बाढी प्रभावित क्षेत्रमा अहिले पानी मात्रै समस्या छैन। कतिपय ठाउँमा घर कहाँ थियो भन्ने नै छुट्याउन मुस्किल हुने गरी माटो, ढुंगा र भग्नावशेष थुप्रिएका छन्।
कुनै ठाउँमा घरको छानो मात्र देखिन्छ। कुनै ठाउँमा सडक नै हराएको छ। कतै सुरूङको मुखसम्म माटो र ढुंगा भरिएका छन्।
यस्तो अवस्थामा उद्धारकर्मीका लागि सबभन्दा कठिन प्रश्न एउटै हुन्छ — सतहमुनि के छ?
यही प्रश्नको उत्तर खोज्न सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अहिले केही विशेष उपकरण प्रयोग गर्ने तयारी गरेको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार कार्यका लागि आवश्यक पर्ने विभिन्न प्रविधि तथा उपकरण सहयोगका रूपमा माग गरिएको उल्लेख छ।
ती उपकरणमा लिडार, ग्राउन्ड पेनिट्रेटिङ रडार (जिपिआर), हाई–एकुरेसी लेजर मिटर लगायत छन्।
यी उपकरणले विपद बेला लेदो र गेग्रानमुनि पुरिएका संरचना कहाँ छन्, त्यहाँ मानिस फसेका छन् कि छैनन्, उद्धार क्रममा कहाँबाट खन्ने वा प्वाल पार्ने र कति गहिराइसम्म काम गर्ने भन्ने पत्ता लगाउन फरक फरक ढंगले सहयोग गर्न सक्छन्।
हामीले यी तीन उपकरण वास्तवमा के हुन् र विपद बेला कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे भूगर्भ वैज्ञानिक रञ्जनकुमार दाहाल र उद्धार तथा खोजीमा काम गरिरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीसँग कुरा गरेका छौं।
सबभन्दा पहिला कुरा गरौं, लिडारको।
ड्रोनले माथिबाट हेर्छ, लिडारले जमिनको आकार नाप्छ

लिडार मुख्यतः जमिनको सतहको अवस्थिति र संरचना पहिचान तथा डिजिटल नक्सांकनका लागि प्रयोग हुने प्रविधि हो।
बाढी प्रभावित क्षेत्रको पहिलो तस्बिर ड्रोनले दिन सक्छ। ड्रोनबाट खिचिएको तस्बिरले कुन ठाउँमा घर पुरिएको छ, कहाँ सडक अवरूद्ध छ, कहाँ ठूलो परिमाणमा लेदो माटो थुप्रिएको छ भन्ने देखाउन सक्छ।
तर ड्रोनले खिच्ने तस्बिरले सबै कुरा देखाउँदैन।
कुनै ठाउँमा माटोको सतह माथि उठेको देखियो भने त्यो माटो कति बाक्लो छ? बाढीअघि त्यहाँको जमिन कति उचाइमा थियो? र, अहिले त्यहाँ कति माटो थपियो?
