कुरा २०८३, भदौ १० गते बिहान करिब नौ बजेतिरको हो। आज त्यो दिन सम्झिँदा लाग्छ,केही दिनहरू समयसँगै बितेर जाँदा रहेनछन्, बरु मान्छेको स्मृतिभित्र कतै अड्किएर बस्दा रहेछन्। भदौ १० पनि मेरो जीवनमा त्यस्तै एउटा दिन बनेर बसेको छ।
रसुवाको गोसाईंकुण्ड जाने बाटोमा तीर्थयात्रीहरूको भीड थियो। कसैको मनमा भगवान् थिए, कसैको हातमा पूजा सामग्री। सुरक्षाकर्मीहरू यात्रुहरूको सुरक्षामा खटिएका थिए। स्वास्थ्य शिविरमा स्वास्थ्यकर्मीहरू बिरामीको सास जोगाउन तयार थिए। त्यही स्वास्थ्य शिविरको टोलीमा आफ्नै मान्छे पनि थिइन्, उनी।
अरूका लागि त्यो गोसाईंकुण्ड जाने दिन थियो, मेरा लागि भने आफ्नो मान्छे पहाडतिर पठाएर उसको खबर कुर्ने दिन।
त्यसैबिच तिब्बततिरबाट आएको बाढी भोटेकोशी हुँदै नेपालतर्फ उर्लिएको खबर आयो। केही क्षण अघिसम्म सामान्य देखिएको भूगोल एकाएक त्रासको दृश्यमा बदलियो। अब के हुन्छ? कहाँसम्म आउँछ? को सुरक्षित छ? कसलाई के भयो?यी प्रश्नहरूको उत्तर कसैसँग थिएन।
अनि एक्कासि भोटेकोशी उर्लियो।
त्यसपछि मेरो मोबाइल मोबाइल रहेन, धड्किरहेको मुटु बन्यो।
फोन गरेँ।
‘सम्पर्क हुन सकेन।’
फेरि गरेँ।
उही आवाज।
फेरि गरेँ।
उही मौनता।
हरेक पटक फोन नलाग्दा मनले एउटा भयानक सम्भावना बनाउँथ्यो।कतै उनी पनि त्यही भेलमा हराइन् कि?
तर आशा मार्नु हुँदैनथ्यो। मैले आफ्नै मनलाई सम्झाइरहेँ। ‘केही भएको छैन। उनी सुरक्षित छिन्। कुनै सुरक्षित ठाउँमा छिन्। सम्पर्क हुन नसकेको मात्र हो।’
सायद त्यो दिन मैले पहिलो पटक बुझेँ; आशा कहिलेकाहीँ प्रमाण होइन, बाँचिरहन मनले आफैँलाई दिएको एउटा बहाना हुँदो रहेछ।
यता देश रोइरहेको थियो। कतै भवनहरू क्षतिग्रस्त हुँदै थिए, कतै बैंक तथा अन्य संरचना बाढीको चपेटामा थिए, कतै सडक र पुलहरू बगिरहेका थिए। मानिसहरू सम्पर्कविहीन भइरहेका थिए। सामाजिक सञ्जालमा बाढीका डरलाग्दा दृश्यहरू एकपछि अर्को आइरहेका थिए।
तर ती सबै समाचारभन्दा ठुलो एउटा समाचार मेरो लागि थियो, ‘उनी सम्पर्कमा छैनन्।’
मैले जिल्लाका प्रहरी प्रमुखहरूलाई फोन गरेँ। डिएसपीहरूलाई फोन गरेँ। सिडिओहरूलाई फोन गरेँ। जहाँबाट एउटा सानो सूचना आउन सक्थ्यो, त्यहाँसम्म पुग्ने प्रयास गरेँ।
त्यो दौडमा म एक्लो थिइनँ।
मेरो डरलाई आफ्नै डरजस्तो ठानेर साथ दिने साथी पनि थियो- रोजिप।
ऊ त्यो दिन केवल साथी थिएन। म एउटा नम्बरमा फोन गर्दै गर्दा ऊ अर्को ठाउँमा जानकारी खोजिरहेको हुन्थ्यो। म निराश हुँदा ऊ फेरि आशाको सानो ढोका देखाइरहन्थ्यो। मेरो आवाज थाक्दा उसको आवाजमा हिम्मत हुन्थ्यो। संकटमा मानिसको असली नाता चिनिँदो रहेछ। त्यो दिन रोजिप मेरो साथमा मात्र थिएन, मेरो डरको आधा हिस्सा उसले आफैँ बोकेको थियो।
बिहानदेखि मैले केही खाएको थिइनँ। भोक कहाँबाट लागोस्?
