अमेरिका र इरानबीच जारी युद्धविरामको अवधि थप गर्ने सहमति भएको छ।
अमेरिका र इरानबीच वार्ताबारे जानकार स्रोतहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले दुई देशबीच युद्धविराम अवधी थप ६० दिन लम्ब्याउन सहमति भएको उल्लेख गरेको छ।
यो अवधिमा विश्वभर ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिएको हर्मुज जलमार्गमा जहाजहरुको आवतजावत सहज बनाउने सहमति भएको पनि रोयटर्सले लेखेको छ।
युद्धविराम अवधि थपिएको ६० दिनमा अमेरिका र इरानले आणविक कार्यक्रमजस्ता जटिल विषयमा वार्ता जारी राख्दै निष्कर्षमा पुग्ने भनिएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार वासिङ्टनमा पत्रकारहरूसँगको कुराकानी गर्दै सम्झौता अत्यन्त नजिक पुगेको बताएका छन्।
'सहमति नै भइसकेको अवस्था भने छैन। तर त्यसमा हामी अत्यन्त नजिक छौं। शतप्रतिशत ग्यारेन्टी गर्न सक्ने अवस्था बनिसकेको छैन। तर अहिले सकारात्मक छौं,' उनले पत्रकारहरूसँग भनेका छन्।
इरानको अर्धसरकारी समाचार संस्था तस्निमले भने सम्झौताको मस्यौदा अझै अन्तिम रूप नपाएको र पुष्टि नगरिएको जनाएको छ।
प्रस्तावित सहमतिअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, इरानी तेल बिक्रीसम्बन्धी केही प्रतिबन्ध खुकुलो बनाउने तथा हर्मुज जलमार्गमा अवरोधरहित ढुवानी सुनिश्चित गर्ने उल्लेख छ।
विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ।
हर्मुज जलडमरूमध्यमा जहाज आवतजावतसम्बन्धी प्रतिबन्ध हटाउने विषयमा सहमति भएको खबर सार्वजनिक भएको छ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै अन्तिम स्वीकृति नदिएको र इरानले पनि सम्झौता अन्तिम रूप नलिइसकेको जनाएको छ।
यदि वासिङ्टन र तेहरानका नेतृत्व तहबाट स्वीकृति प्राप्त भयो भने, फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि शान्तितर्फको यो सबैभन्दा ठूलो कदम हुने भनेर रोयटर्सले लेखेको छ। युद्धविराम अप्रिलको सुरुवातदेखि लागू भए पनि पछिल्ला दिनमा दुवै देशबीच छिटफुट आक्रमण र प्रतिआक्रमण जारी थिए।
अमेरिकाले सोमबार र मंगलबार दुई पटक दक्षिणी इरानमा हमला गरेको थियो। सेनाको केन्द्रीय कमाण्डले आफ्ना फौजले ५ वटा इरानी ड्रोन खसालेको र बन्दर अब्बास बन्दरगाहमा अर्को ड्रोन प्रक्षेपणको तयारी भइरहेको नियन्त्रण केन्द्रमा आक्रमण गरेको जनाएको छ। उता कुवेतले आफ्नो भूमितर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक मिसाइल रोकेको दाबी गरेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले भने बन्दर अब्बासमाथिको अमेरिकी आक्रमणमा संलग्न अमेरिकी सैन्य आधारलाई निशाना बनाइएको र पुनः आक्रमण भए ‘झनै निर्णायक जवाफ’ दिने चेतावनी दिएको तस्निमले जनाएको छ।
तीन महिनादेखिको युद्धले हजारौँ मानिसको ज्यान लिएको, विश्व ऊर्जा बजारलाई अस्थिर बनाएको र मध्यपूर्वभर तनाव फैलाएको छ। युद्ध अन्त्यका लागि ट्रम्प प्रशासनले पटक–पटक सम्झौता नजिक पुगेको दाबी गरे पनि इरानले प्रायः त्यसलाई कम महत्त्व दिएको वा अस्वीकार गरेको छ।
इरानले शान्ति सम्झौताका लागि आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोकिएका विदेशी सम्पत्ति फुकुवा गर्नुपर्ने र अमेरिकी सेना क्षेत्रबाट फिर्ता हुनुपर्ने माग राख्दै आएको छ। अमेरिकाले भने इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्नुपर्ने अडान राखेको छ, जबकि तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्रै भएको दाबी गर्दै आएको छ।
यसैबीच इरानले अमेरिकाको सहयोगी इसराइलले लेबननमा गरिरहेको आक्रमणसमेत रोकिएपछि मात्र दीर्घकालीन शान्ति सम्भव हुने बताएको छ।
तर इसराइल–हिजबुल्लाह तनाव अझै कम हुने संकेत देखिएको छैन।