यस्ता प्रश्नका लागि लिडार उपयोगी हुन्छ।
बाढीअघि र पछिको लिडार इमेज तुलना गर्दा कुन ठाउँको जमिन काटियो, कहाँ नयाँ माटो थपियो र भू–आकृति कति परिवर्तन भयो भन्ने पत्ता लगाउन सकिन्छ।
भूगर्भ वैज्ञानिक रञ्जनकुमार दाहालका अनुसार लिडारले जमिनको सतहको तीन आयामिक (थ्री–डी) डिजिटल नक्सा बनाउन सक्छ।
विशेषगरी रूखबिरूवा, झाडी वा अन्य अवरोधका कारण तलको सतह प्रत्यक्ष देख्न कठिन हुने ठाउँमा यसको उपयोग हुने उनी बताउँछन्।
लिडारलाई ड्रोन वा अन्य हवाई माध्यममा जडान गरेर पनि प्रयोग गर्न सकिने उनको भनाइ छ।
'माथिबाट कुनै क्षेत्र स्क्यान गर्दा मानिस प्रत्यक्ष पुग्न कठिन हुने वा जोखिमपूर्ण ठाउँको सतह र भौगोलिक अवस्थाको डिजिटल विवरण निकाल्न सकिन्छ,' दाहालले सेतोपाटीसँग भने।
उनका अनुसार यसले मुख्यतः सतहको अवस्था र त्यसको बनोटबारे जानकारी दिन्छ। त्यसैले लेदो, गेग्रान वा अन्य सामग्रीले कुनै क्षेत्र पुरेको अवस्थामा त्यहाँको सतहको स्वरूप र संरचनाको अवस्थिति बुझ्न यसले उपयोगी जानकारी दिन सक्छ।
लिडार प्रविधि उद्धारमा मात्र होइन, क्षतिको नक्सांकन र पुनर्निर्माण योजना बनाउन पनि उपयोगी हुन सक्छ।
कुन ठाउँमा सडक थियो, कुन ठाउँमा नदीको धार थियो र बाढीपछि भू–आकृति कति बदलियो भन्ने बुझ्न सके पुनर्निर्माण कहाँबाट सुरू गर्ने भन्ने निर्णयमा पुग्न सहयोग हुने विज्ञहरू बताउँछन्।
सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले लिडारको उपयोगितालाई अझ व्यावहारिक उदाहरणबाट प्रस्ट्याएका छन्।
उनका अनुसार अहिले भोटेकोशी–त्रिशूली क्षेत्रमा जस्तै बाढी र पहिरोपछि कुनै कार्यालय, घर वा संरचना लेदो र गेग्रानमुनि पुरिएको छ कि बगेको हो भन्ने यकिन गर्नुपर्ने अवस्थामा लिडार उपयोगी हुन सक्छ।
कार्कीले जोखिमपूर्ण ठाउँ, सुरूङ वा मानिसहरूलाई प्रत्यक्ष पठाउन कठिन हुने स्थानमा ड्रोन वा हेलिकप्टरमा लिडार राखेर माथिबाट स्क्यान गर्न सकिने बताए। त्यसबाट सम्बन्धित क्षेत्रको संरचना कहाँ छ, कस्तो अवस्थामा छ र कति क्षेत्रमा फैलिएको छ भन्ने डिजिटल म्यापिङ गर्न सकिन्छ।
'मानिसहरू सजिलै जान नसक्ने जोखिमपूर्ण ठाउँ वा सुरूङहरूमा यसलाई ड्रोन वा हेलिकप्टरमा राखेर पठाउन सकिन्छ। यसले माथिबाटै स्क्यान गरेर सुरूङ वा भौगोलिक क्षेत्रको संरचना कस्तो छ र कहाँसम्म फैलिएको छ भनेर दुरूस्त डिजिटल म्यापिङ गरिदिन्छ,' कार्कीले भने।
बाढीपछि कुनै संरचना कहाँ छ भन्ने नै यकिन हुन नसकेको अवस्थामा यसको उपयोग अझ महत्त्वपूर्ण हुन सक्ने उनी बताउँछन्।
यसमा उनले उदाहरण पनि दिएका छन्।
'त्रिशूली-३ बी जलविद्युत आयोजना बगाएको भवन खोज्न सुरक्षाकर्मीले ६ पटकसम्म जमिन खनिसक्यो। तर भेटिएको छैन। माथिबाटै गेग्रान र लेदोले कति उचाइसम्म पुरेको छ भन्ने नाप लिन र संरचनाको अवस्थिति पत्ता लगाउन यसले मद्दत गर्छ,' कार्कीले सेतोपाटीसँग भने।
जिपिआरले जमिनभित्र 'हेर्न' सक्छ

लिडारले जमिनको सतह त देखाउँछ, तर विपद बेला सतह मात्र पर्याप्त हुँदैन।
त्यसपछि प्रश्न उठ्छ — सतहमुनि के छ?
