२७ वर्षपछि घर फर्कदा सुमन भुजेल खुसी छन्। दिदी, बहिनीसँग भेट्दा मन फुरूङ्ग छ।
धेरै वर्षपछि भेटिएका दिदीबहिनीलाई पोल्टाभरि कोसेली दिने मन छ सुमनलाई तर हात रित्तो, खल्ती खाली छ।
‘म घर आएँ, रित्तो हात फर्किएँ उल्टै घाइते भएर,’ उनले भने।
सुमनले घर छाडेको धेरै वर्ष भइसकेको थियो। पछिल्ला १० वर्ष उनले उत्तरी गोरखामा बिताएका थिए। काम गरे तर ज्याला पाएनन्। त्यसैले उनी घर फर्कन सकेका थिएनन्। गत शनिबार उनी घर फर्किएका थिए।
‘जीवनभर अर्काको काम गरेँ, खाली हात घर फर्केको छु, केही कमाउन र जोगाउन पाएको भए दिदीबहिनीलाई कोसेली दिनु हुन्थ्यो,’ उनले भने, ‘मैले केही दिन नसके पनि दिदीबहिनी मेरै उपचारमा लागेका छन्।’
सुमनलाई हामीले गत जेठ ३१ गते चुमभ्यालीस्थित छेकम गाउँको साँघुरो गल्लीमा भेटेका थियौं। यो गाउँ चुमनुब्री गाउँपालिका वडा नम्बर ७ मा पर्छ।
हाम्रो जम्काभेट हुँदा छेकम गाउँका दोर्जे लामा र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का कर्मचारी सुवास नेपाल सुमनसँगै थिए।
चुमभ्यालीमा सुमनलाई बन्दिपुर भनेर चिनिने रहेछ। उनले घर बन्दीपुर बताउने गर्थे। त्यसैले मानिसहरूले उनलाई बन्दीपुर नामले बोलाउन र चिन्न थाले।
सुमनले पनि हामीसँगको कुराकानीमा नाम सुमन थापा मगर र घर बन्दिपुर जालभञ्ज्याङ रहेको बताए।
उनी कसरी चुमभ्याली आइपुगे र काम गरेको ज्यालासम्म पाएनन्, अब हामी यसबारे चर्चा गर्छौं।
सुमन ४६ वर्ष पुगे। उनी २०६८ तिर आरूघाट बजारमा ज्यामी काम गर्न आएका थिए। उनकी बहिनी सुशीला भुजेलका अनुसार सुमन घर छाडेर हिँडेको भने त्यसअघि नै हो, २०५६ सालतिरै। त्यसबीचमा सुमनले अन्यत्रै काम गरेका थिए।
‘०५६ सालतिर आरूघाटमा म एकजना तुफान भन्ने ठेकेदारकोमा काम गर्न भनेर आएको, सोतीमा दिनगन्ती १३८ दिन काम गरियो। काम सकेपछि ठेकेदारले पैसै नदिई बिचल्ली बनाएर भाग्यो,’, सुमनले भने।
त्यसपछि उनी घर फर्किएनन्। फर्कन खर्च पनि थिएन।
उनी हातमुख जोड्ने जोहो गर्न सोतीदेखि तीन दिन हिँडेर चुमनुब्रीको सिर्दिवासस्थित फिलिम गाउँमा पुगे। २०७२ को भूकम्पअघि उनी त्यहाँ स्वास्थ्यचौकी बनाउने काम गर्थे। फिलिमबाट पनि उनी आफ्नो घर बन्दिपुर फर्कन पाएनन्, किनभने त्यहाँ पनि श्रम गरेको ज्याला हात परेन।
सुमन जोङगाउँका नाम्ग्याल दोर्जे भन्ने मान्छेसँग काम गर्न फिलिम आएका थिए।
