केही दिनअघि शुक्रबारको दिन कार्यालयको काम सकाएर एकजना साथीसँग उनको घरमा गएर सँगै रातिको खाना खाने योजना बनायौँ। घर जाने बाटोमा अनेक कुराकानी गर्दै मोटरसाइकल गुडायौँ।
उनको घर नजिकको बाटोमा भएका बिजुलीका पोलका बत्तीहरू केही दिनदेखि बिग्रिएका कारण बाटो पूरै अँध्यारो थियो। आकाशले पनि त्यो साँझलाई कुनै विशेष कुराका लागि छोपेर राखेको हो कि जस्तो लागिरहेको थियो।
घर कार्यालय नजिकै थियो र बाटोमा गाडीहरूको चाप पनि नभएकोले हामी चाँडै पुग्यौँ। घरभित्र प्रवेश गरेपछि साथी एकछिन फ्रेस हुन गइन् र म बैठक कोठाको सोफामा बस्दै आराम गर्न थालेँ।
बसिरहेको बेला मेरो आँखा भित्तामा बनाइएको एउटा र्याकमा सजाएर राखिएका अनेक रङ्गीन सामग्रीहरूमा पुग्यो। सेरामिकबाट बनेका विभिन्न सामग्री थिए। कुनै जनावरका आकृतिका थिए, केहीमा नेपाली परम्परा झल्किन्थ्यो भने केहीमा अनेक किसिमका चित्रहरू कोरिएका थिए, जसलाई अहिले सम्झिन पनि गाह्रो हुँदैछ। तर ती सबैमध्ये मैले सम्झिरहने एउटा कुरा थियो, विभिन्न डिजाइन र रङ मिलाएर सेरामिकबाट बनाइएका चियाका कपहरू।
म ती कपहरूलाई एकएक गरी नियाल्दै तिनको बनावट र आकृतिभित्र हराउन थालेँ।
जसरी अँध्यारो कोठामा एउटा सानो मैनबत्तीको ज्वालाले सबैको ध्यान आफूतिर तान्छ, त्यसैगरी ती अनेक कपहरूमध्ये एउटा रातो कपले मेरो ध्यान आफूतिर तान्यो। मैले त्यसलाई र्याकबाट निकालेर हत्केलामा लिएँ र केही बेर एकटक नियालिरहेँ। त्यसको बनावट अरू कपहरूभन्दा फरक र असाध्यै सुन्दर थियो, जसरी भीडमा पनि कुनै एउटा अनुहार अरू सबैभन्दा छुट्टै देखिन्छ।
त्यो रातो कपलाई हत्केलामा समाएर म त्यसैभित्र हराइरहेको बेला साथी पछाडिबाट एक्कासि आएर सोधिन्, ‘के देखेको?’ उनको प्रश्नले म एकछिन झसङ्ग भएँ।
‘तिमीले त घरमा एकदम सुन्दर र राम्रा सामानहरूको सङ्ग्रहालय नै बनाएको रहेछौ,’ मैले भनेँ।
उनी बिस्तारै मुस्कुराइन्।
‘अँ, मलाई सानैदेखि सेरामिकबाट बनेका यस्ता रङ्गीन चीजहरू मन पर्छन्। घरमा सजाएर राख्छु।’
‘अनि यी सबैमध्ये चियाका कपहरू धेरै रहेछन् नि।’
‘तिमी कसरी बिर्सन सक्छौ कि मलाई पनि तिमी जस्तै चिया खान एकदम मन पर्छ। बजार घुम्दा कुनै राम्रो कप देख्यो कि उठाइहाल्छु। ल भन, अब के खान्छौ? कि चिया मात्र खाने हो?’ उनले हाँस्दै सोधिन्।
‘खाना पनि खाऊँ। तर त्योभन्दा पहिले सुकमेल राखेको मिठो दूधको चिया खाऊँ।’
‘तिमी जस्तो त पकाउन आउँदैन, तर सकभर मिठो बनाउन प्रयास गर्छु,’ भन्दै उनी भान्सातिर लागिन्।
उनी भित्र गएपछि म पुनः र्याकमा सजिएका सामग्रीहरू अवलोकन गर्दै रमाउन थालेँ। तर मेरो मन भने बारम्बार त्यही रातो कपतिर फर्किरहेको थियो।
