भदौ १० गते बिहान लाङटाङ हिमालको भिरालो पाखामा हिमनदीको विशाल भाग फुट्यो।
त्यो सँगसँगै खसेको चट्टानयुक्त पहाड ल्हेन्दे खोलामा मिसिएपछि सुरू भएको बाढीले जुन विनाशलीला मच्चायो, त्यो तपाईं–हाम्रो आँखासामु छर्लंग छ।
तर त्यो विनाशकारी बाढीले नेपाल–तिब्बत सीमाबाट चितवनको देवघाटसम्म तय गरेको १६८ किलोमिटर दुरीमा केही यस्ता प्राकृतिक उथलपुथल पनि मच्चाएको छ, जसका तस्बिर धेरै माथि आकाशमा उड्ने स्याटलाइटमा कैद भएका छन्।
हामी यो स्टोरीमा स्याटलाइटले खिचेका तिनै तस्बिर विश्लेषणका आधारमा लाङटाङदेखि देवघाटसम्म पुग्दा नदीले पार गरेका घुम्ती र त्यसबीच भएका नाटकीय गतिविधिहरूको चर्चा गर्दैछौं।
यी गतिविधि हामीले सोचेभन्दा निकै भयानक छन् —
सीमानाकाभन्दा तल रसुवागढीको साँघुरो खोँच हुँदै अघि बढ्दा नदीले आफ्नै पिँध खोतलेको छ। दायाँबायाँ पहाडको ठूलो हिस्सा काटेको छ।
र, त्यसलाई आफूसँगै सोहोरेर लगेको छ।
त्यही नदी स्याफ्रुबेसी उपत्यकामा पुगेर फैलिएपछि त्यसले आफूसँग ल्याएका ढुंगा–माटो चारैतिर थुपारेको छ।
अनि, त्यहाँबाट साँघुरो खोँच हुँदै अघि बढ्दा एकछिनअघि थुपारेका सामग्री फेरि सँगसँगै लिएर गएको छ।
बेत्रावतीमा फेरि नदी फैलिएको छ। ढुंगा–माटो चारैतिर छरेको छ।
र, फेरि साँघुरो खोँचमा अघि बढ्दा तिनै ढुंगा–माटो बोकेर हिँडेको छ।
यसरी लाङटाङबाट देवघाट पुग्दासम्म नदीको स्वरूप एउटै छैन — कहिले आफ्नै पिँध खोतल्छ। कहिले पहाड काट्छ। कहिले उपत्यकामा लेदो माटो र ढुंगाहरू थुपार्छ। कहिले फेरि ती सबै थुप्रो सोहोरेर लैजान्छ।
सोच्नुहोस् त —
२६ मिटर चौडा चट्टान नदीले कसरी बगाएर ल्याउन सक्छ?
बाढीले नदीको पिँध नै १२ मिटरसम्म काट्न सक्छ?
१८ मिटर बाक्लो ढुंगा–माटोको तह एकैचोटि कहाँबाट आउँछ?
१० टन क्षमताको ट्रकमा लोड गर्दा २ लाख २० हजार ट्रक बराबरको माटो कसरी थुप्रिन्छ?