‘सोतीमा पैसा नपाएपछि सिर्दिवास आएँ, त्यहाँ पनि उत्तम भट्ट भन्ने ठेकेदारले काम गरेको ज्याला दिएनन्। नाम्ग्याल दोर्जेले पनि काम लगायो मात्रै, सबै पैसा दिएन, नाम्ग्यालले फिलिममा काम गरेको पैसा सोती पुगेर दिन्छु भन्दै दुई दिनको बाटो हिँडायो। सोतीमा पुर्यायो र ५०० रुपैयाँ मात्रै दिएर छाड्यो। पाँच सय रुपैयाँ लिएर के बन्दिपुर जानु? फिलिममै फर्किएँ,’ उनले विगत सम्झिए।
काम गरेको ज्याला नपाएपछि घर जान नपाएका सुमन ठेकेदारहरूका कारण पटक-पटक बिचल्लीमा परिरहे। उनी खानाकै भरमा काम गर्न झन् उँभो, झन् उँभो सर्दै चुमभ्यालीमा पुगेका थिए।
०७२ को भूकम्पपछि सुमनले फिलिममा छिरिङ पासाङ नाम गरेका अर्का ठेकेदारसँग काम गरे। पासाङले उनलाई पारिश्रमिक दिएनन्। बरू काम गरेको पैसा काठमाडौं गएर दिन्छु भनेर उनलाई चुमभ्यालीको छेकम्पार पुर्याए।
‘काठमाडौं भनेर यता ल्यायो। न त काम गरेको पैसा नै पाएँ। त्यत्रो काम गरेको यहाँ (छेकम्पार) ल्याएर जम्मा तीन हजार दिएर छाड्यो,’ उनले भने, ‘बिरानो गाउँमा बिना पैसा गुजारा गर्न सकिँदैनथ्यो, त्यसैले यहाँ गाउँमा जे काम पाउँछु त्यही गर्न थालेँ। जसोतसो खान त पुग्यो तर सबैले पैसामा मारे। काम भने मरुन्जेल लगाउने तर पैसा नदिने चलन रहेछ ठेकेदारको। पैसा पाएपछि घर जाउँला भनेर बसेँ। पन्ध्र वर्ष भयो, यो बखत न त पैसा आयो, न त घर नै जान पाएँ।’
छेकम गाउँमा विगत १० वर्षदेखि उनी अधिकांशको घरमा ज्याला मजदुरी गर्दै बसे। कसैकोमा २८ महिना, कसैकोमा ३० महिना त कसैकोमा वर्ष दिन तर त्यहाँ पनि पारिश्रमिक नपाउने व्यथा उस्तै। सबैले भातको भरमा मात्र काम लगाउँदा रहेछन्।
‘पैसा माग्यो भने दिँदैनन्, बोल्यो कि मर्यो,’ उनले भने, ‘छेकम गाउँकै छिरिङ पाल्जोर भन्नेले आफ्नो मेरो हात भाँचिदिएको हो।’
उनले यसबारे केही विस्तारमा बोले।
घटना गत वैशाखको रहेछ। उनी पाल्जोरको सहयोगीका रूपमा छेकम्पारको छेके लेक पुगेका रहेछन्। छेके सीमा क्षेत्रको लेक हो, उता चीनको तिब्बत पर्छ। यार्सागुम्बा टिप्न जानेहरूको भरियाका रूपमा उनी त्यहाँ पुगेका थिए।
‘उनीहरू कीरा (यार्सागुम्बा) टिप्थे, हामी भरियाहरू सल्लाको फूल। उनीहरूको भारी बोक्ने, चौँरी हेर्ने काम गर्नुपर्थ्यो। साह्रै दुःख भयो भनेर म र अर्को भाइ गाउँ फर्कियौँ। नसोधी आइस् भनेर छिरिङ पाल्जोरले यहाँ गाउँमा आएर हात भाँचिने गरी पिटे,’ उनले भने।
छेकम्पारमा प्रहरी चौकी छ तर यो घटनालाई प्रहरीले चासो दिएन।
बारपाकबाट काम गर्न गएका अर्का भरियाले ज्याला माग्दा कुटाइ खाएको घटना उनले सुनाए। ढाडमा चोट लागेका उनीचाहिँ सहेर बसेनन्, घर फर्किएको उनले सुनाएका थिए।