एकछिनपछि भान्साभित्रबाट चियाको मिठो बास्ना आयो। मलाई मनपर्ने दुई वटा रातो कपमा चिया लिएर उनी बाहिर आइन् र एउटा कप मलाई दिइन्।
कप समाउँदा त्यसको न्यानोपन मेरो हत्केलामा छोयो। किन हो कुन्नि, त्यो न्यानोपनले मलाई कुनै धेरै पुरानो, परिचित स्पर्शको झझल्को दियो।
हामी त्यही सोफामा बस्दै अनेक कुराकानी गर्न थाल्यौँ।
‘अनि भन, चिया कस्तो पाकेको छ?’ चियाको चुस्की लिँदै उनले सोधिन्।
‘एकदम मिठो पाकेको छ। मैले पकाएको भन्दा पनि बढी मिठो,’ मैले हाँस्दै भनेँ।
‘ल, उसो भए अर्को कप पनि थपिदिन्छु। अनि खाना पनि पाक्दै छ,’ उनले भनिन्।
बिस्तारै चियाको स्वाद लिँदै कुरा गरिरहेका बेला उनले अचानक सोधिन्, ‘अनि सुशिल, तिमी चिया त धेरै मन पराउँछौ, तर रातो कपमा दिएको चिया बढी मनपर्दो रहेछ तिमीलाई। यो रातो चियाको कप पछाडि कुनै लुकेका कथा छ कि?’
उनको प्रश्न सुनेर म एकछिन मौन भएँ र उनको आँखामा एकटक हेरेँ। त्यो मौनता लामो थिएन, तर त्यो छोटो समयमा मेरो मनभित्र भरिएका धेरै वर्ष पुराना कुराहरू एकैचोटि ओहोरदोहोर गरिसकेका थिए।
‘के हो, यस्तो रिसाएर हेरेको? खाइदिने हो कि? जिज्ञासा त राख्न पाइन्छ नि, कि पाइँदैन?’ उनले भनिन्।
मैले नम्र स्वरमा भनेँ, ‘पाइन्छ, किन नपाउनु र? यही प्रश्न नै किन? अरू केही सोध न त।’
तर उनी त्यही जिज्ञासामा अडिग रहिन्।
‘कति जिद्दी तिमी पनि! ल, सुन उसो भए।’
उनी केही अगाडि झुकिन्, मानौँ अब साँच्चै कुनै पुरानो रहस्य सुन्न लागेकी हुन्। उनका आँखामा एउटा पुरानो जिज्ञासा जाग्यो।
मैले भनेँ, ‘यो रातो कपमा चिया खाएको बेला यसको रातो रङले मलाई कसैको बारेमा अनेक कुराहरू सम्झाउँछ। त्यसैले मलाई रातो कपमा चिया खान एकदम मन पर्छ।’
‘यति मात्र? अलि खुलेर भन न। उनको नाम के हो, कहाँकी हुन् र कस्ती छिन्, त्यो पनि त भन,’ उनले थप जिज्ञासा राखिन्।
‘नाम त भन्दिनँ, तर अरू कुराहरू चाहिँ भन्न सक्छु।’
उनी अलि रिसाएझैँ गरेर भनिन्, ‘ल, ठीकै छ। भन।’
मैले कपतिर हेर्दै लामो सास तान्दै विस्तारै भनेँ, ‘यो कपको बाहिरी रातो रङले मलाई कुनै बेला उनी रातो साडीमा दुलहीझैँ सजिएकी सम्झना दिलाउँछ। कानमा सेतो झुम्का हल्लिँदा त्यसबाट निस्कने सानो झङ्कार, निधारमा रातो टीका, ओठमा रातो लिपस्टिक, जुन शब्दै नबोलीकन पनि धेरै कुरा भन्थ्यो, हातमा रातो चुराको छनछन आवाज, लामो र पातलो औँलामा रातो नेलपालिस। यी सबै एकैचोटि आँखाअघि आउँछन्। यस्तो लाग्छ, कुनै चित्रकारले एउटै क्यानभासमा रातो रङका सबै छिटाहरू भरिदिएर एउटा सुन्दर, जिउँदो आकृति बनाएको होस्।