दृश्य १ : बिहान ८:३७ — हिमालको एउटा भाग नै फुट्यो
भदौ १० गते बिहान ८:३७ बजे लाङटाङ क्षेत्रमा ठूलो कम्पन रेकर्ड भयो।
पहिलो नजरमा त्यो भूकम्पजस्तो देखिन्थ्यो।
तर अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले पछि यसलाई हिमनदी र त्यसमुनिको चट्टानी पहाड खस्दा उत्पन्न भएको कम्पन भन्यो।
उक्त कम्पन ५.२ म्याग्निच्युडको भुइँचालो बराबर भएको युएसजिएसले जनाएको छ।
अमेरिकी अखबार 'न्यूयोर्क टाइम्स' मा प्रकाशित रिपोर्ट अनुसार त्यो हिम–चट्टान करिब डेढ किलोमिटर उचाइबाट खसेको थियो। यसरी खसेका बरफ र ढुंगाको परिमाण २० करोड घनमिटरभन्दा धेरै थियो। यी सबै ढुंगा–बरफ थुपार्ने हो भने १०० वटा फुटबल स्टेडियम भरिन्छन्।
यति ठूलो हिम–चट्टानी पहाड जहाँ खस्यो, त्यसको ठ्याक्कै तल थियो —
ल्हेन्दे खोला।
यो तुलनात्मक तस्बिर हामीले सामाजिक सञ्जालबाट लिएका हौं।
दृश्य २ : ल्हेन्दे खोलामा हिमाल खसेपछि
लाङटाङ हिमालबाट ल्हेन्दे खोलामा जे खस्यो, त्यसमा चट्टानको थुप्रो मात्र थिएन।
त्यसमा बरफ थियो।
हिउँको रास थियो।
बाटोमा रहेका ढुंगा–माटोको थुप्रो पनि त्यसमा मिसिएका थिए।
ल्हेन्दे खोलामा पुगेपछि ती सबै पानीसँग मिसिए।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले यही घटनालाई ठूलो परिमाणमा बरफ, पानी, माटो, बालुवा र विशाल चट्टानहरू बोकेर आएको अत्यन्त शक्तिशाली बाढीका रूपमा वर्णन गरेको छ।
यहाँ बाढीले कम समयमा विशाल रूप लिनुका पछाडि एउटा महत्त्वपूर्ण कारण हामीले याद राख्नुपर्छ —
हिम–चट्टान करिब ५,२०० मिटर उचाइको हिमालबाट करिब २,९०० मिटर उचाइमा रहेको ल्हेन्दे खोलासम्म आइपुग्दा एकदमै भिरालो बाटो हुँदै तल झरेको थियो।
यही भिरालोपनका कारण हिम–चट्टानलाई गुरूत्वाकर्षणले तीव्र गतिमा तल तान्यो।
यसबाट उत्पन्न शक्तिले नै बाटोमा भएका ढुंगा, माटो र अरू सामग्रीसहित नदीको पिँध र किनार खोतल्दै अघि बढ्ने तागत दिएको थियो।
दृश्य ३ : रसुवागढी पुग्दा बाढीले नदीको पिँध खोतल्यो
ल्हेन्दे खोलाबाट रसुवागढीसम्म नदी दुई पहाड बीचको साँघुरो खोँचबाट बग्छ।
तपाईंहरूले त्यो खोँच कति साँघुरो थियो भन्ने विभिन्न भिडिओ र तस्बिरहरूमा देख्नुभएकै होला।
हो, त्यही साँघुरो खोँचमा १०० वटा फुटबल मैदान भरिने हिम–चट्टानको रास पानीसँग मिसिएर गुटुङटुङ अघि बढ्दा त्यहाँको अवस्था कति भयंकर थियो होला!
कल्पना गर्नुहोस् त!
यहीँनिर बाढीले ल्याएको एउटा भयंकर परिणाम स्याटलाइट तस्बिरहरूले देखाएका छन्।
यहाँ नदी साँघुरो छ। दुवैतिर भिरालो पहाड अग्लिएका छन्। पानी फैलिन सक्ने ठाउँ थोरै छ। त्यसैले बाढीको शक्ति केवल अगाडि बढ्नमा प्रयोग भएको छैन। नदीको किनार र पिँधतिर पनि बराबर मात्रामा खर्च भइरहेको छ।
