जब दसैँ आइपुग्छ म आफ्नै 'बन्दने' सम्झिन्छु। केको सम्झिनु मात्रै उसको खाँचो परिरहन्छ, मलाई हरपल जहिल्यै।
म फकिर थिएँ। एक्लो थिएँ। मनमौजी थिएँ।
बन्दने मायाले भनेको हो, हेपेको होइन। प्रेमका सुरुवाती दिनमा म उसलाई बन्दना नै भन्थेँ तर बन्दना रिसाउँथी।
‘बन्दने भन्नु है, माया टन्नै हुन्छ अनि आफ्नो फिलिङ्ग हुन्छ।’
अनि मैले बन्दने भनिरहेँ।
मैले आफैलाई प्रश्न गरेँ- अबको १५ वर्षमा म ६० वर्षको वृद्ध हुनेछु भने बन्दना ३५ वर्षकी तरुनी रहिरहनेछे। के यो व्यापक अनमेल विवाह हुने भएन र?
खासमा म बन्दनासँग सुरुवाती भेटघाटबाटै टाढिनुपर्ने थियो। खासमा बन्दनाले पारिजातको फूल जसरी आफ्नो तरोताजा जवानीको सुगन्ध मलाई सुम्पिरही। म आफ्नो अधबैँसे उमेर भुलेर एउटी १६ पुगेर मात्र १७ वर्षमा टेकेकी 'स्वीट सेभेन्टीन' कन्याको मस्त जवानीको दलदलमा भासिसकेछु।
अनौठो यो पनि भयो, बन्दनालाई बाबुको समेत प्यार दिएर हुर्काएकी उसकी आमाले समेत अलिकति पनि लाजै नमानी 'बुढो पोई पाएकोमा बधाई छ छोरीलाई’ पो भनिन्।
उसकी आमा र मेरो त्यो भेटमा अरू खस्रा मसिना कुराहरू पनि भएका थिए।
‘३/३ वर्षसम्म छोरीको जवानीमा मनमौजी रजाईँ गरे'सी अहिले बिहे गर्ने बेला म 'दुई बिस पाँच' पुगिसकेँ भनेर पन्छिन पाइँदैन, फुचुराम जी।’
बन्दनाकी आमाले मुखाकृति बिगारेर दाहिने हातको चोर औँला मतिर तेर्स्याएर मलाई झपारेकी थिईन्।
‘धन्यवाद पनि दिन्छु फुचुराम जी तपाईंलाई, कुलतको दलदलमा फसेकी मेरी छोरीलाई कुलतबाट कुन जादुको छडीले बाहिर निकाल्नु भो, त्यो त मलाई थाहा भएन तर तपाईं मेरी वयस्क छोरीलाई श्रीमती बनाउन अति योग्य वर हुनुहुन्छ।’
बन्दनाकी आमाले सत्य बोलेकी थिईन्। मलाई भने मध्य पुषको ठिहिमा पनि प्रचण्ड गर्मी भैरहेको थियो।
त्यसो त एसएलसी दिन जाँदा जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाटै परीक्षा सकेर नाङ्गेडाँडाकी बेदिकाले काठमाडौं भागम् भनेर प्रस्ताव गरेकी थिई। म मानिनँ।
काठमाडौं आएर पनि 'हामी बिहे गरौं' भन्ने प्रस्तावहरू नआएका होइनन्। तर मेरो मनले खाने युवतीहरू थिएनन्।
आफैंले निजी स्कुलमा पढाएकी विद्यार्थी पूजा थापा र मेरो मन औधी मिलेको थियो। तर पूजाका बाले मलाई मन पराएनन्। पूजाले भाग्ने भनेर अघोर कर गरी तर मेरो हिम्मतले हावा खायो।
बा बितेको वर्ष दिन नपुग्दै आमोई पनि पृथ्वी लोकबाट बिदाबारी भइन्। मेरा दुई भाइहरूले स्कुले शिक्षाभन्दा माथि पढेनन्। घरजम जोडे र घरबार चलाउन व्यस्त भए।
म एक्लो भएँ। घरबाट बाआमाका चिठीहरू आउन छोडे। यो साल त तेरो बिहे गर्नु पर्छ फुचुराम भन्ने बाआमाका प्रेमिल चिठीहरू आउन छाडे।
चिठीको सुरुवात गज्जब हुन्थ्यो।
‘हाम्रो प्यारो छोरा फुचुराम, पशुपतिनाथको कृपाले हामी यहाँ आराम छौँ।
तहाँ तिमी पनि सञ्चै हौला भन्ने कामना गर्दछौँ।’
५२ घुस्सा ५३ ठक्कर खाएरै विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट मुख्य विषय अंग्रेजी लिएर 'मास्टर्स डिग्री' सक्काएँ। बाले गाउँमा मेरो मास्टर्स डिग्रीलाई खुब प्रचार गरे।
आमोई भन्थिन्- पढाइको 'प' थाहानहुनेहरू समेतलाई तेरो बाउले मेरो केटो फुचुरामले फिरङ्गी भाषामा मास्टर्स सक्कायो भनेर अनवरत फलाकिरहे।
त्यसै सिलसिलामा फुचुरामलाई केटी दिन भनि सिकरकटेरीमा लमीहरूको ह्वात्तै घुइँचो लाग्यो। तर कफुचुरामसँग बिहे गर्न अब ग्रामीण केटीहरूको पढाइ जम्माजम्मी एसएलसीले नपुग्ने घोषणा नै गरिदिए, फुचुरामका बाले।
फुचुरामका बा लमीलाई पहिलो प्रश्न गर्थे, ‘कन्याले कति पढेकी छिन्?’
