्जन तथा प्रमाणीकरण, उत्तरपुस्तिका मूल्यांकन, नतिजा प्रशोधन र समयमै नतिजा प्रकाशन महत्त्वपूर्ण पक्षहरू हुन्।
त्यसैगरी, गुणस्तर सुनिश्चितता नियामक निकायको निरीक्षणको तयारीमा मात्र सीमित हुनु हुँदैन। पाठ्यक्रम कार्यान्वयन, शिक्षण गतिविधि, विद्यार्थीको उपलब्धि, शिक्षकको संख्या तथा विभागीय प्रगतिको नियमित अनुगमन संस्थाको नियमित अभ्यास बन्नुपर्छ।
राम्रो सुशासनका लागि शिक्षक तथा कर्मचारीलाई सम्मान गरिने, जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरिने र राम्रो कार्यसम्पादनको पहिचान तथा प्रोत्साहन गरिने सकारात्मक वातावरण पनि आवश्यक हुन्छ। साथै, लापरबाही तथा अनुशासनहीनतालाई संस्थागत नियम अनुसार सम्बोधन गर्नुपर्छ।
शैक्षिक संस्थाहरूलाई प्रदान गरिएको स्वायत्ततासँगै जिम्मेवारी र जवाफदेहिता पनि जोडिनुपर्छ।
राष्ट्रिय आवश्यकताका आधारमा शैक्षिक विस्तार
नेपाललाई अझ बढी दक्ष स्वास्थ्य जनशक्तिको आवश्यकता छ, विशेषगरी स्वास्थ्य सेवाको पहुँच कम भएका भौगोलिक क्षेत्रमा। त्यसैले चिकित्सा शिक्षा तथा सम्बन्धित स्वास्थ्य विज्ञानका कार्यक्रमहरूको विस्तार महत्त्वपूर्ण छ।
तथापि, शैक्षिक विस्तार राष्ट्रिय स्वास्थ्य जनशक्तिको आवश्यकता, संस्थागत क्षमता तथा उपलब्ध स्रोतसाधनको उचित मूल्यांकनका आधारमा हुनुपर्छ।
मेडिकल ल्याबोरेटरी टेक्नोलोजी, मेडिकल इमेजिङ टेक्नोलोजी, फिजियोथेरापी, अप्टोमेट्री, फार्मेसी तथा अन्य सम्बन्धित स्वास्थ्य विज्ञानका नयाँ कार्यक्रमहरूले राष्ट्रिय स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिन सक्छन्।
त्यसैगरी, स्नातकोत्तर नर्सिङ, सुपर स्पेसियालिटी तथा विद्यावारिधि तहका कार्यक्रमहरूले उच्च शिक्षण तथा अनुसन्धान क्षमतामा सुधार ल्याउन सक्छन्।
तर पर्याप्त तयारीबिना थप कार्यक्रम सञ्चालन गर्दा विद्यमान शैक्षिक गतिविधिहरू नै कमजोर हुन सक्छन्। थप विस्तारतर्फ अघि बढ्नुअघि प्रत्येक संस्थाले आफ्ना हाल सञ्चालनमा रहेका कार्यक्रमहरूको बलियो आधार निर्माण गर्नुपर्छ।
उदाहरणका लागि, गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विकासले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य शिक्षालाई सुदृढ बनाउने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। यस्ता नयाँ पहलहरूमा शैक्षिक कार्यक्रम, अस्पताल सेवा तथा आवश्यक भौतिक पूर्वाधारको विकास सँगसँगै अघि बढ्ने सुनिश्चितता गर्नुपर्छ।
केवल संस्थागत महत्त्वाकांक्षा होइन, राष्ट्रिय जिम्मेवारी
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको विकासलाई राष्ट्रिय जिम्मेवारीका रूपमा लिनुपर्छ। नेपाल सरकार, प्रदेश सरकारहरू, नियामक निकायहरू तथा संस्थागत नेतृत्वले तिनको दिगो विकास सुनिश्चित गर्न एकसाथ काम गर्नुपर्छ।
शिक्षक अभाव समाधान, शैक्षिक मापदण्ड निर्धारण, अनुसन्धान सुदृढीकरण, पूर्वाधार विकास तथा संस्थाहरूबीच सहकार्य प्रवर्द्धन गर्न समन्वयात्मक राष्ट्रिय दृष्टिकोण आवश्यक छ। शैक्षिक स्रोतसाधन, शिक्षक विकासका अवसर, अनुसन्धान सुविधा तथा व्यावसायिक विशेषज्ञताको आदानप्रदानले अनावश्यक दोहोरोपन कम गर्न र समग्र चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्न सहयोग पुर्याउन सक्छ।
वित्तीय दिगोपन पनि उत्तिकै महत्त्वपूर्ण छ। सरकारी अनुदान, संस्थागत आम्दानी, प्रतिस्पर्धात्मक अनुसन्धान अनुदान तथा उपयुक्त शैक्षिक साझेदारीबाट प्राप्त स्रोतसाधनलाई पारदर्शी रूपमा परिचालन र प्रभावकारी उपयोग गर्नुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, यी संस्थाहरूको विकास संस्थागत प्रतिष्ठा वा सञ्चालनमा रहेका कार्यक्रमहरूको संख्याभन्दा जनताको स्वास्थ्य आवश्यकतामा केन्द्रित हुनुपर्छ।
अबको बाटो
नेपाल आफ्नो चिकित्सा शिक्षा प्रणालीको विकासको महत्त्वपूर्ण चरणमा छ। विभिन्न प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको विस्तारले शिक्षामा पहुँच बढाउने, स्वास्थ्य सेवा सुदृढ गर्ने तथा अनुसन्धान प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ।
तर वास्तविक चुनौती स्थापना भएपछि सुरू हुन्छ। एउटा प्रतिष्ठानलाई सम्मानित शैक्षिक संस्थाका रूपमा विकास गर्न प्रतिबद्ध शिक्षक, गुणस्तरीय शिक्षण, प्रभावकारी क्लिनिकल अभ्यास, उपलब्धिमूलक अनुसन्धान, आधुनिक पूर्वाधार, जिम्मेवार नेतृत्व तथा निरन्तर गुणस्तर सुधार आवश्यक हुन्छ।
यी संस्थाहरूको सफलता निर्माण भएका भवनहरूको संख्या, सञ्चालनमा ल्याइएका कार्यक्रम वा स्वीकृत विद्यार्थी सिटका आधारमा मात्र मापन गरिनु हुँदैन। यसको मूल्यांकन उत्पादित जनशक्तिको गुणस्तर, शिक्षकहरूको व्यावसायिक विकास, अनुसन्धानको योगदान र सबैभन्दा महत्त्वपूर्ण रूपमा जनताको स्वास्थ्यमा ल्याएको सुधारका आधारमा हुनुपर्छ।
नेपाललाई केवल धेरै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू आवश्यक छैनन्। नेपाललाई यस्ता सबल प्रतिष्ठानहरू आवश्यक छन्, जसले अझ दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्न, अर्थपूर्ण अनुसन्धान गर्न र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकून्।
(लेखक प्राध्यापक डाक्टर फणिन्द्र प्रसाद पौडेल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराका आधारभूत चिकित्सा विज्ञान, एमबिबिएस कार्यक्रमका संयोजक हुन्।)