कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–१० मा ठूलो क्षति पुर्यायो। घरबार खोसेपछि धेरै परिवार विस्थापित भए। उनीहरू अहिले होल्डिङ सेन्टरमा बसिरहेका छन्।
अब ती विस्थापित परिवारलाई अस्थायी टहरामा सार्ने तयारी भइरहेको छ।
विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेशकुमार नेपालका अनुसार अहिले उनको ध्यान बाढीपीडितका लागि अस्थायी टहरा निर्माणमा केन्द्रित छ।
सेतोपाटीसँग कुरा गर्दै उनले सबैको साथ र सहयोगमा बाढीपीडितका लागि अस्थायी टहरा निर्माण गर्न सकिने बताए।
बाढीपछिको राहतको आवश्यकता भने फेरिएको उनको भनाइ छ।
उनका अनुसार अब पीडितका लागि दाल, चामल लगायत खाद्यान्नभन्दा अस्थायी बसोबासका लागि आवश्यक सामग्री बढी आवश्यक छ।
'अब हामीलाई खाद्य सामग्री चाहिँदैन। अहिले भएकै सामग्री व्यवस्थापन गर्न गाह्रो हुने स्थिति छ। भोलि कुहिने अवस्था आयो भने हाम्रै बदनाम हुन्छ,' उनले भने, 'अबको आवश्यकता अस्थायी टहराका लागि चाहिने सामग्री, भाँडाकुँडा, ओढ्ने–ओछ्याउने, ग्यास तथा लत्ताकपडाको हो।'
बाढीले घरबार गुमाएका परिवारलाई तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नु अहिलेको प्राथमिकता रहेको वडाध्यक्ष नेपाल बताउँछन्।
उनका अनुसार बुधबारदेखि होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई अस्थायी टहरामा लैजान सुरू गर्ने योजना छ।
त्यसका लागि दाताहरूले खाद्यान्नभन्दा भाँडाकुँडा, कपडा, ओढ्ने–ओछ्याउने सामग्री, ग्यास लगायत आवश्यक सामग्री उपलब्ध गराए बढी सहयोग पुग्ने उनको भनाइ छ।
बाढीपछि स्थानीय तहले पनि पीडितलाई तत्कालको बसोबास व्यवस्थापन गर्ने निर्णय गरेको छ। त्यसै क्रममा नगरपालिकाले बाढी प्रभावितका लागि मासिक १० हजार रूपैयाँ भाडा दिने निर्णय गरेको छ।
यसले पीडितलाई केही सहज हुने वडाध्यक्ष नेपालको अपेक्षा छ। विभिन्न संघ–संस्था तथा संघीय सरकारले दिने आर्थिक सहयोगले पनि पीडितलाई थप सहज हुने उनले बताए।
तर तत्कालका लागि अस्थायी टहरा बनाएर मात्रै समस्या समाधान नहुने देखिन्छ। बाढीले घरमा क्षति पुगेका परिवारका लागि दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता पनि रहेको वडाध्यक्ष नेपाल बताउँछन्।
उनका अनुसार वडा नम्बर १० मा २५६ घर बाढीमा परेका छन्। उनीहरूका लागि संघीय सरकारकै तर्फबाट घर बनाइदिए हुन्थ्यो भन्ने अपेक्षा उनको छ। अन्यत्र जग्गा नहुने परिवारका लागि जग्गाको समेत आवश्यकता रहेको उनले बताए।
बाढीबाट क्षति पुगेका घर र संरचनाको विवरण संकलन गर्ने काम पनि भइरहेको छ।
गल्छी–मैलुङ सडकखण्डको तर्फबाट क्षतिपूर्ति पाइने अपेक्षामा कतिपयले पक्की घरसँगै रहेको टहराको समेत दाबी गर्न सक्ने भएकाले वडा कार्यालयले त्यसको पहिचान गरी तथ्यांक निकालेको उनले जानकारी दिए।
'गल्छी–मैलुङ सडकखण्डको तर्फबाट क्षतिपूर्ति पाइन्छ भनेर कतिपयले पक्की घरसँगै रहेको टहराको पनि दाबी गर्न सक्छन्। हामीले यसको सबै पहिचान गरेर तथ्यांक निकालेका छौं,' उनले भने।
भूकम्प बेला बनाइएका टहरालाई समेत अहिले बाढीले क्षति पुगेको घरका रूपमा दाबी गर्न नमिल्ने वडाध्यक्ष नेपालको तर्क छ।
बाढीले घर र सम्पत्तिमा मात्रै क्षति पुर्याएको छैन, ठूलो मानवीय क्षति पनि भएको छ।
उनका अनुसार बाढीमा परेर वडा नम्बर १० मा २५३ जना बेपत्ता छन्। स्कुल बसहरू र ठूलो मात्रामा सवारीसाधन बगेका कारण अन्य वडा र ठाउँमा बेपत्ताको संख्या अझै धेरै हुन सक्ने उनको अनुमान छ।
(बाढी प्रभावित विदुर नगरपालिका–१० मा बाढीपीडितका लागि अस्थायी टहरा निर्माणमा सहयोग गर्न चाहनेले वडाध्यक्ष गणेशकुमार नेपाललाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर – 9841548156)