भन्नुको मतलब — बाढीको आकार यति अजंग छ, सामान्य अवस्थामा नदी बग्ने साँघुरो बाटोमा नअटेर दायाँबायाँका पहाड काट्दै अघि बढ्छ।
सँगसँगै, नदीको पिँध पनि ठूलो परिमाणमा आफूसँगै खोतल्दै, कोपर्दै लैजान्छ।
भदौ ११ गते खिचिएको 'वर्ल्डभ्यू–३' को स्याटलाइट इमेजका आधारमा 'जियोपेरा' भन्ने अनुसन्धान संस्थाले गरेको विश्लेषण अनुसार रसुवागढी आसपासको साँघुरो खोँचमा बाढी छिरेपछि नदीको पिँध ८ देखि १२ मिटरसम्म तल झरेको देखिएको छ।
यसबाट बाढीले ८ देखि १२ मिटर गहिराइसम्म पिँध कोपरेर लग्यो भन्ने बुझिन्छ।
यो नदीको 'गहिराइ बढेको' मात्र कुरा होइन।
यसको अर्थ हो, पहिले त्यहाँ भएका माटो, गिटी, बालुवा र ढुंगाको ठूलो भाग बाढीले काटेर उठायो।
काटिएका सामग्री त्यहीँ अड्किएर बसेनन्।
पानीसँगै तलतिर बग्दै गए।
यसलाई सरल बोलीचालीको भाषामा 'बाढीले नदीको पेट खोतलिरहेको थियो' भन्न सकिन्छ।
अझै सरल रूपमा बुझ्ने हो भने, नदीको पिँधमुनि गिटी र ढुंगाको जुन तह थियो, त्यो अहिले बाँकी छैन। बाढीले नदीमुनिको त्यो तह उखेलेर आफूसँगै लगिसकेको छ।
यो नै भोटेकोशी–त्रिशूली बाढीको पहिलो प्राकृतिक प्रतिक्रिया हो, जसले नदीको भार मात्र बढाएन, नदीले आफू हिँडिरहेको बाटो पनि ठूलो बनाउँदै लग्यो।
युएसजिएसले पनि स्याटलाइट तस्बिर विश्लेषण गरेर नदी आसपासका क्षेत्र र भूभागमा पुगेको क्षति पहिचान गरेको छ।
+NEPAL-MUDSLIDE-SCENEXxjpbeE000161_20260827_PEPFN0A001-1788344916.jpg)

दृश्य ४ : रसुवागढीदेखि स्याफ्रुबेसीसम्म पनि खोतल्न र कोपर्न जारी
रसुवागढीभन्दा तल पनि भोटेकोशीको बाटो धेरै ठाउँमा उस्तै साँघुरो छ।
त्यसैले यहाँ पनि कटान उस्तै रहेको स्याटलाइट तस्बिरले देखाएको छ।
'वर्ल्डभ्यू–३' को स्याटलाइट इमेजकै अध्ययनले रसुवागढीदेखि स्याफ्रुबेसीसम्मका धेरै खण्डमा नदीको पिँध २ देखि ५ मिटरसम्म तल झरेको देखाएको छ।
नदी किनारमा रहेको भिरालो पहाडको सतह पनि पहिलेभन्दा केही मिटर काटिएको देखिन्छ।
दृश्य ५ : स्याफ्रुबेसीमा नदीले अचानक लगायो 'ब्रेक'
बाढी अझै तल झर्दैछ।
रसुवागढी (१,८५० मिटर) देखि स्याफ्रुबेसी (१,४६० मिटर) सम्म आइपुग्दा नदी पहिलेभन्दा धेरै समथर भइसकेको छ।
जसै बाढी स्याफ्रुबेसी उपत्यका प्रवेश गर्छ, यहाँको दृश्य बदलिन्छ।
अघिसम्म गहिरो र साँघुरो खोँचमा दौडिरहेको पानीले उपत्यका छिरेपछि खुल्ने फराकिलो ठाउँ पाउँछ।
यहाँ नदी फैलिन्छ।
समथर भूभागका कारण गति पनि केही घट्छ।
जियोपेराको स्याटलाइट तस्बिर विश्लेषण अनुसार माथिल्लो साँघुरो खोँचमा नदीको गति १८० किलोमिटर प्रतिघन्टा थियो भने स्याफ्रुबेसी आइपुग्दा ४० किलोमिटर प्रतिघन्टामा झरेको थियो।
नदीले एकैचोटि यति ठूलो 'ब्रेक' लगाएपछि यहाँ एउटा महत्त्वपूर्ण परिवर्तन देखिन्छ —