त्यसपछि फुचुरामका बा 'एजुकेशन मिट' गरेन भन्ने अंग्रेजी उत्तर फर्काउँथे। कति लमीहरू त कुरै नबुझी सिकरकटेरीबाट ओरालो झरे।
फुचुरामलाई आजसम्म पनि लागिरहन्छ, त्यो अंग्रेजी वाक्यांश 'एजुकेशन मिट' बाले कोसँग सिकेका थिए होलान्?
बाआमाको शेषपछि त्यसपछि फुचुराम एक्लो भयो। अब फुचुरामलाई तेरो बिहे गर्नुपर्छ भनेर भनिदिने समेत कोही थिएनन्।
एक पटक फुचुराम बिरामी परेर वीर अस्पतालमा भर्ना हुन पुगे। उनलाई फार्मेसीबाट औषधी किनेर लागिदिने मानिस कोही भएनन्। फुचुरामले आफ्नो उमेरको गिन्ती लिए। उनी ३५ वर्ष पुगिसकेका थिए।
काठमाडौं त्यागेर सदाका लागि सिकरकटेरी फर्कने योजना पनि निकै पटक बन्यो तर कार्यान्वयन भएन।
फुचुराम दुई वटा निजी विद्यालय र दुईवटा ट्युसन सेन्टरमा आइतबारदेखि शुक्रबारसम्मै घोटिन्थे। राति अबेला कमरा पुगेर भुसुक्कै निदाउँथे। कमरामा भात तरकारी पकाउने झन्झट गर्दैनथे तर कफी चाहिँ उमाल्थे।
शनिवार सबै जागीरेलाई शान्ति र फुर्सद मिले पनि फुचुराम आफूलाई बेचैन पाउँथे। चिया अड्डामा चिया पिउन फुचुराम पुगेनन्।
म तीन बुक तास मिसाएर खेलिने खेल 'म्यारिज' मात्रै होइन, अंग्रेजीको 'कलब्रेक' वा नेपालीमा भन्दा गोलखाडी पनि खेल्न जान्दैनथेँ।
बितेका ३ वर्षदेखि शनिवार म लगातार पशुपति पुग्थेँ। म मरेका लासहरू डढाएको हेरिरहन्थेँ र लगातार आफू पनि चुरोटका खिल्लीहरू जलाइरहन्थेँ। घाटभन्दा पारिको एउटा बेन्चमा बसेर म दिउँसै १ बजेबाटै पाशुपत क्षेत्रमा हाजिर भइसक्थेँ।
वर्षातको समयमा झमझम पानी परिरहेको बेला मात्रै म पुगिनँ।
‘दाइ लाइटर होला?’ एउटी जवान उमेरले 'जेन जी' युवतीले मलाई सोधी।
म चुरोट जलाउँदै थिएँ। केही नबोली लाइटर दिएँ।
उमेर ठ्याक्कै अनुमान गर्न नसके नि ऊ न होची न अग्ली थिई। उसका केशराशिहरू कम्मरसम्मै आइपुगेका थिए। सेतो टि-सर्टमा 'गुड थिङ्स्, टेक टाइम' लेखिएको थियो।
जेन जी युवतीलाई देखेर हल्का काउकुती लाग्यो।
एकपटक लाइटर दिएँ। उसले सिगरेटमा भएको सुर्ती निकाली। आफूले कागजमा डल्लो पारेर बोकेको ल्याएको माल लोड गरी र मदहोश पाराले तानी।
दोस्रो पटक जेन जी युवतीले पुनः लाइटर मागी। लाइटर राखेको चुरोटको बट्टाबाट १ खिल्ली चुरोट सल्काएँ। बाँकी ३ खिल्ली चुरोट र लाइटर दिएँ र आफ्नो बाटो तताएँ।
जाडो यामको रातको ७ बजे मेरो निम्ति अबेला भइसकेको थियो। पाशुपत क्षेत्रबाट हिँडेरै म मेरो कमरा कोटेश्वर महादेवस्थान पुग्थेँ। गौशाला कटेर पनि त्यही जेन जी युवती फेरि स्मृतिमा आई।
कोटेश्वर चोक पुग्न निकै समय लाग्यो। हल्का दम बढेको अनुभूति भयो। आफूले आफैसँग भनेँ- फुचुराम तैँले सिगरेट पिउन छोड्नुपर्छ। तर तुरुन्तै एक बट्टा चुरोट र एउटा लाइटर किनेँ।
सित्तैमा दिएका ३ खिल्ली सिगरेटको पनि माया लागेर आयो। थाकेको शरीरमा उर्जा लेराउन एक बोतल कोक पिएँ।
पुनः उक्त युवती पाशुपत क्षेत्रको उही बेञ्चीमा आएर बसी।
यो कस्तो संयोग थियो?