त्यसका लागि सरकारले 'ग्राउन्ड पेनिट्रेटिङ राडार' अर्थात् 'जिपिआर' पनि मागेको छ।
जिपिआरले जमिनको सतहमुनि प्रकाशको किरण अर्थात् 'लेजर बिम' पठाएर त्यसको परावर्तनका आधारमा कुनै ठाउँको सतहमुनिको विस्तृत विवरण निकाल्न सक्छ। यसले पुरिएको संरचना, खाली ठाउँ वा विभिन्न सामग्रीको थुप्रोभित्रको भाग पहिचान गर्न सहयोग गर्छ।
भूगर्भ वैज्ञानिक दाहालका अनुसार जमिन वा कुनै संरचनाको सतहमुनिको अवस्था पत्ता लगाउन जिपिआर प्रयोग गरिन्छ।
'यसले राडारको संकेत जमिन वा कुनै संरचनाभित्र पठाएर त्यहाँभित्र रहेका वस्तु, संरचना, खाली ठाउँ वा अन्य तहबारे सूचना निकाल्न सक्छ। त्यसैले माटो, लेदो वा भग्नावशेषमुनि के छ भनेर खोजी गर्नमा यसको प्रयोग हुन सक्छ,' उनले भने।
तर जिपिआरले मानिसको मुटुको धड्कन वा सास सिधै पत्ता लगाउँछ भनेर सामान्यीकरण गर्न नहुने दाहालको भनाइ छ।
'राडारका विभिन्न प्रकार र क्षमता हुने भएकाले कुन मोडल र कुन फ्रिक्वेन्सीको उपकरण हो भन्नेले यसको उपयोगिता र क्षमता फरक पार्छ,' उनले भने।
डिआइजी कार्कीका अनुसार लिडारले सम्भावित स्थान र संरचनाबारे माथिबाट जानकारी दिन सक्छ भने जिपिआरले सतहमुनिको अवस्थाबारे खोजी गर्न सहयोग पुर्याउँछ।
उनका अनुसार भग्नावशेष वा पर्खालको पारिपट्टि मानिस थुनिएको वा पुरिएको अवस्थामा जिपिआर प्रयोग गर्न सकिन्छ।
उद्धार क्रममा मानिसको अवस्थिति पत्ता लगाउन यसले महत्त्वपूर्ण संकेत दिन सक्ने उनको भनाइ छ।
'यदि कुनै मानिस भग्नावशेष वा पर्खालको पारिपट्टि थुनिएको वा पुरिएको छ र बेहोस अवस्थामा छ भने पनि, उसले फेरिरहेको सास र चलिरहेको धड्कनलाई यो राडारले पर्खाल वा जमिनको वारिबाटै संकेतका रूपमा पहिचान गर्न सक्छ,' कार्कीले भने।
यसको अर्थ, जिपिआरको संकेतका आधारमा भग्नावशेष वा जमिनमुनि मानिस वा अन्य जीवित प्राणी फसेको सम्भावित स्थान पहिचान गरी उद्धार टोलीले त्यसै अनुसार थप खोजी गर्न सक्छ।
जमिनमुनि पानी वा खाली भाग छ कि छैन भन्ने पत्ता लगाउनसमेत यसले सहयोग गर्ने कार्की बताउँछन्।
लेजर मिटरले नाप्छ, अन्दाज मात्र गर्दैन

सरकारले मागेको अर्को उपकरण हो — हाई एक्युरेसी लेजर मिटर।
नाम सुन्दा यो लिडार जत्तिकै ठूलो प्रविधि जस्तो लाग्न सक्छ। तर यसको काम सरल छ — दूरी, उचाइ र भूगोललाई सटिक रूपमा नाप्नु।
उदाहरणका लागि, कुनै ठाउँमा ढुंगा वा माटोको थुप्रो कति अग्लो छ, दुई संरचनाबीच कति दूरी छ, सुरूङको कुनै भागसम्म कति गहिराइमा पुग्नुपर्छ भन्ने मापन गर्न यसले सहयोग गर्न सक्छ।
