इसराइलसँग मिलेर अमेरिकाले गत फेब्रुअरी २८ मा अकस्मात् इरानमाथि सैन्य आक्रमण गर्यो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध चारदेखि पाँच सातामै सकिने बताएका थिए।
त्यतिबेला रक्षामन्त्री पिट हेगसेथले इरानसँग युद्ध गर्दा आउन सक्ने जोखिमलाई कम आँकेको र ट्रम्पलाई सैन्य कारबाही अघि बढाउन प्रोत्साहित गरेको विवरण सार्वजनिक भएका थिए।
युद्ध छिट्टै जित्न सकिने उनको आकलन थियो। तर युद्ध लम्बियो, अमेरिकी अर्थतन्त्र र जनमतमा त्यसको असर पर्यो।
अन्ततः यही युद्धलाई ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा बेहोरेको पराजयको प्रमुख कारण मानिएको छ।
अब त्यसको राजनीतिक जिम्मेवारी हेगसेथमाथि थोपर्न थालिएको छ।
अमेरिकी सञ्चारमाध्यमका पछिल्ला रिपोर्टअनुसार चुनावी हारपछि ट्रम्पले आफ्ना सहयोगीसँग हेगसेथलाई रक्षामन्त्रीमा कायम राख्ने कि हटाउने भनेर छलफल गरिरहेका छन्।
सार्वजनिक रूपमा भने उनले हेगसेथको बचाउ गर्दै आएका छन्।
तर आफ्नै पार्टीका नेताहरूले समेत उनलाई हटाउनुपर्ने आवाज उठाउन थालेपछि ट्रम्पमाथि दबाब बढेको छ।
हेगसेथले ट्रम्पलाई इरान युद्धमा कसरी साथ दिएका थिए भन्नेबारे सिएनएनले गत मार्च ३१ मा विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो।
त्यसअनुसार इरानमाथि आक्रमण गर्ने निर्णय लिनुअघि ट्रम्पले आफ्ना केही सीमित सल्लाहकारसँग छलफल गरेका थिए।
त्यस्तो छलफलमा सामान्यतया रक्षामन्त्रीले सैन्य कारबाहीका सम्भावित जोखिम र त्यसबाट आउन सक्ने परिणामबारे राष्ट्रपतिलाई जानकारी गराउने अपेक्षा गरिन्छ।
इरानमाथि आक्रमण गर्दा उसले स्ट्रेट अफ हर्मुज बन्द गर्न सक्ने, त्यसले विश्व अर्थतन्त्रमा असर पार्ने र हवाई आक्रमणबाट मात्रै इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट गर्न नसकिने जोखिम थिए।
तर हेगसेथले ट्रम्पको सैन्य कारबाहीको योजनालाई समर्थन गर्दै युद्ध नियन्त्रणबाहिर जान सक्ने जोखिमलाई कम आँकेको सिएनएनले तीन स्रोतलाई उद्धृत गर्दै लेखेको थियो।
सिएनएनका स्रोतहरूले हेगसेथले ट्रम्पलाई युद्ध गर्न उक्साएको भनेका थिएनन्। तर ट्रम्पले आक्रमण गर्ने निर्णय गरेपछि उनी त्यसका सबैभन्दा ठूला समर्थक बनेका थिए। ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सिएनएनसँग भनेका थिए, 'राष्ट्रपतिले निर्णय गरिसकेपछि उनी त्यसका नम्बर एक समर्थक बने। युद्ध सफल बनाउने जिम्मेवारी पनि उनकै हो।'
युद्ध सुरु भएपछि पनि हेगसेथले त्यसको बचाउ गर्न छाडेनन्। उनले इरानमाथिको आक्रमणलाई छिटो र निर्णायक सैन्य अभियानका रूपमा प्रस्तुत गरे। तर युद्ध लम्बिँदै जाँदा अमेरिकाले अपेक्षा गरेभन्दा बढी सैन्य तथा आर्थिक दबाब सामना गर्नुपर्यो।
यही विषयलाई एक्सियसले नोभेम्बर ५ मा प्रकाशित आफ्नो विश्लेषणमा पनि उठाएको छ। एक्सियसका अनुसार इरानमाथि आक्रमण गर्नुअघि हेगसेथ युद्धका सबैभन्दा उत्साही समर्थकमध्ये एक थिए। उनले युद्ध कति छिटो र सहज रूपमा अन्त्य हुन सक्छ भन्नेबारे ट्रम्पलाई सबैभन्दा आशावादी आकलन सुनाएका थिए।
एक्सियसले अमेरिकी प्रशासनका अधिकारीलाई उद्धृत गर्दै युद्धको सुरुआती रणनीतिले अपेक्षित परिणाम दिन नसकेपछि सेन्ट्रल कमान्डले इरानमाथि दबाब सिर्जना गर्ने नयाँ उपाय खोज्न थालेको उल्लेख गरेको छ। त्यस क्रममा सैन्य नेतृत्वले हेगसेथले सुरुमा प्रस्तुत गरेको रणनीतिले अपेक्षित परिणाम नदिने कुरा उनले कहिले महसुस गरे भन्ने प्रश्नसमेत उठाएको थियो।
युद्धको राजनीतिक असर भने नोभेम्बर ४ को मध्यावधि निर्वाचनपछि थप स्पष्ट भएको छ। डेमोक्र्याटिक पार्टीले संसद्का दुवै सदनमा नियन्त्रण कायम गरेपछि रिपब्लिकनभित्र हारको जिम्मेवारी कसले लिने भन्ने बहस सुरु भएको छ। उपराष्ट्रपति जेडी भान्सले समेत युद्धलाई चुनावी हारको कारण मानेका छन्।
