अमेरिकी सेनाले चीनलाई ताइवान कब्जा गर्नबाट रोक्न थप पैसा मागेको छ।
चीनसँगको सम्भावित युद्धको नेतृत्व गर्ने अमेरिकी इन्डो-प्यासिफिक कमाण्डका प्रमुख स्यामुअल पपारोले नयाँ युद्धपोत-विनाशक बम र उन्नत समुद्रमा राख्ने बम लगायत जोहो गरेर आफ्नो क्षमता विस्तार गर्न संसदसँग थप स्रोत मागेको भनेर ब्लुमबर्गले लेखेको छ।
संसदलाई बुझाएको १२१ पानाको प्रतिवेदनमा चीनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा कडा भाषा प्रयोग गरिएको छ।
'चीनको जनमुक्ति सेनाले सबै क्षेत्रमा ऐतिहासिक विस्तार गरिरहेको छ र दुई वटा मुख्य मिसनका लागि तालिम लिइरहेको छ। पहिलो, ताइवानलाई जबरजस्ती एकीकरण गर्ने र दोस्रो, अमेरिकी तथा सहयोगी राष्ट्रहरूको रक्षा क्षमताको प्रतिवाद गर्ने। यसका लागि उनीहरूले सन् २०२७ सम्ममा सैन्य तत्परताको लक्ष्य राखेका छन्,' सो दस्तावेजले उल्लेख गरेको छ।
ताइवानलाई चीनले आफ्नो अभिन्न भाग मान्छ। चीनले शान्तिपूर्ण रूपमा सो टापुलाई आफ्नो नियन्त्रणमा लिन नसके बल प्रयोग गर्ने विकल्प कहिल्यै त्यागेको छैन।
चिनियाँ सैन्य कारबाहीलाई रोक्नका लागि ताइवानलाई लामो समयदेखि सैन्य सहयोग दिने र हतियार बेच्ने गर्दै आएको छ।
माओको लाल सेनासँग चीनको गृहयुद्ध हारेपछि राष्ट्रवादी नेता चियाङ काई सेकको सेना भागेर चीनकै ताइवानमा खुम्चिएको थियो। त्यसपछि ताइवानले आफै शासन चलाइरहेको छ। तर पनि स्वतन्त्र देशको हैसियत भने ताइवानको छैन।
चीनले ताइवानको शान्तिपूर्ण एकीकरण गर्ने बताउँदै आएको छ। तर चीनले सेना पठाएर एकीकरण गर्न खोजेमा अमेरिकाले ताइवानको पक्षमा युद्ध लड्न आउने चीनको ठम्याइ छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान मामिलाको व्यवस्थापन नमिले द्वन्द्व हुन सक्ने भन्दै यसै महिना चीन भ्रमणमा रहेको बेला ट्रम्पलाई चेतावनी समेत दिएका थिए।
'ताइवानको मुद्दा चीन-अमेरिका सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो। यदि यसलाई गलत तरिकाले व्यवस्थापन गरियो भने दुई राष्ट्रहरूबीच टक्कर वा संघर्ष हुन सक्छ। जसले समग्र चीन-अमेरिका सम्बन्धलाई अत्यन्तै खतरनाक स्थितिमा धकेल्नेछ,' सीले भनेका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)