उद्धार क्रममा यस्तो सानो सानो मापन पनि महत्त्वपूर्ण हुन्छ। किनभने, खोजी कहाँ गर्ने, कति गहिराइसम्म जाने वा कुन दिशाबाट प्रवेश गर्ने भन्ने निर्णय अनुमानभन्दा ठोस मापनमा आधारित हुँदा जोखिम घटाउन सकिन्छ।
डिआइजी कार्की मानिस फसेको सम्भावित स्थान थाहा भएपछि उद्धार सुरू गर्न ठ्याक्कै कहाँबाट खन्ने वा प्वाल पार्ने भन्ने पत्ता लगाउन 'हाई-एक्युरेसी लेजर मिटर' सहयोगी हुने बताउँछन्।
'जिपिआरले कुनै ठाउँमा मानिस पुरिएको वा फसेको संकेत दिएको अवस्थामा उद्धार टोलीले त्यहाँसम्म पुग्न ड्रिल गर्नुपर्ने हुन सक्छ। तर ड्रिल गर्ने क्रममा केही इन्च वा मिलिमिटर मात्रै दायाँ–बायाँ हुँदा पनि भित्र जीवितै रहेको व्यक्तिलाई चोट लाग्न सक्छ। त्यसैले ड्रिलिङ गर्नुअघि दूरी र गहिराइको अत्यन्तै सटिक हिसाब आवश्यक हुन्छ,' उनले भने।
उद्धार क्रममा दुर्घटना हुन नदिन ठ्याक्कै कति गहिराइ र कुन बिन्दुमा काम गर्ने भनेर नाप्न यो लेजर मिटर प्रयोग गरिने उनी बताउँछन्।
अब उद्धार केवल 'देखिएको ठाउँ' खोज्ने काम होइन
भोटेकोशी–त्रिशूली बाढीपछि अहिलेको चुनौती राहत वितरण र सडक खोल्ने काममा मात्र सीमित छैन।
धेरै ठाउँमा भू–आकृति नै बदलिएको छ। घर, सडक र नदी किनारको पुरानो स्वरूप पहिचान गर्न कठिन भएको छ। त्यसैले कहाँ खोजी गर्ने, कहाँ उत्खनन गर्ने र कहाँ थप जोखिम हुन सक्छ भन्ने निर्णयमा नयाँ किसिमको तस्बिर वा तथ्यांक आवश्यक हुँदै गएको छ।
त्यही भएर सरकारले विशिष्टीकृत उपकरणको आवश्यकता औंल्याउँदै दाताहरूसँग सहायता मागेको हो।
भोटेकोशी–त्रिशूली बाढीको १३ दिनपछि पनि कतिपय स्थानमा खोजी र खन्ने काम चलिरहेको अवस्थामा यी प्रविधि प्रयोगले खोजीको दायरा र सटिकता बढाउन सक्ने सुरक्षा अधिकारीहरूको अपेक्षा छ।
डिआइजी कार्कीका अनुसार लामो समयसम्म खोजी गर्दा पनि मानिस वा भौतिक संरचना फेला नपरेको अवस्थामा 'त्यहाँ अझै जीवन बाँकी छ कि छैन' वा 'संरचना वास्तवमै कहाँ पुरिएको छ' भन्ने निर्क्योल गर्न यस्ता उपकरण प्रभावकारी हुन सक्छन्।
तर यी उपकरण उद्धारकर्मीका लागि जादुयी चस्मा होइनन्। यी प्रविधिले देख्न नसकिएको ठाउँबारे थप सूचना मात्र दिन्छन्।
अन्तिम निर्णय भने अझै मानिसले नै गर्नुपर्छ — उद्धार टोलीले, भूगर्भविदले र स्थलगत रूपमा खटिएको टोलीले।
अहिलेको खोजी तथा उद्धारमा प्रविधि प्रयोग बढाउनुको उद्देश्य एउटै हो – जोखिमपूर्ण, आँखाले हेरेर पहिचान गर्न नसकिने वा सतहभित्र पुरिएका सम्भावित स्थानमा प्रविधिको सहायताले खोजीलाई थप सटिक बनाउने।
***