उनले एक्समा लेखेका थिए, 'हामीले हार्नुको कारण युद्ध हो।'
रिपब्लिकन पार्टीभित्र हेगसेथको आलोचना चुनावी हारपछि मात्रै सुरु भएको होइन। सिनेटर थोम टिलिसले उनलाई रक्षामन्त्रीका रूपमा समर्थन गरेको आफ्नो निर्णयलाई जीवनकै ठूलो पश्चात्ताप भनेका छन्। उनले हेगसेथले अब हिसाबकिताबको सामना गर्नुपर्ने बताएका छन्।
त्यस्तै, रिपब्लिकन सांसद थोमस मेसीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने तयारी गरेका छन्। उनले इरानमाथि कांग्रेसको अनुमति नलिई सैन्य कारबाही अघि बढाएको लगायतका आरोप लगाएका छन्।
डेमोक्र्याटिक पार्टीले पनि नयाँ संसद् सुरु भएपछि हेगसेथको युद्ध सञ्चालन, सैन्य नेतृत्वमा गरिएको फेरबदल र अन्य निर्णयमाथि अनुसन्धान गर्ने बताएको छ।
यही परिस्थितिमा ट्रम्पले हेगसेथको विकल्पबारे छलफल गरिरहेको खबर सार्वजनिक भएको हो। सीबीएस न्युजका अनुसार ट्रम्पले आफ्ना सहयोगीलाई हेगसेथलाई पदमा राखिरहने कि हटाउने भनेर सोधिरहेका छन्।
सम्भावित उत्तराधिकारीका रूपमा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसको नामसमेत चर्चामा आएको छ। एनबीसी न्युजका अनुसार ट्रम्पले मध्यावधि निर्वाचनअघि नै हेगसेथको ठाउँमा कसलाई ल्याउन सकिन्छ भनेर सहयोगीसँग सोधेका थिए।
एक्सियसले हेगसेथको पद जोखिममा पर्नुका चार कारण औँल्याएको छ। पहिलो, उनीविरुद्ध बढ्दो महाभियोगको जोखिम। दोस्रो, चुनावी हारको जिम्मेवारी लिनुपर्ने राजनीतिक दबाब। तेस्रो, जनवरीमा डेमोक्र्याटिक नियन्त्रणको सिनेटले नयाँ रक्षामन्त्रीको नियुक्ति अनुमोदन गर्न कठिन बनाउने सम्भावना। चौथो, हेगसेथलाई अर्को पदमा पठाएर विवादबाट बाहिर निकाल्न सकिने विकल्प।
टेनेसीकी सिनेटर मार्सा ब्ल्याकबर्न गभर्नर बन्ने भएपछि उनको सिनेट सिट रिक्त हुँदै छ। हेगसेथको टेनेसीमा घर भएकाले उनलाई त्यहाँको सिनेटर नियुक्त गर्ने सम्भावनाबारे पनि चर्चा भएको छ। ट्रम्पले यसबारे सोध्दा हेगसेथ सिनेटमा लोकप्रिय हुन सक्ने बताएका थिए। तर त्यस्तो कुनै ठोस प्रस्ताव आफूले नसुनेको उनको भनाइ थियो।
यद्यपि ट्रम्पले सार्वजनिक रूपमा हेगसेथलाई हटाउने कुनै योजना नरहेको बताइरहेका छन्। नोभेम्बर ४ मा पत्रकारहरूले यसबारे सोध्दा उनले हेगसेथले राम्रो काम गरिरहेको बताएका थिए। रोयटर्सका अनुसार उनले नोभेम्बर ५ मा पनि हेगसेथलाई समर्थन गरेका थिए।
हेगसेथलाई पदबाट हटाउने विषयमा सन् २००६ को एउटा घटना पनि अहिले चर्चामा छ।
त्यतिबेला इराक युद्धप्रति अमेरिकी जनताको असन्तुष्टिका कारण रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा पराजय बेहोरेपछि तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले रक्षामन्त्री डोनाल्ड रम्सफेल्डलाई हटाएका थिए। निर्वाचनको परिणाम आएको भोलिपल्टै उनले रम्सफेल्डको ठाउँमा रोबर्ट गेट्सलाई नियुक्त गर्ने घोषणा गरेका थिए।
अहिले पनि युद्धकै कारण चुनावी पराजय बेहोरेपछि रक्षामन्त्रीको भूमिकामाथि प्रश्न उठेको छ। तर ट्रम्पका लागि हेगसेथलाई हटाउनु रम्सफेल्डलाई हटाएजस्तो मात्रै हुने छैन। इरानमाथि आक्रमण गर्ने निर्णय स्वयं ट्रम्पले लिएका थिए। त्यसैले हेगसेथलाई मात्रै जिम्मेवार ठहर्याउँदा युद्धको निर्णय र त्यसको परिणामबाट ट्रम्प आफैं पनि अलग रहन सक्दैनन्।
अर्कोतर्फ हेगसेथलाई पदमा राखिरहँदा आफ्नै पार्टीभित्रको असन्तुष्टि र नयाँ संसद्मा हुन सक्ने अनुसन्धानको सामना गर्नुपर्नेछ। त्यसैले अहिले ट्रम्पसामु एउटा प्रश्न छ– इरान युद्धको राजनीतिक जिम्मेवारी आफ्ना रक्षामन्त्रीलाई सुम्पेर उनलाई बर्खास्त गर्ने कि सार्वजनिक रूपमा बचाउ गर्दै आफैंले लिएको युद्धको निर्णयको जिम्मेवारीसमेत स्वीकार गर्ने?