आजकल बजारमा समगर्मीमा छ; कतै दसैँ बोनस नपाएको, कतै तलब नपाएको, कतै सर्टिफिकेट राखेको, अचम्मसँग एकाएक यो मुद्दा आयो। यसमा सत्य, असत्य जे होस्।
मास्टरी गरेको साढे दुई दशक भयो। अचम्मका मान्छेहरू भेट्छु; कतै अभिभावक, कतै मालिक, कतै मास्टर मित्रहरू, कतै प्रशासकहरू, कतै विद्यार्थी, कतै सरकारी मान्छेहरू, जो हेर्यो त्यही अचम्म। हुन त मलाई पनि कसै-कसैले अचम्मको मान्छे भन्दा हुन्। कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि भनेझैँ हरेक मान्छेको सोच फरक।
एकताका एक विद्यालयमा काम गर्दा विद्यालय मालिक र घर मालिकको द्वन्द्व भयो। अन्त्यमा विद्यालय बन्द भयो। बिचरा स्कुल सञ्चालकहरू पनि पीडामा छन्। अर्कोतर्फ कतै विद्यालय राम्रा छन् त कतै विद्यार्थी राम्रा छन्। कतै मास्टर राम्रा छन्। कोही कतै, कहीँ, राम्रा, नराम्रा हुनमा समाज, देश, परिवेश दोषी छ, तर यहाँ कोही कसैले पनि आफूलाई आफ्नो पनि दोष छ भन्न र मान्न तयार छैनन्।
स्कुल, कलेज, विद्यार्थी, मालिक, सरकार, प्रकाशक, कर्मचारी, शिक्षकसँगको उठबसको धेरै वर्ष भयो। यसैले विगतका केही वर्षदेखि विद्यालयका राम्रा र नराम्रा कुरा लेखिरहेको छु। यसमा कसैलाई खुइल्याउने, सताउने, दुःख दिने, रुवाउने, बेइज्जत गर्ने मेरो मनसाय छैन र त्यसरी बाँच्न पनि परेको छैन।
दसैँमा सरकारको श्रम विभाग भन्नेले पहिलो पटक मास्टरले दसैँ खर्च नपाएको देखेछ। यसैबीच एकजना शिक्षा व्यवसायीले यो कुरा सञ्जालमा लेखे, उनको मनसाय के कसो हो? त्योतिर म जान्न। कुरा आएको, चर्चा भएको विषय धेरै पेचिलो छ। सबैतिर विकृति हुँदा विद्यालयतिर मात्र विकृति नहुने होला र?
कतै कुनै बेला स्ववियुको पैसा सकाउने थिए, कतै शैक्षिक भ्रमण लुँड्याउने पनि थिए, अनेक देखियो। जताततै बेइमानका पराकाष्ठा छन्। जहाँ हेर्यो त्यही विकृति, यसैले स्कुलमा र कलेजमा विकृति देख्दा नौलो लाग्दैन।
शिक्षा भन्नासाथ स्कुल, विद्यार्थी, अभिभावक, मास्टर देखिने यी हुन्, पर्दाभित्र अनेक छन्। यहाँ पनि बिचौलिया छन् नि, अड्डा-अदालततिर मात्र होइन। बिचौलिया भन्नासाथ बीचमा बसेर काम गर्ने र पारिश्रमिक लिने हो, तर यहाँ पारिश्रमिकभन्दा बढी पनि असुल्छन् र गुनासो आएको हो।
एउटा स्कुलमा ७ वर्ष पढाएको मास्टरलाई तपाईंले पढाएको भएन भनेर निकाल्यो। कारण के रहेछ भने त्यो स्कुल साहुको दाजुलाई जागिर खुवाउन रहेछ, यस्तो त सामान्य हो। एकातिर विद्यार्थी कम भएर, विद्यार्थीले स्कुल छाड्छ कि भनेर स्कुल डराउँछन् र तर्सन्छन् भने अर्कोतर्फ विद्यार्थी धेरै भएर स्कुलसँग विद्यार्थी डराउँछन्, स्कुलले कतै निकाल्छ कि भनेर। कतै मनोगत, कतै वास्तविक जे भए नि समस्या छ है सबैतिर।
