बाँकेको डुडुवा गाउँपालिका –२ जाफरपुरवामा बुधबार एकाबिहानै एउटा अनौठो घटना भयो।
काल्पनिक र ‘रिल लाइफ’ मा मात्रै हुने जस्तै घटना गाउँमा भयो। एक १८ वर्षीया किशोरी गाउँकै अन्दाजी ४५ फिट अग्लो टावरको टुप्पोमा चढेकी थिइन्। परिवर्तित नाम (करिना निशा) त्यही माथि बाट हाम फालेर आफ्नो जीवन लिला समाप्त पार्ने चेतावनी दिइरहेकी थिइन्।
अनेकन तरिकाले तलैबाट सम्झाइबुझाइ गर्न खोजे तर उनी ओर्लिन मान्दै मानिरहेकी थिइनन्। बरू कोही माथि टावरमा चढ्न प्रयास गर्नासाथ हाम फाल्ने र ज्यान दिने हट जारी राखिन्। करिनाको त्यो जिद्दी देखेर स्थानीयहरू आश्चर्यमा परे। घर परिवार, आफन्त र गाउँले कसैले भनेको पनि उनले मान्दै मानिनन्।
उनले कसैले भनेको नमानेपछि स्थानीय प्रहरीलाई खबर गर्न बाध्य भए।
स्थानीयले उनको हर्कतबारे बिहानै ६:२० तिर सूचना दिएका थिए। नजिकको प्रहरी चौकीका प्रहरी तत्काल घटनास्थल पुगे। प्रहरीले अनुरोध गर्दा पनि ती किशोरीले टावरबाट ओर्लिन मान्दै मानिनन्।
केही उपाय नचलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट झन्डै ७ किलोमिटर पूर्वको जफरपुरुवा गाउँमा प्रहरी निरीक्षक केशव केसीको नेतृत्वमा ११ जनाको टोली बिहान साढे ७ बजेतिर पुग्यो।
ती किशोरीले लगातार एउटै जिद्दी गरिरहेकी थिइन् ‘मेरो प्रेमी ल्याइदेऊ, नत्र यहीँबाट हाम फालेर प्राण त्यागिदिन्छु।’
प्रहरी निरीक्षक केसीले पनि करिनालाई काउन्सिलिङ गर्दै क्रमिक रूपमा संझाउन थाले।
त्यही बीचमा त्यहाँ पुगेका महिला प्रहरी, प्रहरी निरीक्षक केसीका साथै करिनाकी आमाले पनि उनका प्रेमीलाई जसरी र जहाँबाट भए पनि खोजेर ल्याइदिने वाचा गरे। उनका प्रेमी भनिएका युवक अर्कै युवतीसँग फरार भएका थिए। त्यसपछि करिना अलि सहज हुन थालिन।
अभिभावक र प्रहरीको आश्वासनपछि उनी सहज बन्दै गएको आभास प्रहरी निरीक्षक केसीलाई भयो। महिला प्रहरी जवान रोका टावर चढेर संझाइबुझाइ गरी करिनालाई बिहान करिब ८ बजेतिर भुइँमा झारेपछि सबै आश्वस्त भए।
प्रहरी निरीक्षक केसीका अनुसार करिना घरबाट बिहानै ५ बजे निस्किएकी थिइन्। साढे ५ बज्दा नबज्दै उनी टावरको सबभन्दा माथि चढिसकेकी थिइन्। डुडुवा – ३ का वडाध्यक्ष सागर खाँका अनुसार एउटा यस्तै घटना हप्ता दिनअघि मात्रै छिमेकी देश भारतको रुपैडिहामा भएको थियो। जो नेपाल भारको सीमा नाकामा पर्छ।
करिनालाई प्रहरीले बुधबार त्यहाँबाट उद्धार पछि भेरी अस्पताल नेपालगञ्जमा पुर्याएर मानसिक स्वास्थ्य स्थिति चेकजाँच गर्नुका साथै परामर्शहरू दिएको थियो। उनी सामान्य अवस्थामा पुगेपछि बेलुकी नै अभिभावकले घर लिएर गएको प्रहरीले जनाएको छ।