बाढीले माथिल्लो भेगबाट तीव्र गतिमा बोकेर ल्याएको ढुंगा–माटोको रासलाई त्यही गतिमा अघि लैजान सक्दैन।
अनि, नदीले आफ्नो भार छोड्न थाल्छ।
यही कारणले स्याफ्रुबेसी उपत्यकामा करिब ३ किलोमिटर लामो लेदोयुक्त माटो फिँजारिएको स्याटलाइट इमेजले देखाएको छ।
यो लेदोयुक्त पत्रको मोटाइ १२ देखि १८ मिटरसम्म पाइएको छ। यो भनेको ४ देखि ६ तले घर बराबरको उचाइ हो।
कल्पना गर्नुस् त —
जहाँ केही घन्टाअघि नदी थियो, त्यहाँ कतिपय ठाउँमा ५–६ तले अग्लो घरजति बाक्लो लेदो माटो र ढुंगाको नयाँ तह बनेको छ।
यहाँ नदीले माथिबाट बगाएर ल्याएकोमध्ये ९ लाख घनमिटर बराबर सामग्री थुपारेको छ। सँगसँगै, ३२ लाख घनमिटर बराबर सामग्री कटान पनि गरेको अनुमान छ।
यसरी बाढीले थुपारेका सामग्रीमा असाध्यै ठुल्ठूला ढुंगा छन्। करिब १ मिटरभन्दा ठूला ४,३२९ वटा ढुंगाजस्ता वस्तु पहिचान गरिएको छ। केही ढुंगाको आकार त झन्डै ७ मिटरको छ।
सबभन्दा ठूलो स्पष्ट रूपमा छुट्याउन सकिएको ब्लक करिब २६ मिटरको रहेको जियोपेराले जनाएको छ।
यो दृश्यले एउटा कुरा बुझाउँछ —
बाढीले पानी मात्र बोकेको थिएन, पहाडको टुक्रा नै बोकेको थियो।
यो तस्बिर हामीले सामाजिक सञ्जालबाट लिएका हौं।
दृश्य ६ : नदीले आफ्नै थुप्रो पनि छोडेन
बाढीले जुन अनुपातमा स्याफ्रुबेसीमा ढुंगा–माटो थुपार्यो, ती सबै अहिले पनि त्यहीँ छन् त?
छैनन्।
कहाँ गए त?
फेरि बगे।
कसरी?
हो, यही कुरा यहाँ अद्भूत छ।
स्याफ्रुबेसीमा फराकिलो गरी बगेको पानीले आफूसँगै ल्याएका ढुंगा–माटोको पत्र चारैतिर थुपार्न त थुपार्यो, तर त्यहीँ छाडेर हिँडेन।
किनभने, स्याफ्रुबेसीभन्दा तल नदीको बाटो फेरि साँघुरिएको छ।
फराकिलो ठाउँमा बगेको नदी साँघुरो खोँचमा पस्दा पानीको प्रवाह एउटै धारमा केन्द्रित हुन्छ।
जुन अनुपातमा पानी उपत्यका छिरेको थियो, त्यही अनुपातमा एकैचोटि निकास पाउँदैन।
यसले स्याफ्रुबेसीमा पानीको तह ह्वात्तै बढ्छ।
नदीले अघि थुपारेका सामग्री फेरि धमाधम काट्न थाल्छ।
र, आफूसँगै फेरि बगाएर लैजान्छ।
जियोपाराले त्यति ठुल्ठूला चट्टान र लेदो माटोयुक्त सामग्री बगाएर लैजान नदीको बहाव ६८–९४ किलोमिटर प्रतिघन्टा हुनुपर्ने गणना गरेको छ। माथिल्लो खोँचको सुरूआती गति १८० किलोमिटर प्रतिघन्टा थियो।
यसलाई सरल ढंगमा यसरी बुझौं —
नदीले पहिले ढुंगा–माटोयुक्त गेग्रान थुपार्यो।
त्यसपछि काट्यो।
र, त्यो काटेका सामग्री फेरि आफूसँगै तल लैजान थाल्यो।
यही हो, भोटेकोशी–त्रिशूली बाढीले देखाएको नदीको चलायमान चक्र।
दृश्य ७ : स्याफ्रुबेसीभन्दा तल, जहाँ नदीको स्वरूप बदलिन्छ
स्याफ्रुबेसीसम्म आइपुग्दा नदीको बहावले धेरैजसो समय साँघुरो खोँचसँग संघर्ष गरेको थियो।
स्याफ्रुबेसीबाट तल झर्दै जाँदा भने नदीको आकृति बदलिन्छ।