एकातिर देश बाढीमा डुबिरहेको थियो, अर्कोतिर मेरो आफ्नै संसार सम्पर्कविहीन थियो। घडीका सुईहरू पनि त्यस दिन निर्दयी लागिरहेका थिए।
अनि करिब चार बजेतिर- फोन आयो।
उनी जीवित थिइन्।
‘हामी सुरक्षित छौँ।’
त्यो एउटा वाक्यले शरीरभरि दौडिरहेको डरलाई केही क्षणका लागि रोकिदियो। म कति खुसी भएँ, त्यसको हिसाब शब्दसँग छैन। सायद त्यो दिन मैले बुझेँ ‘म सुरक्षित छु’ भन्ने छ (६) शब्द संसारकै सबैभन्दा ठुलो उपहार हुँदो रहेछ।
तर कथा त्यहाँ सकिएको थिएन।
उनीहरू सुरक्षित स्थानमा पुगेका थिए, तर उद्धारका लागि हेलिकप्टर त्यहाँ पुग्न सकेन। रात त्यहीँ बिताउनुपर्ने भयो।
र मैले?
मैले त्यो रात निद्रा पाइनँ।
दिनभरको थकान, भोक, तनाव र पीडामाथि सामाजिक सञ्जालका भिडियोहरूले अर्को चोट थपिरहेका थिए। एउटा भिडियोमा बाढी, अर्कोमा भत्किएको संरचना, कतै आफन्त खोज्दै गरेको परिवार, कतै सम्पर्कविहीन मानिसहरूको खबर।
त्यो रात मैले बुझेँ, विपत्ति नदीको किनारमा मात्र आउँदैन रहेछ। कहिलेकाहीँ त्यो मान्छेको मनभित्र पनि बाढी बनेर पस्दो रहेछ।
त्यो अँध्यारो दिनमा भने केही उज्याला मानिसहरू पनि थिए। आफ्नो ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका सुरक्षाकर्मी, अरूको सास जोगाउन चिसो पहाडमा खटिएका स्वास्थ्यकर्मी, सूचना र समन्वयमा जुटेका प्रशासनका कर्मचारी अनि मेरो दुःखलाई आफ्नै दुःख ठानेर साथ दिने साथी।
यस्तो बेला राज्यको अनुहार पनि देखिन्छ।
आज देशको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहको हातमा छ। गृह प्रशासनको जिम्मेवारी सुदन गुरुङले सम्हालिरहेका छन्। विपत्तिको समयमा नागरिकले नेतृत्वबाट सबैभन्दा पहिले खोज्ने कुरा भाषण होइन। उपस्थिति, शीघ्र उद्धार, सही सूचना र पीडितको घरसम्म पुग्ने राहत हो। बाढीले कसैको घर बगाउँदा राज्यको हात उसको काँधमा पुग्नुपर्छ। कसैको मान्छे हराउँदा उसको खोजीमा राज्य पनि उसको परिवारसँगै उभिनुपर्छ।
किनकि राहत घोषणा हुनु र राहत पीडितको हातमा पुग्नु एउटै कुरा होइन।
प्राकृतिक विपत्तिले हामीलाई हरेक पटक एउटा नयाँ प्रश्न सोध्छ, हामीले विकास कति गर्यौँ भन्ने होइन, त्यो विकासको बिचमा मान्छे कति जोगायौँ? भोटेकोशीले त्यो दिन सडक, पुल, संरचना र सम्पत्ति मात्र बगाएन।
उसले धेरै परिवारको निद्रा बगायो।
धेरै आमाको प्रतीक्षा बगायो।
धेरै आँखाको आशा बगायो।
र मलाई एउटा कुरा सिकाएर गयो, हामी भगवान् खोज्दै तीर्थ जान्छौँ तर कहिलेकाहीँ भगवान् बनेर अरूको सास जोगाइरहेका मानिसहरूलाई देख्न बिर्सन्छौँ।
त्यसैले आज पनि मेरो एउटै प्रार्थना छ। सम्पर्कविहीन सबै मानिसहरू सकुशल सम्पर्कमा आउन्। पीडितका घरसम्म राहत पुगोस्। उद्धारमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सुरक्षित रहून्। र विपत्तिमा हराएको कुनै परिवारको आशा फेरि नहराओस्।
भोटेकोशीले धेरै कुरा बगायो। तर त्यो दिन चार बजेको एउटा फोनले मेरो आशा फर्काएर ल्यायो।
सायद त्यसैले आज पनि भदौ १० सम्झिँदा मनले एउटा कुरा मात्र भन्छ, कहिलेकाहीँ जीवन र मृत्युको बिचमा केवल एउटा फोनको घण्टी हुन्छ। र, त्यो घण्टी नबज्दासम्म आशा मर्न दिनु हुँदैन।