गुड फ्राइडे सिनेमा
इरानी निर्देशक असगर फरहादीका फिल्ममा पारिवारिक सम्बन्ध, प्रेम, अविश्वास र मानवीय कमजोरीका कथा भेटिन्छन्।
सामान्य लाग्ने घटनाभित्र लुकेका जटिल सम्बन्धलाई उनले पर्दामा यसरी प्रस्तुत गर्छन् कि, दर्शकले पात्रलाई मात्र होइन, आफ्नै सोच र धारणालाई समेत प्रश्न गर्न थाल्छन्।
यस्तै एउटा फिल्म हो, सन् २००६ मा प्रदर्शन भएको 'फायरवर्क्स वेन्सडे'।
फिल्मको कथा इरानको नयाँ वर्ष नौरोज सुरू हुनुअघिको अन्तिम बुधबारको परिवेशमा अघि बढ्छ। इरानी परम्परा अनुसार यस दिन मानिसहरू आगो बाल्छन्, आतसबाजी गर्छन् र उत्सव मनाउँछन्।
तर फिल्मका पात्रहरूको जीवनमा भने उत्सवभन्दा बढी तनाव, शंका र अविश्वासको आतसबाजी चलिरहेको हुन्छ।
फिल्मकी मुख्य पात्र रूहीको बिहे हुन केही दिन मात्र बाँकी छ। बिहेको तयारी र नयाँ जीवनको कल्पनामा रहेकी उनी एक दिन घर सफा गर्ने कामका लागि तेहरानको एउटा सम्पन्न परिवारमा पुग्छिन्।
त्यहाँ मोज्देह र उनका श्रीमान मोर्तेजा बस्छन्। उनीहरूको सम्बन्ध राम्रो छैन। मोज्देहलाई श्रीमानले आफूलाई धोका दिइरहेको शंका छ।
छिमेकमा बस्ने सिमिनसँग मोर्तेजाको सम्बन्ध रहेको उनको आशंका छ। यही शंकाले घरको वातावरण तनावपूर्ण बनेको छ।
रूही काम गर्न पुगेको पहिलो दिनमै उनीहरूबीचको झगडा र अविश्वासको साक्षी बन्छिन्।
मोज्देहले आफ्नो शंका सत्य हो कि होइन भन्ने पत्ता लगाउन रूहीको सहयोग लिन खोज्छिन्। उनलाई श्रीमान् र छिमेकी महिलामाथि निगरानी राख्न लगाइन्छ।
तर रूहीका लागि यो काम सजिलो हुँदैन। एकातिर उनी आफ्नो बिहे र नयाँ जीवनको तयारीमा छिन् भने अर्कोतिर आफू काम गर्न पुगेको घरको पारिवारिक समस्यामा अनायासै जोडिएकी छन्।
दिन बित्दै जाँदा उनले त्यस परिवारका सदस्यहरूको व्यवहार, उनीहरूबीचको सम्बन्ध र छिमेकी महिलाबारे अनेक कुरा थाहा पाउँछिन्। कसले सत्य बोलिरहेको छ, कसले कुरा लुकाइरहेको छ र कसको आशंका सही छ भन्ने प्रश्नले उनलाई अलमलमा पार्छ।
फिल्मले एउटा परिवारभित्रको अविश्वासलाई मात्र देखाउँदैन। यसले समाजमा महिला र पुरूषबीचको सम्बन्ध, वैवाहिक जीवनमा उत्पन्न हुने असुरक्षा, सामाजिक प्रतिष्ठा र आर्थिक वर्गबीचको दुरीलाई समेत सूक्ष्म ढंगले प्रस्तुत गरेको छ।
फिल्मको सबैभन्दा रोचक पक्ष यसको कथावाचन हो। निर्देशक फरहादीले दर्शकलाई सुरूमै सबै कुरा बताउँदैनन्। पात्रहरूको व्यवहार र संवादमार्फत बिस्तारै घटनाक्रम खुलाउँदै लैजान्छन्। एउटा पात्रको कुरा सुन्दा सही लाग्ने कुरा अर्को पात्रको दृष्टिकोणबाट हेर्दा फरक देखिन्छ।
यसले दर्शकलाई निरन्तर सोच्न बाध्य बनाउँछ।
फिल्मको शीर्षकमा रहेको आतसबाजी पनि कथाको महत्त्वपूर्ण प्रतीक हो। बाहिर सडकमा नयाँ वर्षको खुसीमा पटाका पड्किरहेका हुन्छन्, तर घरभित्र मानिसहरूको सम्बन्ध विस्फोटको अवस्थामा पुगेको हुन्छ।
बाहिरको उत्सव र भित्रको अशान्तिबीचको यही विरोधाभासले फिल्मलाई थप अर्थपूर्ण बनाएको छ।
फायरवर्क्स वेन्सडे असगर फरहादीको उत्कृष्ट कथावाचन क्षमताको एउटा बलियो उदाहरण हो। यसले सन् २००६ को फजर फिल्म फेस्टिभलमा चारवटा क्रिस्टल सिमोर्ग पुरस्कार प्राप्त गरेको थियो।
त्यस्तै, सोही साल सिकागो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा गोल्ड ह्युगो अवार्ड जितेको थियो।
हेर्नुस् युट्युबमा, अंग्रेजी सबटाइटल सहित