कहीं चौडा हुन्छ, कहीं फेरि साँघुरिन्छ।
कहीं किनार खुल्छ, कहीँ खुम्चिन्छ।
त्यसैले स्याफ्रुबेसीबाट बेत्रावती पुग्दासम्म नदीले कुनै ठाउँमा कटान गरेको छ भने कुनै ठाउँमा लेदो माटो थुपारेको छ।
कहीँ आफैले थुपारेको लेदो माटो काटेर पनि हिँडेको छ।
यहाँ जियोपेराको स्याटलाइट तस्बिर विश्लेषणले १३ देखि २१ मिटर गहिरो नयाँ कटान देखाएको छ।
केही कटान पुरानो नदी पिँधमा परेको छ भने केही बाढीले थुपारेका सामग्री नै काटिएका छन्।
पाँच दिनपछि सेप्टेम्बर १ मा लिइएको स्याटलाइट तस्बिर विश्लेषणबाट एउटा अर्को नयाँ कुरा देखिएको छ — बाढीले थुपारेको लेदो माटोयुक्त सामग्रीमाथि फेरि नदीको नयाँ बाटो बन्न थालेको छ।
-1788702964.jpg)
-1788702966.jpg)
दृश्य ८ : बेत्रावती, जहाँ नदी अब आफ्नो पुरानो धारमा अटेन
अब नदी अझै तल बेत्रावती आइपुगेको छ।
यहाँ बाढी आउनुअघि र पछिको स्याटलाइट तस्बिरले धेरै कुरा आफै बोल्छ।
अगस्ट १२ मा खिचिएको तस्बिरमा नदीको धार तुलनात्मक साँघुरो छ। वरिपरि हरिया फाँट छन्।
अगस्ट २७ मा त्यही ठाउँको दृश्य फेरिएको छ। खैरो रङको ठूलो क्षेत्र देखिन्छ। यसले नदी चौडा भएको र पुरानो सीमाभन्दा बाहिरसम्म पानी, माटो र गेग्रान थुप्रिएको संकेत गर्छ।
यो तुलना युरोपियन स्पेस एजेन्सी (इएसए) ले 'कोपरनिकस सेन्टिनल–२' स्याटलाइटले खिचेका तस्बिरका आधारमा गरेको हो।
यहाँ बाढीले कति धेरै माटो थुपारेको छ भन्ने शनिबारको घटनाले प्रमाणित गर्छ।
शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले माटोमुनि पुरिएको चारतले घरबाट एक जना महिलालाई जीवित उद्धार गरेको थियो। उक्त घरको माथिल्लो केही अंश मात्र बाहिर देखिएको थियो।
यसले बेत्रावतीमा कम्तिमा १२ मिटरभन्दा अग्लो लेदो माटोयुक्त गेग्रान थुप्रिएको पुष्टि हुन्छ।
इएसएले बेत्रावती–गेर्खु क्षेत्रमा बाढीपछि नदीको धार उल्लेख्य रूपमा चौडा भएको र पहेँलो–खैरो रङको लेदो माटोयुक्त सामग्री ठूलो परिमाणमा नदीको पुरानो किनारभन्दा बाहिरसम्म फैलिएको पनि देखाएको छ।
यसले बाढी तलतिर जाँदा पानी र वरिपरिको फाँट काटेर लगेको संकेत गर्छ।
बेत्रावतीमा अब नदीको काम स्याफ्रुबेसीमा जस्तो पिँध काट्ने मात्र रहेन।
यसले नदीको किनार काटेर चौडाइ फराकिलो पारेको छ।
दुवै किनारको मैदानमाथि पानी फैलिएको छ।
र, माथिबाट बगाएर ल्याएका सामग्री पनि ठूलो परिमाणमा थुपारेको छ।
यहाँसम्म आइपुग्दा नदी किनारका पहाडी खोँच र पिँधसमेत काटेर हिँडेको बाढीले किनारको मानव बसोबास तहसनहस नपार्ने कुरै भएन।
यसैबीच ४२ किलोमिटर लामो रसुवागढी–बेत्रावती सडकको ठूलो भाग, जलविद्युत आयोजनाहरू र दर्जनौं पुलसमेत क्षतिग्रस्त भएका छन्।
प्राकृतिक ढुंगा–माटो सँगसँगै मानवीय सभ्यता पनि बाढीको सिकार बनेको छ।
