बुटवल उपमहानगरपालिका वडा नं. ११ देवसिद्ध चोकस्थित थापा पथका किशोर न्यौपाने क्षेत्री बेपत्ता भएको १२ दिन भयो।
रसुवागढी जलविद्युत आयोजनामा मेकानिकल ओभरसियर पदमा कार्यरत किशोर भदौ १० गते बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि बेपत्ता छन्।
बगनासकाली गाउँपालिका वडा नं. ५ राई डाँडाका किशोर बुटवल देवसिद्ध चोक, थापा पथमा घर बनाएर बसोबास थालेको १ वर्ष मात्र भएको थियो।
घरमा श्रीमती अन्जु, सात वर्षका छोरा अतीस र १५ वर्षकी छोरी करुणालाई छोडेर उनी बुटवल–रसुवा आउजाउ गरिरहन्थे। साउन २० गतेतिर घर आएका उनी १५ दिन बिदा बसेर भदौ ६ गते मात्र काममा फर्किएका थिए। रसुवा गएपछि पनि श्रीमती र छोराछोरीसँग साँझ–बिहान फोनमा कुराकानी भइरहन्थ्यो।
भदौ १० गते पनि उनले बिहान आठ बजेतिर बुटवलमा रहेका छोराछोरी र श्रीमतीसँग मोबाइलमा कुरा गरेर ड्युटीमा गएका थिए।
जलविद्युत आयोजनाभित्र पावर हाउसमा ड्युटी रहेको र त्यहाँ मोबाइल सम्पर्क नहुने भएकाले दिउँसो ड्युटी सकिएपछि कुरा गर्ने भन्दै उनले फोन राखेका थिए। त्यसपछि बिहान ८ः४० मा पाल्पामा रहेका एक जना साथीलाई मतदाता परिचयपत्र हराएकोले नयाँ बनाउने प्रक्रिया के रहेछ भन्दै म्यासेज गरेका थिए। तर त्यसयता उनको अवस्था अज्ञात छ।
श्रीमान्सँग कुरा गरी घरधन्दामा लागेकी अन्जुले १० बजेतिर भोटेकोसीको बाढीले रसुवा हाइड्रोपावर बगाएको समाचार थाहा पाएपछि पाल्पामा रहेका ससुरा बलबहादुरलाई घटनाबारे जानकारी गराएकी थिइन्।
‘हामीले त १० बजेतिर बुहारीले रुँदै फोन गरेपछि बल्ल घटनाबारे जानकारी पाएका थियौँ, त्यसपछि धेरै ठाउँ हारगुहार गर्दा पनि आज १२ दिन भयो छोराको केही खबर पाउन सकिएको छैन,’ बलबहादुरले भने।
किशोरका बुवा बलबहादुर र आमा टिका कुमारी पाल्पामै बसोबास गर्छन्। किशोर बलबहादुर र टिका कुमारीका एक मात्र छोरा हुन्। पाल्पाका विभिन्न स्कुलमा अध्यापनपछि तीन वर्षअघि मात्र सेवानिवृत्त भएका बलबहादुर र टिका कुमारी छोरा घटनामा परेदेखि बुटवल झरेका छन्।
उनीहरूलाई किशोर अझै पनि सुरुङभित्र सकुशल भेटिने आस छ।
सुरुङ र घरभित्र पुरिएका मानिसहरू जीवितै फेला पर्न थालेपछि उनीहरूलाई पनि किशोर सकुशल छन् भन्ने लाग्छ।
‘दाहसंस्कारको काम गर्ने कि भन्ने कुरा भइरहेको थियो, आमाले छोरा सकुशल फर्किन्छ भनेर गर्न मान्नुभएन,’ किशोरका काका रामुले भने।
किशोर बुटवल टेक्निकल इन्स्टिच्युटमा हाइड्रो ओभरसियर पढेर केही समय वैदेशिक रोजगारीमा समेत गएका थिए। वैदेशिक रोजगारीबाट फर्किएर २०७६ सालदेखि भने उनी रसुवागढी जलविद्युत आयोजनामा लागेका थिए।
उनका काका रामुले सरकार र जलविद्युत आयोजनाले समेत त्यहाँ कार्यरत कर्मचारीहरूको खोजीप्रति चासो नदिएको गुनासो गर्छन्। रामुका अनुसार बाढीमा परी किशोरसहित जलविद्युत आयोजनाका मात्र ५३ जना कर्मचारी बेपत्ता छन्।