उसले मलाई लाइटर फिर्ता गरी। मैले हाँस्दै ‘खै त ३ खिल्ली सिगरेट?’ भनेँ। ऊ फिस्स हाँसी र मेरै बगलमा बसी।
उसले निरन्तर मसँग सिगरेटका खिल्लीहरू मागिरही र सानो पोकाको मालपानी लोड गरीरही। मैले भने चुरोट जलाउँदै पशुपतिमा जलाएका लासहरू हेरिरहेँ।
बेञ्चीमा अर्को मान्छे थपियो। उक्त जेन जी युवतीले आफ्नो ज्यान मेरो काँधमा छोडिदिई। निकै बेरपछी त्यो मान्छे आफ्नो बाटो लाग्यो। तर त्यो जेन जी युवतीले मेरो काँधबाट आफ्नो ज्यान हटाइन, नढाँटी भनम् मलाई पनि त एउटी वयस्क तरुनीको वासना बहुतै मन परेकै थियो।
‘तिमीले यो के पिएको?
उसले नलजाई भनी- 'गाँजा'।
मेरो मन एकतमासको भो। हामी सल्लाहमै अर्को 'शनिश्चर बार' पाशुपत क्षेत्रमै भेट्टिने गरी छुट्टियौँ। छुट्टिनु अगाडि मैले उसलाई १ बट्टा चुरोट किनिदिएँ। उसले नलजाई २ प्लेट मःम थपेर खाई।
ऊ खुलेर बोल्थी। उसमा कुनै 'हिप्पोक्रेट' भावनाहरू थिएनन्।
यो शनिबार हामी गौशाला होइन स्वयम्भु पुग्यौँ। ऊ पुरानै भेषमा थिई। आज भने हामीले हाम्रा कुरा गर्यौँ। उसले ममाथि प्रश्नका असिना बर्साई।
उसका हरेक प्रश्नको जवाफ मैले इमानदारीपूर्वक दिएँ।
‘हजुरको शुभनाम?’
‘फुचुराम।’
मेरो उत्तरमा ऊ मस्त हाँसी।
‘क्या युनिक नेम।'
उसले अगाडिका कपालका अल्खा मिलाउँदै पुन: प्रश्नमै फर्किई।
‘तपाईंको पहाड घर?’
‘सिन्धुलीको सिकरकटेरी हो तर घर नगएको साढे २ दशक भयो। बाआमा परलोक भइसके। घरमा २ भ्राताहरू थिएँ।’
मैले युवतीले नसोधेको जवाफ पनि दिएँ।
युवतीले गाँजा सल्काई। मैले पनि सिगरेट सल्काएँ।
‘कति पढ्नु भो?’
‘अर्थशास्त्रमा मास्टर्स सक्काएँ।’
‘अर्थशास्त्र भन्या?’