यसरी चुमभ्यालीमा 'हराएका' सुमन हालै घर फर्केका छन्। उनीबारे राष्ट्रिय समाचार समितिबाट समाचार प्रकाशित भएपछि चासो बढेको थियो। परिवार, आफन्त, प्रहरी र गाउँपालिकाको सक्रियतामा सुमनको उद्धार भएको छ।
गत शुक्रबार उनलाई छेकम गाउँलेले खादासहित बिदाइ गरेका थिए।
‘एकदिन फेसबुकमा समाचार देखेँ, म सानै छँदा घरबाट जानुभएकाले फोटो देख्दा त मेरो दाइ हो भन्ने चिनिनँ। तर समाचारमा बा, आमा, दाइहरूको नाम मिलेपछि हाम्रै मान्छे हो भन्ने लाग्यो,’ सुमनकी बहिनी सुशीलाले भनिन्, ‘उहाँका दु:ख सुनेर मनै थाम्न सकिनँ।’
दाजु सुमन चुमभ्यालीमा रहेको खबरपछि उनी तनहुँको आँबुखैरेनी गाउँपालिका पुगेकी थिइन्। अध्यक्ष शुक्र चुमनले प्रहरीसँग समन्वय गरेपछि सुमनलाई छेकम्पारबाट ल्याइएको सुशीलाले सुनाइन्।
‘२०५६ सालदेखि दाइ हामीसँग सम्पर्कमा हुनु हुन्थेन,’ सुशीलाले भनिन्, ‘हाम्रो घर आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङ हो। पहिले बन्दिपुर गाविस भएकोले दाइले बन्दिपुर भन्नुभएछ, हामी भुजेल हौँ।’
सुशीला गाउँकी एक जना दिदी र भाइलाई लिएर दाइ सुमन लिन गत शनिबार गोरखाको आरुघाट पुगेकी थिइन्। शुक्रबार बिहानै छेकम्पारबाट हिँडेका सुमन शनिबार दिउँसो आरूघाट बजार आइपुगेका थिए।
‘छेकम्पारबाट रेञ्जमसम्म छेकम चौकीको प्रहरीले ल्याइदिनु भयो, रेञ्जम पुग्दा त्यहाँ चुम्लिङको प्रहरी लिन आइसक्नु भएको रहेछ’, सुमनले भने, ‘उहाँहरूसँग चुम्लिङ आएर खाना खाइयो, उहाँहरूले मलाई लोक्पासम्म पुर्याइदिनुभयो। लोक्पामा फेरि तल फिलिमबाट प्रहरी लिन आउनुभएको रहेछ। उहाँहरुसँगै फिलिमसम्म आएर बास बसेँ।’
शुक्रबार राती छेकमबाट फिलिम आएका उनी शनिबार बिहानै त्यहाँबाट हिँडेका थिए। शनिबार दिउँसो आरूघाट आएर उनले आफ्ना आफ्न्तलाई भेटेका थिए।
‘सुरूमा त आफ्नै दिदीबहिनी चिनिनँ, आफ्नो मान्छे भेट्दा बल्ल स्वतन्त्र भएको महसुस गरेँ’, सुमनले भने।
आरूघाटबाट गोरखा बजार हुँदै शनिबार बेलुकी उनीहरू आफ्नो घर जालभञ्ज्याङ पुगेका थिए।
सुमनको उपचार सुरू गरिएको छ। ‘यहाँ ल्याएपछि दाइलाई अस्पताल लग्यौँ, हात भाँचिदिएको महिनादिन बढी भएछ। एक्सरे गरेर हेर्दा हड्डी भाँच्चिएर भित्र छेडिएको देखियो। अप्रेसन गरेर स्टिल हाल्नु पर्छ भनेको छ’, सुमनकी बहिनी सुशीलाले भनिन्, ‘हाम्रो मान्छे घर आयो, हाम्रो लागि त यही ठूलो कुरा हो तर यसरी हात भाँचिदिने मान्छेलाई कारबाही हुनुपर्छ।’
तस्बिरहरू-


