'गर्भावस्था र सुत्केरी' महिला जीवनका संवेदनशील अवस्था हुन्। यस समयमा महिलाको शरीरमा हर्मोनल परिवर्तन हुन्छन्। शारीरिक असहजता, पर्याप्त निद्रा नहुनु, खानपिनमा रोकतोक र परिवारको सहयोग नपाउँदा मानसिक समस्या थप जटिल बन्न सक्छ।
विशेषगरी श्रीमान् वैदेशिक रोजगारीमा रहेका, परिवारबाट टाढा एक्लै बस्ने वा आवश्यक समयमा साथ पाउन नसक्ने महिलामा यस्तो समस्या बढी देखिन सक्छ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. वसन्त शर्मा गर्भावस्था र सुत्केरी अवस्थामा महिलालाई परिवारको साथ र सहयोग अत्यन्त आवश्यक हुने बताउँछन्।
उनका अनुसार गर्भावस्थाको सुरूदेखि नै महिलाको अवस्था बुझ्ने र सुत्केरी भएपछि पर्याप्त आराम तथा सहयोग उपलब्ध गराउने हो भने धेरै समस्या कम गर्न सकिन्छ।
गर्भावस्थाका तीन चरणमा फरक–फरक समस्या
गर्भावस्थाका नौ महिनालाई तीन चरणमा विभाजन गरेर हेर्नुपर्ने डा. शर्मा बताउँछन्। पहिलो तीन महिनामा वाकवाकी लाग्ने र धेरै बान्ता हुने समस्या देखिन सक्छ। यस्तो अवस्थामा महिलाले खान नसक्दा परिवारका सदस्यले नबुझेर खानपिनका विषयमा दबाब दिने गरेको उनी बताउँछन्।
'दोस्रो तीन महिना तुलनात्मक रूपमा सहज हुने भए पनि अन्तिम तीन महिनामा पेट ठूलो हुँदै जाँदा शारीरिक असहजता बढ्न सक्छ। त्यसैले गर्भवती महिलाको अवस्था र आवश्यकताअनुसार परिवारले सहयोग गर्नुपर्छ,' उनले भने, 'पहिलेदेखि नै मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका महिलामा गर्भावस्थाका क्रममा औषधि परिवर्तन गर्नुपर्ने अवस्था पनि आउन सक्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाहअनुसार औषधि मिलाउनुपर्ने हुन्छ।'
एक्लोपनले बढाउँछ मानसिक समस्या
गर्भावस्थामा श्रीमान् तथा परिवारको साथ नहुँदा महिलालाई शारीरिक र मानसिक दुवै रूपमा कठिनाइ हुन सक्छ। श्रीमान् वैदेशिक रोजगारीमा रहेका महिलालाई अस्पताल जान, स्वास्थ्य जाँच गराउन वा आकस्मिक समस्या पर्दा सहयोग पाउन कठिन हुने गरेको डा. शर्माको अनुभव छ।
'गाउँबाट सहरमा आएर छोराछोरी पढाउने उद्देश्यले एक्लै बस्ने महिलामा पनि यस्तो समस्या देखिन सक्छ। आवश्यक समयमा अस्पताल लैजाने, भर्ना हुँदा साथमा बस्ने वा दैनिक काममा सहयोग गर्ने व्यक्ति नहुँदा उनीहरू थप समस्यामा पर्न सक्छन्,' उनले भने, 'गर्भावस्थामा हुने हर्मोनल परिवर्तनका कारण महिलाको खानपिन, व्यवहार र भावनामा पनि परिवर्तन आउन सक्छ। यस्तो अवस्थालाई परिवारले बुझ्नुपर्छ।'