कहीँ प्राङ्गणमा नअट्ने गरी विद्यार्थी छन्, कतै प्राङ्गणमा बिलाउने विद्यार्थी छन्। आखिर मेहनतकै करामत होला नि, भाग्य त पक्कै होइन। शिक्षा मन्त्रालय, विभाग, स्थानीय तह सबै बेखबर छन्। आजसम्म कुनै स्कुल र कलेजमा सरकारको मान्छे आएको देखेको छैन। कुरा कसैले ठूला नगरे हुन्छ, कमजोरी स्कुल, सरकार, विद्यार्थी, अभिभावक, मास्टर सबैको छ।
बा-आमा अर्थात् अभिभावकलाई छोराछोरी कस्तो पढ्छन् भन्ने चासो छैन। दम्मडीको पछाडि दौड्न बाध्य छन्, त एकाध चासो राख्ने भेटिन्छन्। बाआमालाई नै मतलब छैन भने सरकार त आमापट्टि न बाउपट्टिको, झन् के हेरोस्? फाट्टफुट्टे विज्ञ टोपलेकाहरूले अन्ठसन्ठ आदर्श छाँट्छन्। व्यावहारिक कुरा कोही गर्दैनन्। सबै उग्र छन्, उग्रताले केही हुन्न, समझदारीले सल्टाउनुपर्छ।
सरकार निरीह बनेर हामीले होइन, निजीले चलाउने भनेर लाइसेन्स बाँडेपछि अहिले स्कुललाई अङ्कुश लगाउन मिल्दैन। उता ठेक्का लिने वर्ग मास्टर पनि लचक छन्, जब बा-आमाले नै सकिएन बा भनेर हात झिकेपछि जागिरेले कति मात्र गर्न सक्ला र?
विद्यार्थीलाई राम्रो पढ, मेहनत गर भन्दा च्याट जिपिटी छ, त्यहाँबाट सारेको भन्दछन्। गरिब देशलाई पो सखाप पार्ने भो प्रविधिले।
उता स्कुलवालाहरू कर तिर्छन्, व्यवसाय चलाउँछन्, बिजनेस भनेपछि खासै नाफा नै अहम् रह्यो। नाफा कमाउन यता चिम्टो, उता चिम्टने गर्नुपर्यो, सबैतिर टाल्दाटाल्दै ठिकै छ बिचराहरूलाई पनि। हेर्दा कमायो भनिन्छ। ऋणमा डुबेका स्कुल पनि छन्। उता बच्चा पढाउन नसकेर स्कुलबाट निकाल्ने अभिभावक पनि छन्।
एकातिर अभिभावक थर्काउने स्कुल पनि छन्, अर्कोतर्फ स्कुलवालालाई थर्काउने अभिभावक पनि छन्। एक से बढकर एक। कोही कसैलाई पनि बच्चा पढोस् भन्ने छैन। बस् स्कुल गएको छ, त्यही भए पुग्यो। उता हेर्ने सरकारी जागिरे कति गरून्। कहिले, कुन मन्त्रालय चहार्नुपर्छ। एक ठाउँ बसेर काम गर्न पाउँदैनन्, ऊ भलै किन काम गरोस्। यसो कडा बनोस् त सबैको तारो, नेताको धम्की आउँछ।
बिचरा सरकारीका मास्टरलाई वडा अध्यक्ष र पालिकाले सरुवा गरेर दुःख दिन्छन्। स्थानीय सरकार बलियो छ, काम गरेको छ भन्दछन्, तर बलियो घर/भवन मात्रै छ। अरू कुरा त सबै अन्य ठाउँजस्तै बिग्रेको छ। विद्यालय सुधार्ने कुरा कहिलेकाहीँ आक्कलझुक्कल आउँछ/सेलाउँछ। कसलाई चासो? हुनेखानेको बच्चा दार्जिलिङ/भारत/विदेशतिर छन्। गरिबदुःखीका सन्तान कसलाई चासो? कुरा उठाएजस्तो गर्छन्/सेलाउँछन्।