‘अंग्रेजीमा 'ईकोनोमिक्स' भन्छन् नि।’
‘फेरि अंग्रेजी साहित्यमा पनि मास्टर्स नै गरेको हुँ।’
अंग्रेजी साहित्यलाई पनि 'ईङ्लिस लिट्रेचर' भनेर बुझाएँ।
उसका थप प्रश्नहरूको पनि जवाफ दिएँ। उसलाई मेरो उमेरको गेस गर्ने जिम्मा दिएँ।
उसको नाम बन्दना भट्टराई रहेछ। उसले बाबुलाई अहिलेसम्म नदेखेको बताई। आमाको मात्रै वात्सल्य पाएकी बन्दनाले १२ कक्षा सक्काएर बसेकी थिई। उसले नढाँटी आफू गाँजाको लतमा फसेको बताई। उसकी आमा र उसको सम्बन्धमा कुनै न्यानोपन थिएन।
स्वयम्भुबाट छुट्नु अगाडि नै बन्दना मेरो अँगालोमा बेरिइसकेकी थिई। मलाई थाहा थियो। उसलाई जति गाँजाको लत थियो, उसैगरी यौनको अधिक चाहना थियो।
पुसको दिन (अ)समयमैढल्यो अनि हामी छुट्टियौँ। यसैगरी ५ वटा शनिवारहरू बिते। मैले पनि दाह्री, कपाल मिलाएँ। अलिक चटक्क परेँ। हामी बसन्तपुर पुग्यौँ र गफ्फियौं। हामी साँगाको ठूलो महादेवको मूर्तिमा पुग्दा बन्दनाले मसँग १०८ शिवलिङ्गको सप्रसङ्ग व्याख्या सुनाई।
हामी एक बिहानै गाडी चढेर मेलम्ची पुग्यौँ र मेलम्चीखोलामा नुहायौं। फेरि हामी दोलखाको चरिकोट पनि पुग्यौँ। म बन्दनको साथले खुसी भएँ, बन्दना पनि मेरो सङ्गतले गाँजाबाट चुरोट मात्रै तान्न थाली।
मेरो र बन्दनाको दूरी मेरो कमरासम्म नजिकियो। मैले बन्दनालाई आफू ४२ औँ वसन्त पुगेको र तिमी मुस्किलले १७ वर्ष पुगेकोले यो सम्बन्ध गैरकानुनी हुनेमा लामो क्लास दिएँ।
बन्दनासँगको लसपस उसकी आमाले थाहा पाएकै थिइन्। मैले उनलाई भेट्न खोजेँ तर मलाई चिठी पठाइन्।
‘श्री फुचुराम जी।
सिधै विषय प्रवेश गरेँ।
मेरी छोरी बन्दनाले तपाईंको भरपुर तारिफ गरी र गम्भीर प्रेममा परेको विषय सगौरब बताई। मलाई अचाक्ली खुसी लागेको कुरा चाहिँ उसले गाँजा छोडी। हिजोआज बन्दना खुब मख्ख छे।
फुचुराम जी, तपाईं र म समवयस्क हौँ। मेरी छोरी प्रेममा परेकी होइन, कामवासनामा लिप्त भएकी हो।
फुचुराम जी, तपाईंसँग के ढाट्नु म आफै पनि कामवासनामा परेर बन्दनाको बाबुसँग चाँडै लहसिए र कच्चा उमेरमै बन्दना जन्माएँ।
जीवनका अत्यन्त कठिन मोडहरूमा बन्दनालाई बढाएँ, पढाएँ र हुर्काएँ। तर अफसोच आफ्नै छोरी आफ्नी हुनै सकिन।
फुचुराम जी, पाईंजस्तो छिप्पड बहरलाई मेरी कलकलाउँदी छोरी जिम्मा लगाएको छु। उमेरले २० वर्ष पुगे'सी तपाईंलाई सधैँका लागि वैधानिक तरिकाले छोरी जिम्मा लगाएर म आफ्नै बाटो हिँड्नेछु।
अन्त्यमा फुचुराम जी, बन्दना रिसाउँछे, फन्किन्छे र तुरुन्तै आबेगमा आउँछे, ती सबै कुराहरूमा म अग्रिम माफी माग्छु।
अलबिदा
बन्दनाकी आमा।’
बन्दना मेरै कमरामा बस्न थाली। जीवन सजिलो पनि भयो। जवानीका जोशहरू मज्जैले साटासाट गर्यौँ।
प्रायः हामी शनिबार फिल्म हेर्न जान्थ्यौं। मिलेरै सिगरेट सर्कायौँ। जाडोमा खुकुरी रम पियौँ।
समय छिट्टै बित्यो। बन्दनाकी आमासँग छोरी वैधानिक तवरले जिम्मा लगाउदा केही भनाभन भयो। उसकी आमाले भन्नु/नभन्नु भनिन्।
बुढो बहर मेरी कोरली छोरी च्यापेर बाठा कुरा नगर्न भनिन्।
मैले यत्ति भन्या'थे- '४५ वर्षे म अधवैँसेले तपाईंकी २० वर्षे छोरीलाई कसरी सिन्दूर हाल्नु?'
बन्दनासँगको बसाइ स्वर्गसमान थियो। बिहेनै तातो पानी तयारी हुन्थ्यो। कफी र कालो चिया पिउँथ्यौँ। खानाका भेराइटीजहरू बन्थे। हामी अचाक्ली मायामा थियौँ। तर एकाएक दसैँको मुखमा बन्दने हराई।
उसकी आमाले मेरो सातो लिइन्। म निरीह बनेँ। एक्लो भएँ। म अलमलमा परेँ कि बन्दना खोज्न कता हिँडूँ?
एक रात पढ्दै गरेको किताब 'मोदिआइन' तुर्दै थिएँ। अन्तिम पेजमा बन्दनाले लेखेकी थिई-
‘सायोनारा, फुचुराम जी।
मलाई नखोज्नू।
तपाईंकी
बन्दना भट्टराई।’