उनले गर्भावस्थामा महिलाले भोग्ने असहजतालाई सामान्य कमजोरी ठानेर बेवास्ता गर्नु नहुने बताए।
पटक–पटक गर्भ खेर गएकामा बढी चिन्ता
पहिले गर्भ खेर गएको अनुभव भएका महिलामा अर्को गर्भावस्थामा पनि त्यस्तै हुने हो कि भन्ने डर र चिन्ता देखिन सक्छ। यस्तो अवस्थामा गर्भ खेर जानुको कारण पहिचान गरी आवश्यक परामर्श र सहयोग दिनुपर्ने डा. शर्मा बताउँछन्।
थाइराइड वा मधुमेहजस्ता समस्या भए तिनलाई सम्बोधन गर्दै गर्भावस्थाको सुरूदेखि नै निगरानी गर्नुपर्छ। पहिले गर्भ खेर गएको थियो भन्दैमा अर्को गर्भ पनि खेर जान्छ भन्ने हुँदैन। हरेक गर्भावस्था फरक हुने भएकाले महिलालाई अनावश्यक रूपमा डर देखाउनुको सट्टा ढाडस दिन आवश्यक हुन्छ।
त्यस्तै, पहिलेको पुस्ताले गर्भावस्थामा भोगेका अनुभव अहिलेका महिलामा पनि लागू हुन्छन् भन्ने छैन। समय र अवस्था परिवर्तन भइसकेकाले गर्भवतीलाई आराम गर्न, आवश्यक हेरचाह लिन र स्वास्थ्यकर्मीको सल्लाहअनुसार चल्न दिनुपर्छ।
वैदेशिक रोजगारी र निःसन्तानपनको समस्या
डा. शर्माका अनुसार वैदेशिक रोजगारीले परिवारमा आर्थिक सहयोग पुर्याए पनि दाम्पत्य जीवन र प्रजनन स्वास्थ्यमा चुनौती थपेको छ। लामो समय श्रीमान विदेशमा रहने र छोटो बिदामा मात्रै घर आउने हुँदा गर्भधारण गर्न चाहने दम्पतीलाई कठिनाइ हुने गरेको उनी बताउँछन्।
'श्रीमान् सीमित समयका लागि मात्रै घर आउँदा त्यही अवधिमा गर्भधारण हुनुपर्ने दबाबले महिलामा चिन्ता बढ्न सक्छ। पुरूषमा पनि शुक्रकिटको कमी वा अन्य प्रजननसम्बन्धी समस्या हुन सक्छन्,' उनले भने, 'कामको प्रकृति, तातो वातावरण र रसायनको सम्पर्कजस्ता कारणले पुरूषको प्रजनन स्वास्थ्यमा असर पर्न सक्ने उनको भनाइ छ। निःसन्तानपनलाई महिलाको मात्रै समस्या ठान्ने सोच परिवर्तन जरूरी छ।'
गर्भधारणमा समस्या भए दुवै जनाले जाँच गराउन र उपचार प्रक्रियामा सहभागी हुन आवश्यक रहेको उनको सुझाव छ।
सुत्केरीपछि पहिलो छ हप्ता संवेदनशील
सुत्केरी भएपछि शरीरमा हुने हर्मोनल परिवर्तन, प्रसवको पीडा, घाउ दुख्ने, संक्रमण, अत्यधिक रक्तस्राव र पर्याप्त निद्रा नपुग्नेजस्ता कारणले महिलालाई शारीरिक तथा मानसिक समस्या हुन सक्छ। बच्चालाई पटक–पटक स्तनपान गराउनुपर्ने र राति पनि उठिरहनुपर्ने भएकाले आमाले पर्याप्त आराम पाउन नसक्ने अवस्था हुन्छ।
'सुत्केरीपछिको पहिलो छ हप्ता विशेष संवेदनशील हुन्छ। यस अवधिमा महिलाको व्यवहारमा देखिने परिवर्तनलाई परिवारले ध्यानपूर्वक हेर्नुपर्छ,' उनले भने, 'लगातार रोइरहने, एक्लै बस्न खोज्ने, बच्चालाई दूध खुवाउन नमान्ने, एकोहोरो टोलाउने वा कसैसँग बोल्न नचाहनेजस्ता लक्षण देखिएमा गम्भीर रूपमा लिनुपर्छ। यस्तो अवस्थामा मनोरोग विशेषज्ञको सहयोग आवश्यक पर्न सक्छ।'