उसको शरीरबाट आउने त्यो हल्का मीठो सुगन्ध, जुन ऊ टाढा गएर पनि मेरो मनबाट कहिल्यै टाढा जान सकेन। उसको हाँसो, जसले कुनै साँझलाई पनि बिहानीको मिर्मिरे उज्यालोझैँ बनाइदिन्थ्यो। अनि कालो काजल लगाएका उसका ती आँखाहरू, जसमा हेरेर म आफैँलाई बिर्सिन्थेँ। रातो कप समाउँदा मलाई त्यही सुगन्ध, त्यही झङ्कार, त्यही हाँसो सबै एकैचोटि झल्झली सम्झना आउँछ, जसरी पानी परेपछिको पहिलो झिल्काले सुकेको माटोको बास्ना जगाइदिन्छ।’
उनी केही बेर चुप लागेर सुनिरहिन्।
‘पूरै उसमै डुबेर भनिरहेका छौ। अरू केके याद आउँछ?’ सोधिन्। उनको स्वरमा कौतूहलसँगै एउटा अनौठो नम्रता मिसिएको थियो।
मैले कपलाई दुवै हत्केलाबीच समात्दै भनेँ, ‘अरू के भनूँ? जबजब यो रातो कप आफ्ना दुवै हत्केलाले समात्छु, यसको न्यानोपनले मलाई लाग्छ, म उसको कम्मरलाई आफ्नै शरीरमा बाँधिरहेको छु। त्यो क्षणमा समय पनि हामीसँगै रोकिएको जस्तो लाग्थ्यो। कपको किनारबाट ओठले चियाको चुस्की लिँदा आउने त्यो सानो चिसो-न्यानो स्पर्शले उसको ओठको न्यानोपन सम्झाउँछ, जुन कुनै समय मेरो ओठसँग बिलाएको थियो, बाहिर पानी परिरहेको थियो र संसारमा जे भइरहेको भए पनि हामीलाई त्यसको कुनै वास्ता थिएन।
चियाको बास्ना कोठाभरि फैलिँदा त्यही बास्नामा उसको शरीरको सुगन्ध मिसिएर आएजस्तो लाग्छ। उनी अहिले पनि मेरा हरेक सम्झनासँग यसरी घुलिसकेकी छिन् कि ती सम्झनाहरूबाट उनलाई छुट्याउनै सक्दिनँ।
कहिलेकाहीँ म आफैँलाई सम्झाउँछु, यो त केवल एउटा मात्र कप हो, माटो र रङले बनेको एउटा साधारण कप। यसमा न उसको स्पर्श छ, न उसको आवाज, न ऊ आफैँ। तर मनलाई कसरी सम्झाऊँ? केही वस्तुहरू वस्तु मात्र रहँदैनन्, तिनले हामीसँग बिछोड भएका व्यक्तिहरूको केही अंश आफूसँगै बोकेर बस्छन्। यो रातो कप पनि मेरो लागि त्यस्तै भएको छ।
यसलाई समात्दा, म चियाको कप मात्र समातिरहेको हुँदिनँ, वर्षौँअघि छुटेको एउटा समयलाई फेरि केही क्षणका लागि आफ्ना हत्केलाबीच थामिरहेको हुन्छु। सायद, त्यसैले पनि यो रातो कपको चियासँग जोडिएका सम्झनाहरू मलाई कहिल्यै साधारण लागेन। यसको रातो रङमा मलाई उसको ओठको रङ, त्यो साँझको लाज र हाम्रो अधुरो प्रेमको केही अंश अझै देखिन्छ। त्यसैले कपलाई टेबुलमा राखिसकेपछि पनि मेरा औँलाहरू केही बेर त्यसकै न्यानोपन खोजिरहन्छन्।
अब तिमी नै भन, यति धेरै सम्झना बोकेको यो रातो कप र यसभित्रबाट आइरहेको मीठो बास्नाको चियालाई म कसरी मन नपराऊँ? म त चाहेर पनि यसलाई बिर्सन सक्दिनँ।’
मेरो कुरा उनी एकाग्र भएर सुनिरहेकी थिइन्। मेरा शब्दहरूमा हराएकी थिइन्। उनी मेरो छेउमै बसिरहेकी थिइन् र मलाई एकोहोरो हेरिरहेकी थिइन्, मानौँ कसैले एकदम पुरानो, बिर्सिसकेको धुन फेरि सुनेको होस्।
अघिसम्म एकदम बोलिरहने, चकचक गर्ने मेरी साथी मेरो कुराहरू सुनेपछि एकाएक मौन भइन्।
मैले उनलाई अलि हल्लाउँदै सोधेँ, ‘के भयो? किन यति सिरियस भएको?’