केही वर्ष सरकारी मास्टरको पनि राम्रै सङ्गत गरियो। आफू निजीतिर पढाए पनि आफन्तीले आएपिच्छे जागिर कहाँ सोध्छन्, सरकारी कि निजी भनेर? उता मालिकहरू पनि चिन्तामा छन्। एकातिर सबैले लुट्यो भन्दछन्। उता आफ्नो हालत पतला छ, मास्टरको तलब दिन सकेको छैन। उधारो छ, कसिकसाउ गरे बच्चा निकाल्ला भन्ने डर, नगरे पैसा तिर्न धेरै बाँकी छ। महिना खप्टिँदै गएको छ।
आजकलका बच्चा स्मार्ट छन्, बच्चादेखि नै झुट बोल्न सिपालु, बहाना पनि कति। किताबभन्दा बढी स्क्रिन हेर्छन्। के गर्ने, बाआमा पनि दिक्क छन् बिचराहरू। साना भइन्जेल मर्छन् कि भन्ने डर, ठूला भएपछि मार्लान् कि भन्ने डर जस्तो छ। मर्यादा, आदर, शिष्टता, नम्रता, भद्रता, मिजास, आज्ञाकारिता कुन चराको नाम थाहा छैन। कुरा उठायो भने यो त स्कुलले सिकाउनुपर्यो नि भन्दछन्। सिके पो सिकाउनु। शिक्षकसँग कला हुनुपर्यो नि भन्न भ्याउँछन्।
आज सबैतिर चुनौती नै छ। एकातिर तलब भत्ता त अर्कोतिर गुणस्तरीय शिक्षा महान् चुनौती छ। मास्टरको मर्का, अभिभावकको मर्का, मालिकको मर्का, विद्यार्थीहरूको मर्काको चाङ छ। आखिर दोष कसको त? स्वाभाविक सरकार, शासक, देश चलाउनेहरूकै हो। यो अहिले मात्र होइन, दशकौँदेखि बिग्रँदै आएको हो। झ्याप्प सुध्रिन सक्दैन।
सबै बिउँझनुपर्छ, अहिले सबै निदाएका छन्, चाहे मास्टर, विद्यार्थी, स्कुल, अभिभावक सबैजनामा चेत खुल्नुपर्यो। विदेशतिर बच्चाको अधिकार बढी कुरा गरेर मास्टरलाई गाह्रो छ। यता नेपालमा अधिकारभन्दा नि चेपुवामा परेर मास्टरलाई गाह्रो छ। नखाऊ भने दिनभरको सिकार, खाऊँ भने कान्छा बाउको अनुहार जस्तो छ।
समस्या निकाल्नु/उठाउनु एउटा कुरा हो भने समाधान अर्को कुरा हो। यहाँ कोही चोखो/अछुतो छैन। सबैले स्विकार्नु पर्छ, सच्चिनु र सुध्रिनुपर्छ। नियम, प्रणाली, ऐन विद्यमान छन्, मात्र कार्यान्वयनको खाँचो छ। योगदान धेरथोर सबैको छ, बलिदान कोही गर्न सक्दैनन्।
अन्त्यमा, शिक्षा सुधार्न सुरुमा विद्यालयबाट प्रारम्भ गरौँ, बिस्तारै माथिल्लो तहमा जाऊँ। पूर्ण कोही छैन, सबैमा कमी-कमजोरीहरू छन्, काम गर्दा कमजोरी हुन्छ। कक्षाकोठादेखि पाठ्यसामग्री, खेलकुद, मनोरञ्जन, मनोसामाजिक परामर्श, अभिभावक-विद्यालय सञ्चार, प्रविधिको प्रयोग, शिक्षक तालिमको व्यवस्थाबाट परिणाम निकाल्न सकिन्छ। आर्थिक पक्षहरूको निगरानी, शुल्क, पारिश्रमिक, कर सबै जोडिएका विषयहरू हुन्, सबैमा अनुगमन मूल्याङ्कन गरौँ।