घरहरू बगेका छन्।
काठ बगेका छन्।
टिन बगेका छन्।
फलाम बगेका छन्।
कंक्रिट बगेका छन्।
सडक बगेका छन्।
सवारीका टुक्रा बगेका छन्।
मानिसका घरभित्रका सामान पनि बगेका छन्।
यसले बाढीको भार झन् झन् बढ्दै गएको छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले सेप्टेम्बर १ मा गरेको प्रारम्भिक अनुमान अनुसार प्रभावित क्षेत्रमा करिब २२ लाख टन बराबर सामग्री नदीमा मिसिएको अनुमान गरेको छ।
यो भनेको १० टन क्षमताको ट्रकमा लोड गर्दा २ लाख २० हजार ट्रक बराबरको थुप्रो हो।
यसमा ढुंगा–माटो मात्र छैन। घर, घरभित्रका सरसामग्री, ठुल्ठूला भौतिक संरचनाका अवशेष समेत समावेश छन्।
भौतिक संरचनाका अवशेष मात्र ५ लाख ५६ हजार २०० टन अनुमान गरिएको छ।
दृश्य ९ : त्रिशूली बजार — नदीले किनार काटेर बस्तीमा पस्दा
माथि स्याफ्रुबेसीसम्म आइपुग्दा नदीले पहाडी भू–भाग काटेको थियो। पिँध खोतलेको थियो।
बेत्रावतीमा आइपुगेपछि नदी चौडा भयो।
त्यही नदी त्रिशूली बजार आइपुगेपछि अपार शक्तिका साथ घना मानव बस्तीमाथि बज्रियो।
त्रिशूली बजारमा भदौ १० गतेको बिहान सामान्य दिनजस्तै थियो। केही समयमै नदीले आफ्नो आकार बदल्यो।
प्रारम्भिक रिपोर्ट अनुसार त्रिशूली बजार आसपास करिब ६० घर बाढीले बगाएको छ। दुईवटा पुल पनि बगेका छन्। त्रिशूली र देवीघाट जलविद्युत आयोजनामा क्षति पुगेको छ।
त्रिशूली बजारको एउटा महत्त्वपूर्ण कुरा के भने — यहाँ नदी किनारभन्दा अग्लो भागमा सडक र त्यसका दायाँबायाँ अग्ला अग्ला घरहरू थिए। नदीले भीमकाय रूप लिँदा त्यति उचाइमा बनेका अग्ला घरको झन्डै झन्डै छतसम्म पुगेको देखिन्छ।
बाढीपछि त्रिशूली बजारको दृश्य हेर्दा किनारमा निकै बाक्लो लेदो माटो थुप्रिएको देखिन्छ।
यहाँ नदीको पुरानो सतहभन्दा करिब ३०० मिटर माथि पर्ने बस्तीसम्म नदी पसेको छ। माथिल्लो बस्तीका धेरै भाग बगरमा परिणत भएका छन्।
त्रिशूली बजारमा नदीले कति परिमाणको सामग्री थुपार्यो भनेर अहिले यकिन संख्या भन्न सकिँदैन। तर स्याटलाइट र स्थलगत रूपमा खिचिएका तस्बिरले स्पष्ट देखाउँछन् —
नदीको पुरानो रूप बदलिएको छ। त्यसले थुपारेका सामग्रीले पहिले किनारको मात्र होइन, त्यो किनारभन्दा धेरै उचाइमा रहेको बस्ती पनि ढाकेको छ।
-1788702964.jpg)

दृश्य १० : त्रिशूलीपछि ठूला ढुंगा छुट्दै गए
त्रिशूली बजारबाट तल बग्दै जाँदा नदीको स्वरूप बिस्तारै फेरिँदै जान्छ।
माथिल्लो पहाडी भागमा बाढीले ठूला ढुंगा समेत सार्न सकेको थियो। तल जाँदा ठूला ढुंगा धेरै ठाउँमा छुट्दै गएका छन्।
सानो बालुवा, धुलो, सिल्ट र माटो भने पानीसँगै लामो दुरीसम्म बगिरहेको छ।
यसलाई सरल भाषामा यसरी बुझ्न सकिन्छ —
ठूलो ढुंगा भारी हुन्छ, त्यसैले नदीको गति घटेपछि बाटोमा रोकिन्छ।