गम्भीर मानसिक समस्या देखिएका महिलाले आफू वा बच्चालाई हानि पुर्याउने जोखिमसमेत हुन सक्ने भएकाले यस्ता लक्षणलाई बेवास्ता गर्नु हुँदैन।
खानपिनमा रोकतोक होइन, सहयोग आवश्यक
सुत्केरी महिलाले के खाने र के नखाने भन्ने विषयमा परिवारमा विभिन्न धारणा पाइन्छन्। बच्चालाई जन्डिस हुन्छ भन्दै आमालाई माछामासु खान नदिने वा बेसार, लसुन र प्याज खान रोक्ने चलनबारे डा. शर्मा प्रश्न उठाउँछन्।
उनका अनुसार बच्चालाई जन्डिस हुँदैमा आमाले खानेकुरा बार्नुपर्छ भन्ने हुँदैन। यस्ता धारणाका कारण सुत्केरी महिलाको खानपिनमा अनावश्यक रोकतोक गर्नुको सट्टा आवश्यक पोषण र आराममा ध्यान दिनुपर्छ।
आमाको दूध उत्पादनमा पनि मानसिक तनावले असर गर्न सक्छ। त्यसैले घरमा सहज र सहयोगी वातावरण बनाउन आवश्यक हुन्छ। स्तनपानले आमा र बच्चाबीचको सम्बन्ध बलियो बनाउन पनि सहयोग गर्छ।
श्रीमान् र परिवारको साथ सबभन्दा महत्त्वपूर्ण
गर्भावस्था र सुत्केरीमा महिलाको मानसिक स्वास्थ्य जोगाउन परिवारको सहयोग महत्त्वपूर्ण हुने डा. शर्मा बताउँछन्।
श्रीमानले घरको काममा सघाउने, स्वास्थ्य जाँचका लागि सँगै जाने र महिलालाई आराम गर्ने समय उपलब्ध गराउने गर्नुपर्छ। श्रीमान् विदेशमा भए सम्भव भएसम्म सुत्केरी हुने समयमा बिदा मिलाएर साथ दिनु उपयुक्त हुने उनको सुझाव छ।
पहिलेदेखि मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका महिलाले चिकित्सकको सल्लाहबिना औषधि बन्द गर्नु हुँदैन। परिवारले पनि पुराना मान्यता र अनावश्यक रोकतोक हटाउँदै महिलाको आवश्यकताअनुसार सहयोग गर्नुपर्छ।
त्यस्तै, सामाजिक सञ्जालमा देखिएका सबै सामग्रीलाई सत्य मानेर पछ्याउनु हुँदैन। स्वास्थ्य सम्बन्धी जानकारी लिँदा विज्ञको सल्लाह लिन, सकारात्मक सामग्री पढ्न, स्क्रिन टाइम घटाउन तथा योग, व्यायाम र ध्यानजस्ता गतिविधिमा ध्यान दिन सकिन्छ।
'गर्भावस्था र सुत्केरी महिलालाई केवल खानपिनमा बार्ने वा निर्देशन दिने होइन, उनीहरूको अवस्था बुझेर पर्याप्त आराम, पोषण र मानसिक साथ दिनुपर्छ,' शर्मा भन्छन्, 'सन्तान जन्माउने जिम्मेवारी दुवै अभिभावकको भएकाले यस अवधिमा श्रीमान् र परिवारको सहयोग अपरिहार्य हुन्छ।'
(स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. वसन्त शर्मासँग गरिएको कुराकानीका आधारमा तयार पारिएको लेख)