उनी केही बेर चुप लागिन्। त्यसपछि बिस्तारै लामो सास छोड्दै भनिन्, ‘कति धेरै सम्झेको उसलाई। मेरो मन नै भारी भयो सुनिरहँदा। म त तिम्रो प्रेमिकाको पूरै आकृति नै देखिरहेकी छु तिम्रो आँखामा।’
उनको स्वरमा यसपटक हाँसो थिएन। केही क्षण उनी मेरो आँखामै हेरिरहिन्, मानौँ त्यहाँ मैले वर्षौँदेखि लुकाएर राखेको कुनै पुरानो तस्वीर देखिरहेकी हुन्। म केही बोलिनँ। बोल्न खोजेको भए पनि शब्दहरू घाँटीमै अड्किएजस्तो भयो।
उनले फेरि बिस्तारै भनिन्, ‘तिमीले उसलाई बिर्सेका रहेनछौ है?’
मैले मुस्कुराउने प्रयास गरेँ, तर त्यो मुस्कान आफैँसँग लुकाउन खोजेको स्वीकारोक्ति जस्तो मात्र भयो। बाहिर साँझ झन् गाढा हुँदै थियो। टेबुलमाथिको रातो कपमा बाँकी रहेको चिया चिसिँदै गइरहेको थियो, तर त्यसको बास्नाले भने धेरै वर्षअघिको त्यो साँझ फेरि बिस्तारै मेरो वरिपरि फैलिन थालेको थियो।
उनलाई यसरी गम्भीर भएको सायदै कुनै बेला हुन्छ। केही क्षणपछि भनिन्, ‘यति त मलाई मेरो प्रेमीले सम्झे हुन्थ्यो।’ उनको स्वरमा अलि ईर्ष्या र लालसा दुवै झल्किन्थ्यो।
मैले पनि अलि मुस्कुराउँदै भनेँ, ‘होला नि, तिम्रो प्रेमीले तिमीलाई मैले सम्झेको भन्दा पनि बढी सम्झिरहेको होला।’
आफ्ना दुवै हत्केलाले चियाको कपलाई कस्सिएर समातिन्। लामो सास लिइन् र टाउको तल गरी केही बेर कपतिर टोलाइरहिन्। त्यसपछि बिस्तारै भनिन्, ‘तर काश, ऊ पनि तिमी जस्तै हुन्थ्यो। मलाई पनि तिम्रो रातो कपझैँ न्यानो गरी माया गर्थ्यो।’
उनको त्यो कुराले मलाई एकछिन मौन बनायो, अनि मैले मुस्कुराउँदै भनेँ, ‘त्यस्तो त कहिल्यै नहोस्। किनकि त्यो रातो रङको अर्को पनि अर्थ हुन्छ, जसबारे सायद म कहिल्यै कसैलाई भन्न सक्दिनँ।’
मेरो जवाफ सुनेर उनले थप केही सोधिनन्। उनलाई पनि थाहा थियो, त्यसको जवाफ म उनलाई समेत दिन सक्दिनँ।
सायद, कहिलेकाहीँ मौनताले नै प्रेमको सबैभन्दा गहिरो कुरा भनिदिन्छ, शब्दले भन्दा धेरै।
केही बेरपछि उनले वातावरणलाई हल्का बनाउँदै भनिन्, ‘आजसम्म अनेक पटक सोध्दा यसबारे केही जवाफ दिएनौ। थाहा छ आज पनि भन्दैनौ, तर सोधेको झुक्किएर भन्छौ कि? त्यसो भए अब जाऊँ, खाना तयार भयो।’ उनको आवाजमा अलि हाँसो र अलि नरम गुनासो दुवै मिसिएको थियो।
हामी रातिको खाना खान थाल्यौँ। धन्न, त्यो दिन मासु खाने दिन परेको रहेछ। खसीको मासु, रोटी, गुन्द्रुकको अचार र हरियो सलाद निकै मिठो पाकेको थियो। म स्वाद मानीमानी खाइरहेको थिएँ र मलाई त्यसरी खाएको देखेर उनलाई पनि भित्रैदेखि खुसी लागिरहेको थियो।
खाना खाइसकेपछि उनीसँग केही बेर सँगै बसेर फेरि अर्को कप चिया खाएँ। यसपटक मैले उनीमा एउटा कुरा देखेँ। उनी पहिलाभन्दा बढी मौन थिइन्। सायद उनको मनमा पनि मेरा मनमा खेलेजस्तै कुराहरू खेलिरहेका थिए।
मैले उनलाई सोधेँ, ‘के भएको? किन एकदम मौन भयौ?’