सानो माटो हलुका हुन्छ, त्यसैले पानीसँगै अझ टाढा जान सक्छ।
त्यसैले नुवाकोटको देवीघाटमा आइपुग्दा रसुवागढीमा जस्तो २०–३० मिटर ठूला ढुंगा बगाएर ल्याएको देखिएको छैन।
बरू देवीघाटको ठूलो क्षेत्र हिलो, गेग्रान र ढुंगाले पुरेको छ। केही ठाउँमा घरको दोस्रो तलासम्मै लेदो पुगेको तस्बिरमा देखिन्छ।
देवीघाटभन्दा करिब एक किलोमिटर तल पनि बाढीले ठूलो क्षेत्रको जमिन र नदीको पिँध काटेको छ। कोपरनिकस स्याटलाइटको अध्ययनले करिब २४ वर्गकिलोमिटर क्षेत्रमा ४२२ हेक्टरभन्दा बढी जमिन बाढीले काटेको देखाएको छ।
यहाँबाट अझै तल गल्छीसम्म पुग्दा पनि बाढीको बहाव थामिएको छैन।
इसिमोडले गल्छी र तलका खण्डमा पानीको तह अत्यन्त छिटो बढेको जनाएको छ।
हिमालभन्दा यति तल आइपुग्दा पनि नदीमा बाढीको प्रवाह अझै ठूलो छ। त्यो सँगै लेदो माटो पनि भरिएको छ।
तर यहाँ एउटा महत्वपूर्ण वैज्ञानिक सीमा छ।
गल्छीमा आइपुग्दा नदीले कति टन ढुंगा–माटो लगायतका सामग्री ओसारेको थियो भन्ने प्रत्यक्ष मापन सार्वजनिक भएको छैन।
पानीको बहाव मापन भएको छ, तर त्यसले थुपारेका ढुंगा–माटोको परिमाण मापन गरिएको छैन।
कोपरनिकस र अन्य स्याटलाइट तस्बिर विश्लेषणले गल्छी क्षेत्रमा पानीको तह करिब ३० मिनेटमा ९ मिटरसम्म बढेको देखाएका छन्।
स्थलगत तस्बिरहरू हेर्दा यहाँ पनि नदीको तीव्र बहावले दायाँबायाँ लेदो माटो पसारेको देखिन्छ। लेदो माटोको तह पृथ्वी राजमार्गसम्मै पुगेको छ।
सडक विभागले गल्छी–बैरेनी, जरीखेत, पोखरे, बाङ्गे, गलौंदी लगायत खण्डमा २–३ मिटरसम्म बाक्लो लेदो थुप्रिएको जनाएको छ। यो विवरण खासगरी सडकमा थुप्रिएको लेदो माटोको परिमाण हो। गल्छी क्षेत्रभरि जम्मा भएको सामग्री होइन।
महेशदोभानमा पनि सडक र बस्तीमा बाढीले ठूलो मात्रामा माटो र अन्य सामग्री थुपारेको र त्यसलाई हटाएर अन्यत्र लैजानुपर्ने अवस्था रहेको रिपोर्ट छ।
-1788702965.jpg)
दृश्य ११ : मलेखुदेखि मुग्लिन
बिहान ८ बजेर ३७ मिनेटमा उत्पन्न भएको बाढी मलेखु आइपुग्दा ११ बजेर २६ मिनेट गएको छ।
त्यति बेला मलेखुको फुर्के जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरी बढ्दो क्रममा छ।
११ बजेर ४३ मिनेट जाँदासम्म बाढीले फुर्के जलमापन केन्द्र र पुल समेत बगाउँछ।
मलेखु–गलौदी क्षेत्रमा बाढीले पृथ्वी राजमार्गको करिब ५०० मिटर खण्डमा लेदो थुपारेको छ। केही ठाउँमा यसको तह दुई मिटरसम्म पुगेको छ।
सडकको चौडाइ र औसत तहलाई आधार मान्दा सडकमा मात्र थुप्रिएको लेदोको परिमाण करिब १० हजार घनमिटर हाराहारी हुनसक्ने देखिन्छ।
यो मलेखु क्षेत्रभरि थुप्रिएका माटो र अन्य सामग्रीको कुल परिमाण भने होइन।
यहाँबाट बगेको बाढीले दिउँसो करिब १ बजेसम्म मुग्लिन पार गरेको छ।