आयोजनाका ५१ जना नियमित कर्मचारी र २ जना दैनिक ज्यालादारी कामदारसँगै एक जना सञ्चालक, तीनवटा ठेकेदार कम्पनीका ३९ जना गरी रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन्। तीमध्ये सुरुङभित्र पावर हाउसमा काम गर्ने करिब १२ जना सुरुङभित्रै फसेको आशङ्का गरिएको छ। त्यसमा किशोर पनि रहेका छन्।
तर, सरकार र जलविद्युत आयोजनाबाट समेत सुरुङभित्र तत्काल खोजी गर्ने तर्फ चासो नदिइएको किशोरका परिवारको गुनासो छ। रामुका अनुसार घटनाको ६ दिनसम्म खोजी हुन्छ भनेर बाटो हेरे पनि सरकारले खोजी गर्ने तर्फ चासो नदिएपछि आयोजनाका बेपत्ता कर्मचारीका परिवार र आफन्त काठमाडौं गएर दबाब सुरु गरेका थिए। त्यसपछि मात्र सरकारले दसौँ दिनमा बल्ल सुरुङमा खोजी सुरु गरेको रामुले बताए।
‘सरकारले सुरुदेखि नै सुरुङभित्रको खोजीमा चासो नदिएको पाइयो, आफ्ना ९३ जना कामदार बेपत्ता भएको कम्पनीले पनि खोजी गर्ने तर्फ कुनै पहल गरेको छैन। घटनाको सातौँ दिन बेपत्ता भएका व्यक्तिका परिवार र आफन्त काठमाडौं गएर दबाब दिएपछि बल्ल दसौँ दिनमा सुरुङमा खोजी सुरु गरिएको हो,’ रामुले भने।
उनलाई किशोरसहित सुरुङभित्र ड्युटीमा रहेका कामदारहरू अझै पनि सुरक्षित छन् भन्ने आशा छ। ‘सुरुङभित्र मान्छे थोरै छन् भनेर सरकारले समयमै खोजी गरेन कि भन्ने लाग्छ, हाम्रो बाबु त्यही चपेटामा पर्यो। सुरुङको साढे तीन सय मिटरभित्र पावर हाउसमा ड्युटीमा रहेको व्यक्ति सकुशल छ भन्ने हामीलाई अझै पनि विश्वास छ,’ उनी भन्छन्।

करिब १२ जना पावर हाउसभित्रै फसेको आशङ्का गरिएको रसुवागढी जलविद्युत आयोजनामा शनिबार मात्रै सेनाबाट उद्धारको काम सुरु भएको हो। यसअघि प्रतिकूल मौसम र आवश्यक उपकरण नहुँदा उद्धारको काम सुरु हुन सकेको थिएन। जलविद्युत आयोजनाले पनि आयोजनास्थल वरपर आफ्नै पहलमा उद्धार टोली खटाएर खोजी थालेको छ।
अहिले किशोरको परिवार र आफन्त उनी फर्किने बाटो हेरेर बसेका छन्। आइतबार साँझ उनीहरूको घरमा पुग्दा छरछिमेक र आफन्तहरू सान्त्वना दिन घरमा आउजाउ गरिरहेका थिए। बुवा बलबहादुर र आमा टिका कुमारी बरन्डामा बसेर टोलाइरहेका थिए। घरभित्र–बाहिर गरिरहेका सात वर्षीय छोरा अतीस बुवा घर फर्किने बाटो हेरिरहेका थिए। घटनापछि श्रीमती अन्जु र छोरी करुणा विक्षिप्त बनेका छन्।
किशोरका बुवा बलबहादुरले आफ्नो छोराको अवस्थाबारे सरकारले छिटो खोजी गरिदिन आग्रह गरे। ‘आज १२ दिन भयो घटना भएको, अहिलेसम्म कुन अवस्थामा छ भन्ने केही पत्तो छैन। जे जस्तो अवस्थामा भए पनि कुनै जानकारी पाउन सके एउटा बाटो हुन्थ्यो। केही अवस्था पत्ता नलाग्नुजस्तो पीडा अरू केही नहुने रहेछ। सरकारले हाम्रो छोराको अवस्था छिटो पत्ता लगाओस्,’ उनले भने।