उनले हल्का मुस्कुराउँदै भनिन्, ‘केही होइन। तिम्रा कुराहरू मनमा खेलिरहेका छन्। अनि चिया पनि एकदम मिठो पाकेको छ। यसको स्वादमा रमाइरहेकी छु, तिमी जस्तै।’ उनले आफ्नो हातमा रहेको रातो कपलाई केही बेर नियालिरहिन् र ओठमा उही हल्का मुस्कान लिएर, अघिभन्दा अलि बढी स्वाद लिएझैँ गरी चियाको चुस्की लिन थालिन्।
मैले उनलाई थप केही सोधिनँ। तर उनको कुरा सुनिरहँदा र परिवर्तन भएका मुहार हेर्दा म सायद बुझ्न सक्थेँ, उनको मनमा के खेलिरहेको थियो। उनको आँखामा पनि कुनै पुरानो साँझको छाया देखिएजस्तो लाग्यो। कुनै नाम नभएको अनुहार, कुनै अधुरो संवाद, कुनै बिर्सन खोजिएको स्पर्श।
त्यो क्षण मलाई लाग्यो, सायद उनी पनि आफ्नै कुनै रातो कपको कथा सम्झिरहेकी थिइन्, जुन उनले आजसम्म म लगायत कसैलाई भन्न सकेकी थिइनन्।
चिया सकेपछि रातिको भोजका लागि उनलाई धन्यवाद दिँदै मैले आफ्नो बाइक स्टार्ट गरेँ।
‘फेरि भेटौँला,’ भन्दै उनी ढोकामै उभिइन्। केही क्षण हामी एकअर्कालाई हेरिरह्यौँ। बिदा हुने क्रममा उनले केही नभनी मलाई एकपटक अँगालो हालिन्। त्यो अँगालो सामान्य र छोटो थियो, तर त्यसमा उनलाई भनिएको मेरो कथाभन्दा धेरै कुराहरू लुकेका थिए।
मैले हात हल्लाएँ र त्यही अँध्यारो बाटोतर्फ लागेँ।
बत्ती नबलेका ती बिजुलीका पोलहरू फेरि अगाडि फैलिँदै गए। हावाले मेरो अनुहार छोयो। एकछिनका लागि यस्तो लाग्यो, कसैले टाढाबाटै मलाई सम्झेर एउटा सानो सुस्केरा पठाएको होस्।
बाइक गुडाउँदै गर्दा मेरो मन फेरि त्यही रातो कपतिर फर्कियो। त्यो कप अहिले पनि उनको घरको र्याकमा आफ्नै ठाउँमा थियो। तर त्यसको न्यानोपन भने मेरो हत्केलाबाट हटेको थिएन।
अनि एकाएक मलाई मेरो साथीको अनुहार सम्झना आयो। चिया पिइरहँदा कपलाई एकटक हेरिरहेकी उनी। अघिभन्दा धेरै मौन। मैले सोध्दा पनि ‘केही होइन, चिया एकदम मिठो पाकेको छ’ भनेर मुस्कुराएकी उनी।
सायद साँच्चै केही थिएन। सायद थियो। मैले पछाडि फर्केर देखिनँ।
अँध्यारो बाटो अगाडि बढिरह्यो। तर मनभित्र कतै एउटा रातो रङ अझै बलिरहेको थियो। त्यो रातो कपको कथा मैले उनलाई सुनाएँ। तर उनको कथा के थियो, मैले सोधिनँ। सायद केही कथाहरू सुनाउनका लागि होइनन्। ती केवल एउटा सुगन्धमा, एउटा स्पर्शमा, एउटा रङमा, वा कुनै साधारण चियाको कपको न्यानोपनमा चुपचाप बाँचिरहन्छन् र त्यो रात, उनको घरको र्याकमा एउटा रातो कप चुपचाप बसिरहेको थियो।
सायद त्यसको आफ्नै एउटा कथा थियो। कुनै नभनिएको रातो कपको कथा। चुपचाप। कसैलाई नभनी।