मुग्लिनमा त्रिशूली नदी पश्चिमबाट आउने मर्स्याङ्दी नदीसँग मिसिन्छ। त्यसपछि पानीको मात्रा झन् ठूलो हुन्छ।
बाढीले बगाएर ल्याएका ढुंगा–माटो त्यसपछि कहीं थुप्रिएका छन्, कहीँ बगेका छन्।
माथिका विशाल चट्टानहरू पनि बाटैमा छुटिसकेका छन्।
यसबीच के–कति सामग्री थुपारिए भन्ने विवरण सार्वजनिक भएको छैन।
हामीलाई थाहा छ — बाढी आयो। नदीको बहाव बढ्यो। बस्तीहरूमा ढुंगा र लेदो माटो थुप्रिए।
तर नदीको तल्लो खण्डमा आइपुग्दासम्म किनारको भाग कति काटियो र कति थुप्रियो भन्ने हामीलाई थाहा छैन।
यसको हिसाब निकाल्न अझै बाँकी छ।
तर मुग्लिनमा बाढीको अर्को रूप पनि देखियो — नदी कटान।
त्रिशूली नदीले सडकको फेद काटेपछि ७० मिटर सडक नदीमा खस्यो। नजिकै थप करिब १२० मिटर सडकमा गम्भीर चिरा परेको छ।
प्रारम्भिक प्राविधिक अध्ययनले शक्तिशाली बाढी र नदीको कटानलाई प्रमुख कारण मानेको छ।
दृश्य १२ : देवघाट
लाङटाङ हिमालमा बिहान ८:३७ बजे उत्पन्न भएको बाढी अपराह्न ४ बजेसम्म चितवनको देवघाट पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यहाँसम्म आइपुग्दा नदीले आफ्नो सामान्य आकार छाडिसकेको छ।
नदीमा पानीको सतह ६.५७ मिटर पुगेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यस दिन देवघाटबाट पार भएको कुल पानीको अनुमानित आयतन करिब ५ करोड ७४ लाख घनमिटर थियो।
यो भनेको सामान्य बहावभन्दा करिब १ करोड ९९ लाख घनमिटर बढी हो।
यही देवघाटमा त्रिशूली र कालीगण्डकीको संगम हुन्छ। त्यसपछि नदी नारायणीका नामले दक्षिणतिर बग्छ र भारत पुगेपछि 'गण्डक' भनिन थाल्छ।
अगस्ट ३१ का तस्बिरहरूमा देवघाटका केही भाग ढुंगा, माटो लगायत नदीले बगाएर ल्याएका सामग्रीको बाक्लो तहले भरिएको देखिएको छ। कतिपय ठाउँमा घरका छाना नै मान्छे हिँड्ने भुइँजस्तो देखिने उल्लेख छ।
देवघाटमा थुप्रिएको माटोको कुल परिमाण पनि अहिले सार्वजनिक रूपमा मापन गरिएको छैन।
त्यसैले हामी 'देवघाटमा लेदो माटो र अन्य सामग्रीको बाक्लो तह थुप्रियो' भनेर भन्न सक्छौं।
तर 'देवघाटमा ठिक यति लाख टन बराबरका सामग्री थुप्रिए' भनेर यकिन गर्न सक्दैनौं।
-1788702968.jpg)
अन्तिम दृश्य : देवघाटमा भेटिएको हिमाल र त्रिशूली सभ्यताको अवशेष
देवघाटमा उभिएर उत्तरतिर हेर्दा लाङटाङ देखिँदैन।
तर त्यो दिनको नदीमा लाङटाङको अंश थियो।
हिउँको अंश थियो।
चट्टानको अंश थियो।
रसुवागढीको नदी पिँधबाट सोहोरिएको गिटी थियो।
स्याफ्रुबेंसीमा थुप्रिएका ढुंगा–माटोको अंश थियो।
बेत्रावतीमा काटिएको किनारको माटो थियो।
त्रिशूली बजारबाट बगेको संरचनाको अवशेष थियो।
बाटोभरि नदीले काटेको, बोकेको र फेरि थुपारेको भू–दृश्यको इतिहास थियो।
र, नदीले बगाएको त्रिशूली सभ्यताका अवशेषहरू मानव शवका रूपमा नदी किनार तैरिरहेका थिए।
***